२०८३ आश्विन २ गते शुक्रवार
१. विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको छः सांसद विष्ट
नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति आपत्ति प्रकट गर्नुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकार सुशासनको नारा दिएर फासीवादतर्फ उन्मुख भएको र संविधानमाथि नै खतरा पैदा गरेको आरोप लगाउनुभएको हो । बैठकको शुरुमा धान दिवसको शुभकामना दिँदै सांसद विष्टले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको एक मार्मिक गीतको प्रसङ्ग उल्लेख गर्नुभयो । उक्त गीतले सहकारी ठगी, गरिबको रगत र वैदेशिक ऋणको चपेटामा परेको मुलुकको यथार्थ चित्रण गरेको भन्दै उहाँले सरकारको पृष्ठभूमि नै विवादास्पद रहेको बताउनु भयो ।
२. विनियोजन विधेयक २०८३ः बजेटको प्राथमिकता र कार्यान्वयनमा सांसदहरूको प्रश्न
राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रश्तुत ‘विनियोजन विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । सोमवार बसेको सभाको बैठकमा अर्थमन्त्रीले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम उक्त विधेयक प्रश्तुत गरेसँगै दफावार छलफल अघि बढेको हो । विधेयक प्रश्तुत गर्दै अर्थमन्त्रीले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन गर्न विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि सभामा सैद्धान्तिक पक्षमा केन्द्रित रहेर छलफल भएको हो । छलफलमा सहभागी हुँदै सांसद पदमबहादुर परियारले अन्तरसरकारी वित्त हस्तान्तरणको व्यवस्थाप्रति ध्यानाकर्षण गराउनु भयो । उहाँले स्थानीय र प्रदेश तहलाई राजश्व सङ्कलनका आधारमा मात्रै वित्त हस्तान्तरण गर्ने प्रावधानले तल्लो तहका सरकारलाई बजेट कार्यान्वयन र कार्यक्रम अनुमानमा असहजता पैदा गर्ने तर्क गर्नुभयो ।
३. विकल्पविना सुकुम्बासीको उठीबास नगर्न र किसानका समस्या समाधान गर्न सांसद गुरुङको माग
नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विकल्पविना भूमिहीन र सुकुम्बासीको उठीबास नगर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सांसद गुरुङले विकासका नाममा मानवीय संवेदनालाई बेवास्ता गर्दै नागरिकलाई सडकमा पु¥याउने कार्य लोकतान्त्रिक राज्यका लागि शोभनीय नभएको बताउनु भयो । सांसद गुरुङले देशका विभिन्न स्थानमा बल प्रयोग गरी घर भत्काउने र उठीबास गराउने घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, ज्येष्ठ नागरिक र बालबालिकाको उठीबास गराउँदा उनीहरूको जीवन कष्टकर बनेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । घर भत्काइँदा बालबालिकाको शिक्षा प्रभावित भएको, बिरामीले औषधि र उपचार गुमाएको तथा ज्येष्ठ नागरिकहरू असुरक्षित बनेको भन्दै उहाँले यस्ता गम्भीर र संवेदनशील विषयमा राज्य मूकदर्शक बन्न नहुने उल्लेख गर्नुभयो । सांसद गुरुङले वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान गरी शीघ्र जग्गा व्यवस्थापन गर्न र बल प्रयोगको सट्टा संवाद र सहमतिबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
४. मुलुकको दीर्घकालीन हित र अर्थतन्त्रको औपचारिकीकरणका लागि शाहसिक सुधारको जग बसालिएको छः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्वन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताउनुभएको हो । ऊर्जा क्षेत्रमा विगत डेढ दशकदेखि राज्यले अर्बौँ रुपैयाँ कर छुट र वित्तीय प्रोत्साहन दिँदै आएको उल्लेख गर्दै अर्थमन्त्रीले हाल विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार पञ्चायत कालको अन्त्यमा २६२ मेगावाट रहेको जडित क्षमता यस आर्थिक वर्षको अन्त्यसम्म ५ हजार २ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । विद्युत क्षेत्रलाई करको दायरामा ल्याउन ५ प्रतिशत भ्याट प्रश्ताव गरिएको भएपनि ५० युनिटसम्म निःशुल्क उपलब्ध गराइने र मूल्य समायोजनमार्फत आम उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी साउन १ गतेदेखि कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।
५. पेट्रोलियमको मूल्य समायोजन र सुकुम्बासी व्यवस्थापनमा सांसद देवकोटाको जोड
नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको बैठकमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा सोही अनुपातमा मूल्य समायोजन नभएको भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद देवकोटाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० अमेरिकी डलरबाट घटेर करिब ७० डलरमा झरिसक्दा पनि नेपालमा उपभोक्ताले महँगो शुल्क तिर्नु परिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘छिमेकी राष्ट्रहरूमा तेलको मूल्य घटिरहँदा नेपालमा भने सरकारले पुरानै मूल्य कायम राखेको छ। स्वचालित मूल्य प्रणाली लागू गरी जनतालाई राहत दिन र दैलेखको पेट्रोलियम उत्खनन कार्यलाई तीव्रता दिन म सरकारसँग माग गर्दछु ।’
६. नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकताः सभामुख
सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकता भएको बताउनुभएको छ । सोमवार महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताउनुभएको हो । उहाँले सार्वजिक वित्त व्यवस्थापनको स्वरुप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समयानुकुल परिमार्जित हुँदै जानु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले वर्षेनी करिव ६ हजार निकाय तथा कार्यालयहरुको लेखा परीक्षण निर्धारित समयमा हुने गरेको बताउनु भयो । देशभरका हजारौँ सार्वजनिक निकायको सिमित श्रोत, साधनका बीच समयमै लेखा परीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतिपूर्ण कार्य भएको उहाँको भनाइ छ । सभामुख अर्यालले बेरुजु कुनैपनि संस्थाका लागि गौरवको विषय नभएको बताउनु भयो । महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन २०८१–०८२ मा ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको देखिएको बताउनु भयो ।
७. देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो
देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । कृषिप्रधान मुलुक नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन शुरु गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाइँ र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरिएका छन् । नेपाली समाजमा असार १५ लाई ‘दही–चिउरा’ खाने पर्वका रूपमा समेत लिइन्छ । मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही–चिउरा खाने मौलिक परम्परा रहि आएको छ । असार महिनालाई नेपाली कृषकहरूले वर्षभरिका लागि खाद्यान्न जोहो गर्ने मुख्य समयका रूपमा लिने गर्दछन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान उल्लेखनीय रहेको छ ।
८. अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रश्तुत
राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रश्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष पेश गर्नुभएको हो । आर्थिक वर्ष २०८३÷८४ को सेवा तथा कार्यहरूका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकाले उक्त विधेयक प्रश्तुत गरिएको अर्थमन्त्रीले सभालाई जानकारी दिनुभयो । यस विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न सरकारी निकायहरूले गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीले यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा संघीय संसद्मा प्रश्तुत गरिएको स्पष्ट पार्नुभयो ।
९.‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (फोटो फिचर)
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ ...
लोकभाकाका यि हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैं सजिएका छन् । आकाशबाट झरेको झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन् । जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, यो त एउटा भव्य सांस्कृतिक उत्सव जस्तो देखिन्थ्यो । परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपारहरूको टोलीले जब खेतका गरामा धानका बिरुवा गाँज्न थाले, तब वातावरण नै संगीतमय बन्यो । रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोली नै खेतको डिलमा उपस्थित थियो । सनाई र दमाहाको तालमा रोपारहरूले धानका बेर्ना रोप्दै गर्दा बाटो हिँड्ने बटुवाहरू समेत लोभिएका देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृतिको जीवन्त तस्बिर झल्काउँथ्यो ।
१०. इजिप्ट विश्वकपको नकआउट चरणमाः समर्थकद्वारा ऐतिहासिक सफलताको भव्य उत्सव
सन् २०२६ को फिफा विश्वकपमा इजिप्टको राष्ट्रिय टोली पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेपछि देशभर उत्सव मनाइएको छ । इजिप्टका क्याफे, घर र अपार्टमेन्टका बार्दलीहरूमा समर्थकहरूको उत्साहजनक नाराबाजी र खुशीयाली सुनिएको थियो । समूह ‘जी’ को आफ्नो अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै ‘द फ्यारोज’ उपनामले चिनिने इजिप्टको टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो बराबरीसँगै इजिप्टले तीन खेलबाट ५ अंक जोड्दै समूहको दोस्रो स्थान सुरक्षित ग¥यो । सोही समूहको अर्को खेलमा न्युजिल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको बेल्जियम समूह विजेताको रूपमा अर्को चरणमा पुगेको छ । विश्वकपको इतिहासमा इजिप्टको यो चौथो सहभागिता हो । यसअघि सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको इजिप्ट पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो ।
११. इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
इराकी विदेशमन्त्री फुवाद हुसेन र उहाँका इरानी समकक्षी सैयद अब्बास अराघचीबीच आईतवार बगदादमा भेटवार्ता भएको छ । सो अवसरमा दुई नेताहरूबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका विविध आयामबारे विस्तृत छलफल भएको छ । इराकी परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, विदेशमन्त्री हुसेनले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा निरन्तर समन्वय र परामर्शको आवश्यकतामा जोड दिनुभएको छ । मन्त्री हुसेनले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्न बगदादले आफ्ना कूटनीतिक प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भेटका क्रममा इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको एक घनिष्ठ मित्र, छिमेकी र रणनीतिक साझेदारको रूपमा चित्रण गर्नुभयो । उहाँले विभिन्न क्षेत्रमा इराकलाई इरानको पूर्ण समर्थन रहने कुरा दोहो¥याउनुभएको छ ।
१२. चीनको गुइझोउमा अग्नि नियन्त्रक गोताखोरद्वारा जटिल जल उद्धारको विशेष अभ्यास
चीनको गुइझोउ प्रान्तमा अग्नि नियन्त्रक गोताखोरहरूले चुनौतीपूर्ण परिस्थितिमा गरिने उद्धार कार्यका लागि विशेष अभ्यास सम्पन्न गरेका छन् । नदीका घाटदेखि बाढीग्रस्त खानीहरूसम्मका विभिन्न क्षेत्रलाई समेटेर उक्त तालिम सञ्चालन गरिएको हो । तालिमका क्रममा गोताखोरहरूले खुला पानीको वास्तविक परिस्थितिमा पानीमुनिबाट सुरक्षित रूपमा बाहिर निस्कने र डुबेका सवारी साधनहरूको खोजी तथा उत्खनन गर्ने सीपको अभ्यास गरिरहेका छन् । कठिन भौगोलिक र जलमग्न अवस्थामा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई मध्यनजर गर्दै टोलीको दक्षता वृद्धिका लागि यो विशेष अभ्यास आयोजना गरिएको हो ।
१३. चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते, कुनै मानवीय क्षति नभएको पुष्टि
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको यिबिन सहरस्थित गाओक्सियान काउन्टीमा सोमवार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय अधिकारीहरूका अनुसार उक्त भूकम्पमा परी हालसम्म कुनै मानवीय क्षति भएको छैन, यद्यपि १३ जना सामान्य घाइते भएका छन् । यिबिन भूकम्प राहत कमान्ड मुख्यालयले सोमवार बिहान ३ः३० बजे दिएको जानकारीअनुसार घाइतेहरूलाई उपचारका लागि तत्काल अस्पताल पठाइएको छ। भूकम्पका कारण जोखिममा रहेका अन्य १९६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । हाल प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेको मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार भूकम्प सोमवार मध्यरात १२ः१२ बजे (बेइजिङ समय) गएको थियो ।
१४. म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तिर्ण
म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेसन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजारभन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् । म्यानमार परीक्षा विभागले आईतवार सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ३३ हजार ६ सय ७३ परीक्षार्थी सफल भएका हुन् । विभागकाअनुसार यस वर्षको परीक्षामा कुल २ लाख ५५ हजार २ सय २८ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये समग्र उत्तीर्ण प्रतिशत ५२.३७ रहेको छ । क्षेत्रगत नतिजाअनुसार म्याण्डेले प्रदेशले सर्वाधिक सफलता प्राप्त गरेको छ । म्याण्डेलेबाट परीक्षामा सहभागी ४५ हजार ६ सय ३५ विद्यार्थीमध्ये २८ हजार ३ सय ९३ जना उत्तिर्ण भएका छन्, जुन ६२.२२ प्रतिशत हो । विभागले यस वर्षको परीक्षामा देशभरमै उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि म्यान्डेले प्रदेशकै रहेको जानकारी दिएको छ ।
१५. युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन् । जलवायु परिवर्तनका कारण युरोपेली महाद्वीपमा चरम गर्मीको नयाँ युग शुरु भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । तापक्रममा भएको यो वृद्धिका कारण स्वास्थ्य, यातायात र अग्नि नियन्त्रण सेवाहरूमा ठूलो चाप परेको छ भने सम्बन्धित निकायहरूले स्वास्थ्य शतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेका छन् । फ्रान्समा गर्मीले दशकौँ यताको रेकर्ड तोडेको छ । गत जुन २४ मा फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ । अत्यधिक गर्मीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । विशेष गरी सडकमा बसोबास गर्ने असहाय व्यक्तिहरूमा यसको गम्भीर असर देखिएको सामाजिक सेवा अधिकारीहरूले बताएका छन् ।
१६. रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव
रुसको सेन्ट पिटर्सबर्ग सहरमा माध्यमिक विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीको सम्मानमा वार्षिक ‘स्कार्लेट सेल्स’ महोत्सव भव्यताका साथ आयोजना गरिएको छ । आईतवार चलेको यस विशेष समारोहमा हजारौँको संख्यामा स्नातक विद्यार्थीको सहभागिता रहेको थियो । नेभा नदीको किनारमा आयोजित यस महोत्सवमा सांगीतिक प्रश्तुति, आकर्षक आतिशबाजी र प्रसिद्ध रातो पाल भएको जहाजको परेड प्रदर्शन गरिएको थियो । आयोजककाअनुसार यस वर्ष रुसभरका करिव ६६ हजार स्नातक विद्यार्थी र विभिन्न देशका ४ सय भन्दा बढी आमन्त्रित विद्यार्थीले यस कार्यक्रममा भाग लिएका थिए । उत्सवको शुरुवात प्यालेस स्क्वायरमा आयोजित एक कन्सर्टबाट भएको थियो । जहाँ रुसका प्रख्यात गायक तथा सांगीतिक समूहहरूले आफ्नो प्रश्तुति दिएका थिए ।
१७. स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ । हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिव ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । यसका साथै उत्तर–पश्चिमी क्षेत्र एल बिएर्जो र जारागोजा प्रान्तका विभिन्न स्थानहरूमा पनि डढेलो सक्रिय रहेको छ । कतिपय स्थानमा चट्याङका कारण डढेलो शुरु भएको पुष्टि भएको छ । डढेलोको जोखिम बढेपछि हुस्काबाट करिव २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यस्तै, बार्सिलोना नजिकैको टियाना, सान्त फोस्ट डे क्याम्पसेन्टेलेस, मार्टोरेलेस र सान्ता मारिया डे मार्टोरेलेस क्षेत्रमा डढेलो र धुवाँका कारण करिव १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ ।
१८. किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ ः सभापति चौधरी
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गनै सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । किसानलाई गुणस्तरीय बीउ, मल, सिंचाई, कृषि बीमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । नेपालमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक रहेपनि करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने बताउनुभयो । उहाँले किसानले आफ्नो उत्पादनको उचित मुल्य नपाएको बताउनु भयो । सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६५ रुपैयाँ तोके पनि किसानले सो मूल्य नपाएको उहाँको भनाई छ । उहाँले निजी क्षेत्र, मिल उद्योग तथा औद्योगिक क्षेत्रलाई किसानको उत्पादन समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था गर्न सरकारसंग आग्रह गर्नुभयो ।
१९. धानखेतको संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकताः सचिव मिश्र
कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले धानखेत जोगाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उहाँले धान खेत मासिँदै गएकोले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो । प्रविधि जतिसुकै विकास भएपनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने भन्दै उहाँले धानखेत संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । धानखेत मासिनु सबैको साझा चिन्ताको विषय हुनुपर्ने उहाँको भनाई छ । प्लटिङ, जलवायु परिवर्तन, बसाइँसराइ लगायतका कारण धानखेत मासिँदै गएको उहाँले बताउनु भयो । उहाँले नेपाल आयातित खाद्यान्नमा बढ्दो निर्भर बन्दै गएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । आयात सहज रहेसम्म समस्या नदेखिएपनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भएमा नेपालीको थाली नै रित्तिन सक्ने जोखिम रहेको उहाँको भनाई थियो । उहाँले खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय धानभन्दा बढी आम्दानी दिने बालीतर्फ किसान आकर्षित हुँदै गएको अवस्थाले पनि भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिन सक्ने बताउनु भयो ।
२०. लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यकः महालेखा परीक्षक राया
महालेखा महालेखा परिक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा संगठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लेखापरीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको बताउनु भयो । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको उहाँको भनाई छ । उहाँले कार्यलयले गुणस्तरीय लेखापरीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
२१. वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छः सभापति खड्का
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमवार महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले उहाँले २०६० सालयताको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै वित्तीय अनुशासन सुदृढ बनाउन आवश्यक रहेको बताउनु भयो । लामो समयदेखि बेरुजु फस्र्यौट र संपरीक्षण हुन नसक्दा सरकारप्रतिको जनविश्वास कमजोर बन्दै गएको उहाँको भनाई छ । महालेखा परीक्षकको कार्यालय र सार्वजनिक लेखा समितिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले कार्यालयले पेस गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी अन्तिम निर्णय तथा निर्देशन दिने जिम्मेवारी समितिको रहेको बताउनु भयो । आर्थिक गतिविधिको चक्रअनुसार पहिलो वर्ष योजना निर्माण, दोस्रो वर्ष बजेट स्वीकृति, तेस्रो वर्ष कार्यान्वयन र लेखांकन, चौथो वर्ष लेखापरीक्षण तथा पाँचौं वर्ष सार्वजनिक लेखा समितिमा छलफल गरी बेरुजु फस्र्योट हुनुपर्ने व्यवस्था रहेको उहाँको भनाई छ ।
२२. केही नेताको भ्रष्ट आचरणकै आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर मिल्दैनः युवराज ज्ञवाली
मानेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको बताउनुभयो । उहाँले नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिष्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गर्नुभयो ।
२३. जनार्दन भन्छन्ः ‘नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, आन्दोलनमा लागेका नेताहरु मात्रै जीवित छौँ’
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको टिप्पणी गर्नुभयो । उहाँले अहिले कम्युनिष्ट आन्दोलनभन्दा पनि त्यसमा आवद्ध नेता र समर्थक मात्रै बाँकी रहेको टिप्पणी गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गर्नुभयो । यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उहाँको भनाइ छ ।
२४. झलनाथले पार्टी फुटाउँदैछ भनेर कुप्रचार गरियोः झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताउनु भयो । आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताउनु भयो । नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताउनु भयो ।
२५. लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले मनाए राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन् । सोमवार धान दिवसको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा मनाएका हुन् । अभियन्ता एवं संविधान सभा सदस्य सुनिलबाबु पन्तले तेस्रो रोपाई जात्रा भएको बताउनुभयो । उहाँले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा र आफूभित्रको लैंगिक उर्जा बढाउनको लागि इन्द्रेणी रोपाई जात्रा मनाउने गरेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुदायको संस्कृति भित्रिनेमा आफूहरु चिन्तित रहेको पनि बताउनु भयो ।
२६. सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुनेछः भीम रावल
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले यस्तो बताउनुभएको हो । उहाँले सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुने टिप्पणी गर्नुभयो । उहाँले सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा आफू सहमत भएपनि वास्तविक भूमिहीन, श्रमजीवी र विपन्न नागरिकको संरक्षण गर्नु राज्यको पहिलो दायित्व हुने कुरा भुल्न नहुने बताउनु भयो । उहाँले संविधानले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने तथा विगतका सन्धिहरूको पुनरावलोकन गरी असमान सन्धि नगर्ने व्यवस्था गरेको स्मरण गराउँदै व्यवहारमा पालना गर्न नसकिएको तर्क गर्नुभयो ।
२७. नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैनः पर्यटनमन्त्री पौडेल
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताउनुभएको छ । सोमवार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो । मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताउनु भयो । हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो । उहाँले इयूको आकाशमा उडानमा लगाइएको प्रतिवन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दावी गर्नुभयो ।
२८. प्रतिकुल मौसमका कारण किसान मारमा परेका छन्, सरकारले तत्काल राहतको व्यवस्था गरोस्ः एमाले सांसद रखाल
नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले किसानलाई मल, बीउको समेत व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले अनावृष्टि र अतिवृष्टिका कारण किसान मारमा परेको भन्दै उनीहरुलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो । सांसद रखालले किसानको पीडालाई सरकारले बेवास्ता गरे मुलुकमा खाद्य संकट आउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले समयमा नै रोपाई हुने अवस्था नभएकाले अव किसानको उत्पादन घटने र त्यसले मुलुकको अर्थतन्त्रमा पनि प्रभावित पार्ने पनि बताउनु भयो ।
२९. सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति
राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु चन्द्रबहादुर केसी, जगत तिमिल्सिनाले संविधान, कानून र अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै उक्त पार्टीले ३५ हजार भन्दा बढी बालबालिकाहरुलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाउनुभएको हो । सांसद केसीले विद्यार्थी युनियनहरु खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
३०. सत्तारुढ रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः राष्ट्रिय सभा सांसद खालिद
राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताउनु भयो । उहाँले संघीयताको पक्षमा उभिएर मत मागेकाले प्रधानमन्त्री बालेन्द्र साहलाई जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने पनि बताउनु भयो । सांसद खालिदले भन्नुभयो,‘संघीयता कसैको दयामायामा आएको होइन । यो नेपाली जनताले एकात्मक शासन विरुद्ध लडेर, बलिदानी दिएर, जेल गएर, मुद्दा खेपेर संघीयता ल्याएको हो । संघीयता सफल भएन, खर्चिलो छ । सयौ सांसद पाल्न गाह्रो छ । हात्ति पाल्नु जस्तो छ ।
३१. सांसदहरुले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउनुपर्दछः सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदहरुले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने स्पष्ट पार्नुभएको हो । संघीय संसद सचिवालयले सिंहदरबारमा सोमवारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरुबीच राम्रो कानून बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको समेत बताउनु भयो । सांसदहरुको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरुले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाई थियो । उहाँले उक्त अभिमुखिकरण कार्यक्रमबाट सिकेर सांसदहरुले आफनो भुमिकालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
३२. एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पती शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ३ दिनको म्याद थप
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पती शुद्धीकरणसम्बन्धी अनुसन्धानका ३ दिनको म्याद थप भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतले आजको मितिदेखि लागू हुनेगरी थप ३ दिनको म्याद थपेको हो । उहाँमाथि अनुसन्धानका लागि सम्पती शुद्धीकरण विभागले दोस्रो पटक १५ दिनको म्याद मागेको थियो । विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले न्यायाधीशत्रेय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धान क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पती शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ आज दोस्रो पटक १५ दिनको म्याद थपको माग भई आएको थियो । अदालतबाट दोस्रो पटक दिन ३ आजैदेखि लागू हुने गरी म्याद थप भएको छ । उहाँको थप बयान तथा अन्य आरोपीहरुको समेत म्याद थप भएको छ ।
३३. राहदानी घोटाला प्रकरणः पाँच जना आरोपीलाई धरौटीमा छोड्न अदालतको आदेश
विशेष अदालतले विद्युतीय राहधानी प्रकरणका पाँच जना आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले यस्तो आदेश दिएको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले बताउनुभएको हो । उहाँकाअनुसार विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ, कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईंसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ । ठेकेदार जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको लामिछानेले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पाँच लाख रुपैयाँ धरोटी, निर्देशक (सूचना प्रविधि) सुनिलकुमार केसीलाई चार लाख रुपैयाँ, लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई साधारण तारेखमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका कानूनतर्फका उपसचिव राजाराम दाहाललाई पनि साधारण तारेखमा राख्ने आदेश, राहदानी विभागका शाखा अधिकृत उमेश थापाबाट तीन लाख रुपैयाँ धरौटी, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंबाट तीन लाख धरौटी माग्ने आदेश र जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लबाट पाँच लाख धरौटी माग्नेगरी आदेश भएको छ ।’
३४. नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ श्रृङ्खलामा ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्ति’ विषयक कार्यपत्र प्रश्तुत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । डा. भट्टराईले पृथ्वीनारायण शाहको पालादेखि प्रचलनमा रहेको ‘दुई ढुङ्गाबीचको तरुल’ को रूपकलाई बदलिएको विश्व परिवेशमा परिमार्जन गर्नुपर्ने तर्क गर्नुभयो । वैदेशिक सम्बन्धमा व्यावहारिक आदर्शवादको नयाँ दर्शन अघि सार्दै पूर्वप्रधानमन्त्री भट्टराईले आदर्श र व्यवहारलाई एउटै सिक्काका दुई पाटाका रूपमा व्याख्या गर्नुभयो । नेपालमा २०७२ को संविधान जारी भएसँगै राजनीतिक संघर्षको चरण पूरा भई विकास र सुशासनको नयाँ युग शुरु भएको उहाँको भनाइ थियो । बदलिएको राजनीतिक परिदृश्यमा नेपालको परराष्ट्र नीति अब ‘विकास कुटनीति’मा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
३५. नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र बदलिँदो वैश्विक परिवेश अनुकूल हुनुपर्नेमा परराष्ट्रमन्त्रीको जोड
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिँदो वैश्विक परिस्थितिअनुसार परिमार्जित र सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्तिहरूको मार्गनिर्देशन’ विषयक कार्यक्रममा मन्त्री खनालले अन्तर्राष्ट्रिय वातावरणमा भइरहेका गहन परिवर्तनहरू, प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र प्रविधिको तीव्र विकासले नेपाल जस्ता राष्ट्रका लागि चुनौती र अवसर दुवै सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालले यी परिवर्तनहरूलाई स्पष्टता, आत्मविश्वास र विवेकपूर्ण ढङ्गले सामना गर्नुपर्ने बताउनु भयो । मन्त्री खनालले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वमा दृढ रहेको पुनरावृत्ति गर्नुभयो । असंलग्नतालाई निष्क्रियताका रूपमा बुझ्न नहुने तर्क गर्दै उहाँले यसलाई राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय लिन सक्ने सक्रिय नीतिका रूपमा परिभाषित गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij