२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेको बताएकी छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले गत फागुनमा प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिहरूलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्ध सुदृढ गर्ने अवसर प्रदान गरेको उल्लेख गरेकी छन् ।
यद्यपि, कुनै एक निर्वाचनको परिणामलाई मात्र आधार बनाएर जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने उनको तर्क छ । बदलिँदो पुस्ता, रूपान्तरित सामाजिक संरचना, प्रविधिको तिब्र विकास र युवा पुस्ताको नयाँ आकांक्षालाई सम्बोधन गर्न कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राख्दै नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्नेमा उनले जोड दिइन् ।
उनले भनिन्, ‘आज नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको छ । जनताबाट निरन्तर विश्वास, माया र समर्थन प्राप्त गर्न सफल भएको यस आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय आज गम्भीर समीक्षा र आत्ममन्थनको विषय बनेको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij