२०८३ श्रावण ११ गते सोमवार
भारत । भारत महाराष्ट्रस्थित लोहगढ किल्लामा व्यवसायी केतन अग्रवाललाई करिब ४०० फिट गहिरो भीरबाट धकेलेर हत्या गरिएको घटनामा हरेक दिन नयाँ खुलासा भइरहेका छन् । हत्या आरोपमा पक्राउ परेकी उनकी हुनेवाला दुलही सिया गोयल र उनका प्रेमी चेतन चौधरीको सम्बन्ध प्रहरी हिरासतमा पुगेपछि बिग्रिएको छ । दुवैले अहिले एकअर्कामाथि हत्याको आरोप लगाइरहेका छन् ।
प्रहरी समक्ष दुवैले यसअघि सार्वजनिक नभएका धेरै तथ्य स्वीकार गरेका छन् । प्राप्त जानकारीअनुसार, केतनलाई भीरबाट धकेल्ने संकेत दिन सियाले पहिले नै एउटा विशेष इशारा गर्ने योजना बनाएकी थिइन् । साथै, जुन १४ मा सियाले पहिलो प्रयासमै केतनलाई मार्न नसकेपछि चेतन आफैंले हत्या गर्ने निर्णय गरेको खुलासा भएको छ ।
प्रहरी स्रोतका अनुसार, केतनको हत्या गर्ने यो तेस्रो प्रयास थियो । यसअघि दुई पटक सियाले केतनलाई लोहगढ किल्लामा लगेकी थिइन्, तर उनलाई भीरबाट धकेल्न सकेकी थिइनन् । सियाले प्रहरीलाई दिएको बयानअनुसार, जुन १४ मा दोस्रो प्रयास पनि असफल भएपछि चेतन निकै निराश भएको थियो र उनी सियाको अगाडि रोएका समेत थिए ।
समाचार संस्था न्यूज १८ का अनुसार, लगातार दुई पटक असफल भएपछि चेतनले सियालाई भनेका थिए, ‘तिमीबाट हुँदैन, अब म आफैं यसलाई समाप्त गर्छु ।’ त्यसपछि जुन १८ मा चेतनले आफैं योजना कार्यान्वयन गर्दै केतनलाई भीरबाट धकेलेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार, चेतन केतनलाई हटाएर सियासँग महाबलेश्वरमा एक्लै समय बिताउन चाहन्थे ।
अनुसन्धानका क्रममा सियाले स्वीकार गरेकी छन् कि केतनलाई भीरबाट धकेल्नुअघि दुवैले एउटा गोप्य संकेत तय गरेका थिए । योजनाअनुसार, सियाले बसेर संकेत दिने र त्यसपछि चेतन अगाडि बढेर केतनलाई भीरबाट धकेल्ने सहमति भएको थियो । घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार, योजना ठीक त्यहीअनुसार कार्यान्वयन गरिएको थियो । केतनलाई आफूमाथि के हुन लागेको छ भन्ने कुनै सुइँको समेत थिएन । उनले केही बुझ्नुअघि नै उनलाई भीरबाट धकेलिएको थियो ।
प्रहरीको सोधपुछका क्रममा सिया र चेतनले सुरुमा एकअर्कामाथि दोष लगाउने प्रयास गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार, प्रारम्भमा दुवैले आफू निर्दोष भएको दाबी गरे पनि अन्ततः सियाले आफूले नै हत्या गर्ने षड्यन्त्र बनाएको र चेतन त्यसमा सहभागी रहेको स्वीकार गरेकी छन् ।
चेतनले सुरुआतमा आफू किल्लामा भए पनि हत्या भएको स्थानमा नगएको र त्यहाँ के भएको थाहा नभएको दाबी गरेका थिए । तर प्रहरीले उनको भनाइ झुटो भएको प्रमाण फेला पारेपछि अन्ततः उनले पनि घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै सम्पूर्ण घटनाक्रम बयान गरेका थिए ।
किन गरियो केतनको हत्या ?
सिया र केतनको यस वर्षको फेब्रुअरीमा इन्गेजमेन्ट भएको थियो भने नोभेम्बरमा उदयपुरमा भव्य विवाह गर्ने तयारी भइरहेको थियो । अनुसन्धानका क्रममा सिया र चेतनले परिवारको बदनामी हुने डरले भागेर विवाह गर्नुको सट्टा केतनको हत्या गर्ने निर्णय गरेको बताएका छन् । सियाले आफ्नो परिवारलाई चेतनसँगको सम्बन्धबारे जानकारी दिँदै केतनसँग विवाह नगर्न आग्रह गरेकी थिइन् । तर परिवारले उनको कुरा नमानेर केतनसँग विवाह तय गरेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij