२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीहरूमा अनाधिकृत रूपमा जडान गरिएका कालो सिसाका स्टिकरहरू हटाउने अभियान तीव्र पारेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आइतबारदेखि उपत्यकामा गुड्ने निजी तथा सार्वजनिक सवारी साधनमा रहेका कालो स्टिकर हटाउन थालिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार हालसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा गुड्ने ५३ वटा सवारी साधनका कालो स्टिकर हटाइसकिएको छ। जसमा माइक्रोबस र ट्याक्सीहरू समेत फेला परेका छन्।
कम्पनीबाटै कालो सिसा आएका गाडीबारे छलफल गरिनेपहिलो चरणमा गाडीको सिसामा बाहिरबाट टाँसिएका कालो स्टिकरहरू हटाउन सुरु गरिएको छ। कतिपय गाडीहरूमा कम्पनीबाटै कालो सिसा जडान भएर आएको पाइएकाले त्यस्ता गाडीका बिक्रेताहरूसँग सोमबार छलफल गरिने एसपी सुवेदीले जानकारी दिए।
कम्पनीबाटै कालो सिसा आएका गाडीहरूको सिसा परिवर्तन गराउने विषयमा हामी गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गर्दैछौँ, उनले भने। सुरक्षा चुनौती र अपराध नियन्त्रणका लागि कदमकालो सिसाको बढ्दो प्रयोगले उपत्यकामा सुरक्षा चुनौती थपेको प्रहरीको निष्कर्ष छ।
कालो सिसाभित्र के भइरहेको छ भन्ने बाहिरबाट नदेखिने हुँदा यसको आडमा हातहतियार ओसारपसार, लागूऔषध कारोबार, जघन्य अपराधमा संलग्न आरोपीहरू लुकेर हिँड्ने र गाडीभित्रै यौनजन्य हिंसाका घटनाहरू समेत हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको एसपी सुवेदीले बताए।
यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार स्वीकृति नलिई सवारीको रङ, स्वरूप र इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij