Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रोल्पामा लगातार फेला पर्दै छन् भरुवा बन्दुक

रोल्पामा लगातार फेला पर्दै छन् भरुवा बन्दुक


  • 1.2K
    Shares

    रोल्पामा लगातार फेला पर्दै छन् भरुवा बन्दुक
    images

    काठमाडौं । रोल्पा जिल्लाका विभिन्न स्थानमा पछिल्लो चार दिनभित्र चारवटा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्। लुकाई-छिपाई राखिएको अवस्थामा फेला परेका ती हतियारहरूलाई प्रहरीले बरामद गरेको हो।

    प्रहरीका अनुसार गत बुधबार रोल्पाको सुनिलस्मृति गाउँपालिका-६ गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा रुखको फेदमा लुकाएर राखिएका २ वटा एकनाले भरुवा बन्दुक फेला परेका थिए। त्यसलगत्तै शुक्रबार माडी गाउँपालिका-१ भितावाङ स्थित सडकको छेउमा बेवारिसे अवस्थामा रहेको अर्को एक थान भरुवा बन्दुक बरामद गरियो। 

    यसैगरी, शनिबार पुनः रोल्पा नगरपालिका-४ वाईगाउँ स्थित डहरे सामुदायिक वनमा १ नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवम् सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिएका छन्। 

    हामीले बन्दुकहरू बेवारिसे अवस्थामा लुकाई-छिपाई राखेको अवस्थामा फेला पारेर बरामद गरेका हौँ, उनले भने। फेला परेका सबै बन्दुकहरूलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको छ। 

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुका अनुसार उक्त हतियारहरू कसले र के उद्देश्यले राखेको हो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन। हतियार राख्ने व्यक्तिहरूको खोजी कार्य र थप अनुसन्धान भइरहेको छ, डीएसपी बाखुले बताएका छन्। 

    विगतको सशस्त्र द्वन्द्वका समयमा राज्यपक्ष र तत्कालीन विद्रोही पक्षबीच भएका भिडन्तका कारण रोल्पामा अहिले पनि समय-समयमा हतियार तथा विष्फोटक पदार्थहरू फेला पर्ने गरेका छन्।

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ११:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij