२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । बाँकेमा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरी रहेका छन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजे बिनोदले आफ्ना २६ वर्षीय दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। हत्या गरेपछि उनले दाइको शवलाई स्थानीय नहरमा फालेर फरार भएका थिए। नहरमा शव फेला परेपछि र परिवारबाट सूचना पाएपछि प्रहरीले तत्कालै खोजतलास सुरु गरेको थियो।
घटना घटाएर फरार रहेका बिनोद नेपाल(भारत सीमा पार गरी भारततर्फ भाग्ने योजनामा थिए। तर, कोहलपुर इलाका प्रहरी कार्यालयको टोलीले उनलाई आज सोमबार बिहान बाँकेकै कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्हवाबाट नियन्त्रणमा लिएको छ ।
मृतक मनोज चौधरीको शवलाई पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ। पारिवारिक विवाद वा अन्य कुनै कारणले हत्या भएको हो भन्नेबारे प्रहरीले हिरासतमा रहेका बिनोदसँग थप सोधपुछ गरिरहेको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij