२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरु एकतावद्ध हुन ढिला गर्न नहुने टिप्पणी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले देशको राजनीतिक घटनाक्रम गत भदौ २४ गतेपछि प्रतिक्रियावादी दिशामा अघि बढिरहेको भन्दै यसका विरुद्ध वामपन्थी र देशभक्तहरु एकताबद्ध हुन ढिला गरे गम्भीर गल्ती हुने बताएका छन्। उनले राष्ट्रिय स्वाधिनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको भन्दै निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रश्तुत भएको बताएका छन् । उनले सरकारले संविधानका आधारभूत मूल्य मान्यतामाथि प्रहार गर्दै पीडित वर्ग, मजदुर, किसान र उत्पीडित समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाएका छन् ।
उनले भने, ‘दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा कम्युनिष्टहरू सिध्याइयो भनेर घोषणा गरेको तपाईँ हामीले सुनेका छौँ । र यो नेपाल जस्तो देशमा कम्युनिष्ट आन्दोलनको जबरदस्त प्रभावलाई के गरी सिध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँ भरका प्रतिक्रियावादीहरु लागिराख्या छन् । त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा २४ भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ । यो परिस्थितिमा हामीले ढिलो नगरीकन राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीवादका विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरु एक हुनुपर्छ । यसलाई ढिला गर्नु गल्ती हुन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij