२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका चाङ्गाथली युनाइटेड कलोनी नजिकै डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा गुरुङलाई पक्राउ गरेको हो।
पर्वतको फलेवास नगरपालिका वडा नं.१० घर भएकी गुरुङले शान्ति सुरक्षामा खलल पुग्ने गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मन्दिराले आफ्नो हात र ओछ्यानमा रातो अबिर दलेर ‘मैले साथीलाई मारेँ’ भन्दै सुस्मिता जिरेल नामकी साथीलाई भिडियो कल गरेकी थिइन्।
भिडियो कलमा हत्याको जस्तो दृश्य देखेपछि अत्तालिएकी सुस्मिताले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा खबर गरेकी थिइन्। घटनाको जानकारी पाउनासाथ प्रहरी प्रभाग लुभुबाट प्रहरी टोली उक्त डेरा कोठामा पुगेर खानतलासी गरेको थियो।
प्रहरी टोलीले कोठामा सर्च गर्दा मन्दिराको हात र ओछ्यानमा अबिर दलेको फेला पारेको थियो। प्रहरीले ती महिलालाई सोधपुछ गर्दा प्र्याङ्क भिडियो बनाएर समाजमा भ्रम र त्रास फैलाउने कार्य गरेको खुलेको थियो। झुट्टा अफवाह फैलाएर अशान्ति सिर्जना गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी मन्दिरा गुरुङमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij