२०८३ आश्विन १ गते बिहिवार
१. हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनुभएको छ । कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो । न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शिघ्र किनारा लगाउनुपर्ने ‘अग्रधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गर्नुभयो । मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । अत्यधिक कार्यबोझ र सिमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो । पुराना मुद्दाहरूलाई छिटो फस्र्यौट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुङ्ग्याउन अदालत प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
२. सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा
नेपालको संसदीय इतिहासमा एउटा सर्वथा फरक मोड ल्याउँदै वि.सं. २०८२ फागुन २१ को निर्वाचनमार्फत दुई–तिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील राजनीतिक र वैचारिक दोसाँधमा आइपुगेको छ । चितवनको भरतपुरमा सम्पन्न पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लामो समयदेखि खेप्दै आएको ‘नीति र सिद्धान्त अस्पष्ट रहेको’ आरोपलाई चिर्न ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो मूल मार्गदर्शक सिद्धान्त घोषणा त ग¥यो । तर पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, प्रधानमन्त्री बालेन्द्र साहको शासकीय शैली, उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्तुत गर्नुभएको अर्थ–राजनीतिक प्रश्ताव र आर्थिक वर्ष २०८३÷८४ को बजेटलाई गहिराइमा केलाउने हो भने रास्वपा प्रस्ट रूपमा एउटा गम्भीर सैद्धान्तिक विरोधाभासको चक्रव्यूहमा फसेको देखिन्छ । यस वैचारिक संक्रमणलाई बुझ्न सन् २०७९ को आम निर्वाचनको समय सम्झनुपर्ने हुन्छ, जब नव–निर्वाचित मेयर बालेन शाहले मतदान केन्द्रबाट बाहिरिँदै गर्दा प्रदेश सभाको मतपत्रलाई फोहोरको टोकरीमा मिल्काएर बाहिर निस्कने विद्रोही इसारा गरेका थिए । त्यो उनको मूल्यको राजनीति अर्थात अन्तरात्माको प्रस्ट आवाज थियो ।
३. सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’
सरकारले शुरु गरेको बस्ती हटाउने अभियानको विरोधमा सुकुम्बासीहरूले शनिवार पनि माईतीघरमा प्रदर्शन गरेका छन् । उचित विकल्प र व्यवस्थापन बिना नै आफूहरूलाई विस्थापित गरिएको भन्दै उनीहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका हुन् । थापाथलीस्थित वागमती किनारको बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले सरकारले प्रश्ताव गरेको प्रतिपरिवार २५ हजार रुपैयाँको आर्थिक राहतलाई ठाडै अस्वीकार गरे । उक्त रकमले दिगो व्यवस्थापन नहुने र सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको उनीहरूको आरोप छ । आन्दोलनरत पक्षकाअनुसार होल्डिङ सेन्टरमा रहेका परिवारहरूको अवस्था निकै कष्टकर छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका प्रतिनिधिहरूले सेन्टरमा खाद्यान्नको अभाव, बालबालिकाको शिक्षामा अवरोध र स्वास्थ्य सेवाको कमी रहेको जानकारी दिएका छन् । उचित उपचार र स्वास्थ्य सुविधाको अभावमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा एक जनाको मृत्युसमेत भएको दाबी उनीहरूले गरेका छन् । प्रदर्शनका क्रममा सुकुम्बासी प्रतिनिधिहरूले बालबालिकाको भविष्य अन्योलमा परेको र सरकारले सामाजिक सञ्जालमा गरिरहेको प्रचार र यथार्थबीच ठूलो खाडल रहेको बताएका छन् ।
४. संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी
राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीले १० वर्षको अन्तरालमा संविधान परिमार्जन हुनु स्वाभाविक प्रक्रिया भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘संस्कृतिमा काली–कर्णाली’ को दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक १० वर्षमा संविधान परिमार्जन गर्दा समाजको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न सकिने उल्लेख गर्नुभयो । संविधानको गतिशील भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुनेकुरा स्वभाविक भएको उहाँको भनाइ छ । भण्डारीले संविधान एक गतिशील दस्तावेज भएको उल्लेख गर्दै यसलाई सामाजिक आवश्यकता र समयको मागअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनु भयो । संविधानका आधारभूत सिद्धान्तहरू अपरिवर्तनीय रहे पनि यसभित्रका अन्तरवस्तुले बदलिँदो सामाजिक अवस्थालाई सम्बोधन गर्न नसकेको खण्डमा समयानुकूल संशोधन आवश्यक हुने उहाँको भनाइ थियो । कानून निर्माण प्रक्रियामा राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको समान दायित्व रहने स्पष्ट पार्नुभयो ।
५. रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटी सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छिन् । योङ स्टार फाउण्डेसनले शनिवार कार्यक्रममा आयोजना गर्दै रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गरेको हो । योङ स्टार फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले अवार्ड र नगद एक लाख रुपैँयासहित सम्मान गरेकम हुन् । रेनुका घरेलु फुटबलमा एपिएफबाट खेल्दै आइरहेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउण्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न शुरु गरेको हो । गत वर्ष यो अवार्ड प्रिती राइले जितेकी थिइन् । घरेलु महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए ।
६. रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त भएको राजनीतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ्ने उद्घोष गर्नुभएको छ । चितवनको भरतपुरमा आयोजित महाधिवेशनको समापन तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा अब केवल एउटा वैकल्पिक शक्ति मात्र नभई देशको शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवार राजनीतिक दलका रूपमा स्थापित भएको बताउनु भयो । सभापति लामिछानेले नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि र अग्रज राजनीतिज्ञहरूको योगदानलाई स्मरण गर्दै वर्तमान उपलब्धि उहाँहरूकै संघर्षको प्रतिफल भएको स्वीकार गर्नुभयो । उहाँले व्यवस्था परिवर्तनको चरण सकिएकाले अब प्राप्त उपलब्धिहरूको जगमा उभिएर जनताको अवस्था परिवर्तन गर्ने चुनौतीलाई सामना गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।
७. माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो
काठमाडौंको माईतीघर मण्डलामा दृष्टिबिहीनहरूले शुरु गरेको आन्दोलन छैटौं दिनमा पनि जारी रहेको छ । आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिबिहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुनसक्ने टिप्पणी गर्नुभयो । अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताउनु भयो । लिम्बूले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माईतीघरमा भइरहेको प्रदर्शनलाई बेवास्ता गरेको आरोप समेत लगाउनु भयो । उहाँले वाह्य जिल्लाका सामान्य गतिविधिमा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको गुनासो गर्नुभयो ।
८. प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले संसदमा विचाराधीन विधेयकहरूमा प्रतिपक्षले प्रश्तुत गरेका रचनात्मक संशोधनहरूलाई सरकारले सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘संस्कृतिमा काली–कर्णाली’ दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रमुख सचेतक महरले हाल संघीय संसदमा चलचित्र विधेयक र बौद्धिक सम्पती सम्बन्धी विधेयक विचाराधीन रहेको जानकारी दिनुभयो । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा आएको चलचित्र विधेयकका सम्बन्धमा प्रतिपक्षका तर्फबाट विभिन्न संशोधनहरू दर्ता गरिएको उल्लेख गर्दै उहाँले सरकारले प्रतिपक्षका कुरा सुन्दा कमजोर भइने पुरातन मानसिकता त्याग्नुपर्ने बताउनु भयो । उहाँले सरकारसँग स्पष्ट बहुमत रहेकाले प्रतिपक्षका रचनात्मक कुराहरू समेट्दैमा सरकार कमजोर नहुने तर्क समेत गर्नुभयो । उहाँले विशेषगरी बौद्धिक सम्पती सम्बन्धी विधेयकमा आफूले महत्वपूर्ण संशोधन प्रश्ताव राखेको जानकारी दिनुभयो ।
९.काठमाडौंमा सामूहिक कुमारी पूजा
काठमाडौं महानगरपालिका वडा नं. १७, धोविचौरमा एक समारोहका बीच सामूहिक ‘कुमारी पूजा’ सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा स्थानीय के.के. महिला समूहको समन्वयमा आयोजित उक्त कार्यक्रममा १८८ जना बालबालिकाको सहभागिता रहेको थियो । नेवार समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई कुमार र कुमारीका रूपमा विधिपूर्वक पूजन गरिएको थियो । बालबालिकामा रहेको पवित्रता, शक्ति र दैवी स्वरूपको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासका साथ यो पूजा आयोजना गरिएको हो । सहभागी बालबालिकालाई परम्परागत विधिअनुसार पूजा गरी टीका, प्रसाद र सम्मान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरूले बालबालिकालाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने यस्तो पहलको प्रशंसा गरेका छन् ।
१०. अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौतीः मुख्य रजिस्ट्रार विमल पौडेल
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले पछिल्लो समय अनियन्त्रित र अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ । उहाँले परम्परागत सञ्चार माध्यम र सञ्चारकर्मीहरूसँग न्यायपालिकाको सम्बन्ध सहज रहे पनि नियमन बाहिर रहेका सामाजिक सञ्जालले समस्या निम्त्याएको उल्लेख गर्नुभएको हो । मुख्य रजिस्ट्रार पौडेलले सामाजिक सञ्जालका चुनौतीहरूलाई केवल न्यायपालिकाको समस्याका रूपमा मात्र नहेरी यसलाई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा चुनौतीका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै ‘मिस–इन्फर्मेसन’ (भ्रामक सूचना), ‘डिस–इन्फर्मेसन’ र ‘माल–इन्फर्मेसन’ को जोखिम बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबाट सिर्जित नक्कली आवाज, तस्बिर र सामग्रीहरूले न्यायिक प्रक्रिया र सूचनाको गम्भीरतामा असर पु¥याउन सक्ने भन्दै उहाँले सञ्चारकर्मीहरूलाई यस्ता विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । संवैधानिक रूपमा सुरक्षित गरिएको व्यक्तिको गोपनीयताको हकको जगेर्ना गर्न पनि उहाँले प्रेस जगतसँग अनुरोध गर्नुभयो ।
११. ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध ग¥योः न्यायाधीश महेश शर्मा पौडेल
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताउनुभएको छ । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फस्र्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र २४ गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनु भयो । उहहाँले प्रतिकूल परिस्थितिका बाबजुद आगामी दिनमा कार्यसम्पादन बढाएर यसलाई व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । न्यायपालिकाको स्वतन्त्रताको विषयमा बोल्दै न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यमलाई न्यायपालिकाको आवाज जनमानसमा पु¥याउने सहयात्री र परिपूरकका रूपमा चित्रण गर्नुभयो । पछिल्लो समय चर्चामा रहेको ‘मिडिया ट्रायल’ र समाचार संप्रेषणको सीमाका सम्बन्धमा उहाँले सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले यसको परिधि स्पष्ट पारिसकेको बताउनु भयो ।
१२. अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र बडापत्रको पालना अपरिहार्यः महासचिव गुटेर्रेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले वर्तमानको अशान्त विश्वमा अन्तर्राष्ट्रिय सहयोग र ऐक्यवद्धता नै एकमात्र यथार्थपरक मार्ग भएको बताउनुभएको छ । संयुक्त राष्ट्र संघको बडापत्र दिवस (यूएन चार्टर डे) का अवसरमा आयोजित महासभाको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहकार्यको महत्त्वमा जोड दिनुभएको हो । महासचिव गुटेर्रेसले साझा खतराहरूले घेरिएको वर्तमान विश्वमा सहकार्य गर्नु निर्दोषिता नभई स्पष्ट वास्तविकता भएको उल्लेख गर्नुभयो । कतिपयले वर्तमानको उथलपुथलबाट बच्न सीमाहरूभित्र खुम्चने वा एक्लै सङ्कटको सामना गर्न सकिन्छ भन्ने भ्रम पालेको उल्लेख गर्दै महासचिवले त्यस्तो सोच गलत रहेको स्पष्ट पार्नुभयो ।
१३. औद्योगिकीकरणमार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न मोजाम्बिकका राष्ट्रपतिको आह्वान
मोजाम्बिकका राष्ट्रपति ड्यानियल फ्रान्सिस्को चापोले देशको ५१ औँ स्वतन्त्रता दिवसका अवसरमा आर्थिक आत्मनिर्भरताका लागि राष्ट्रिय अभियान चलाउन आह्वान गर्नुभएको छ । राजधानी मापुतोस्थित हिरोज स्क्वायरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति चापोले सन् १९७५ मा प्राप्त राजनीतिक स्वतन्त्रतालाई अब आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादन वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र देशमा उपलब्ध प्रचुर प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयो । राष्ट्रपति चापोले उत्पादन र उत्पादकत्वलाई दोस्रो स्वतन्त्रताको संज्ञा दिँदै यसका लागि कडा परिश्रम, अनुशासन, देशभक्ति र आर्थिक राष्ट्रवाद अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
१४. टर्कीको पटाका कारखानामा विष्फोटः एकको मृत्यु, एक घाइते
मध्य टर्कीको निगडे प्रान्तस्थित एक पटाका कारखानामा शुक्रवार भएको विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । निगडे गभर्नरको कार्यालयलाई उद्धृत गर्दै इहलास न्युज एजेन्सीले जनाएअनुसार बोर जिल्लाको केमेरहिसार सहरमा अवस्थित येर्तास पटाका कारखानामा स्थानीय समयअनुसार दिउँसो करिव ४ बजे विष्फोट भएको थियो । घटनालगत्तै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका थिए । दमकलकर्मीहरूले कारखानाभित्र सल्किएको आगोलाई नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् । विष्फोटमा परी घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई प्रान्तबाहिरको सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गरिएको छ ।
१५. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी किमलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केन–हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ । सोल केन्द्रिय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाउँदै किमले सर्वसाधारणका लागि अप्राप्य विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निःसंकोच ग्रहण गरेको उल्लेख गरेको छ । पूर्वराष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि साढे सात वर्षको जेल सजाय माग गरेको थियो । अदालतको फैसलाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाएबापत घाँटीको हार, ब्रोच र टप (कानमा लगाउने गहना) उपहार स्वरूप लिएकी थिइन् ।
१६. नेटो शिखर सम्मेलनका कारण टर्कीको राजधानी अंकाराको जनजीवन प्रभावित
टर्कीको राजधानी अंकारामा आयोजना हुन लागेको नेटो शिखर सम्मेलनको तयारीसँगै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सम्मेलनका कारण लगाइएका विभिन्न प्रतिवन्ध र सडक अवरोधहरूले सर्वसाधारणको दैनिक जनजीवनमा ठूलो असर पुग्ने देखिएको छ । जुलाई ७ र ८ तारिखमा आयोजना हुने यस शिखर सम्मेलनमा नेटोका ३२ सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी हुँदैछन् । हजारौँ प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार र सहयोगी कर्मचारीहरूको उपस्थितिका कारण यो अंकाराले आयोजना गरेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय कार्यक्रममध्ये एक हुनेछ । सम्मेलनलाई मध्यनजर गर्दै अधिकारीहरूले असाधारण सुरक्षा प्रवन्ध मिलाएका छन् । अर्ध–आधिकारिक समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार, सम्मेलनको सुरक्षाका लागि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । अंकारा गभर्नरको कार्यालयले जुन २८ देखि जुलाई १० सम्मका लागि शहरमा सबै प्रकारका सभा, जुलुस, धर्ना र ¥यालीहरूमा पूर्ण प्रतिवन्ध लगाएको छ । यसका साथै कन्सर्ट, मेला र ठूला सार्वजनिक जमघटहरूमा समेत रोक लगाइएको छ ।
१८. भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि खोजी तथा उद्धार कार्यमा सहयोग पु¥याउन स्पेन सरकारले ५४ सदस्यीय सैन्य आपत्कालीन टोली (यूएमई) पठाएको छ । स्पेनको रक्षा मन्त्रालयले बिहीबार उक्त टोलीलाई भेनेजुएला प्रस्थान गराउने निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भेनेजुएलामा हालै ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए । सो प्राकृतिक विपत्तिका कारण ठूलो परिमाणमा जनधनको क्षति हुनुका साथै दशौँ हजार मानिस अझै बेपत्ता रहेको बताइएको छ । स्पेनले पठाएको यस विशेषज्ञ टोलीमा भवन भत्किएका स्थान तथा प्राकृतिक प्रकोप क्षेत्रमा मानिसहरूको खोजी र पहिचान गर्न विशेष तालिमप्राप्त कुकुरहरू समेत सहभागी छन् । उद्धार टोलीसँगै स्पेनले आवश्यक उद्धार उपकरण र आपत्कालीन राहत सामग्री समेत पठाएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजसँग संवाद गर्दै विपत्को यस घडीमा स्पेन भेनेजुएलाको साथमा रहेको र पूर्ण ऐक्यवद्धता प्रकट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
१९. म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
३९ औं अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा म्यानमार सरकारले देशभरबाट जफत गरिएका ठूलो परिमाणको लागुऔषध र प्रतिवन्धित रसायनहरू नष्ट गरेको छ । शुक्रवार देशका प्रमुख शहरहरू याङ्गुन, मण्डले र ताउङ्गीमा आयोजित विशेष समारोहका बीच ती सामग्रीहरू नष्ट गरिएको हो । आधिकारिक तथ्याङ्कअनुसार देशभरबाट बरामद गरिएको कूल ६० करोड ३७ लाख ७० हजार अमेरिकी डलर बराबरको लागुऔषध र हानिकारक रसायनहरू जलाइएको छ । यस अन्तर्गत याङ्गुनमा ३२ करोड १३ लाख डलर बराबरका ३१ प्रकारका लागुऔषध, मण्डलेमा ११ करोड ३६ लाख डलर बराबरका २७ प्रकारका लागूऔषध र ताउङ्गीमा १६ करोड ८७ लाख डलर बराबरका ९३ प्रकारका लागूऔषध नष्ट गरिएको छ । नष्ट गरिएका सामग्रीहरूमा हेरोइन, अफिम, स्टिमुलान्ट ट्याब्लेट (उत्तेजक चक्की), मेथामफेटामाइन, गाँजा, केटामाइन र एक्स्टेसी लगायतका विभिन्न नशालु पदार्थहरू रहेका छन् ।
२०. सन् २०२६ को पहिलो ६ महिनामा हङकङमा ५३ अर्ब डलरभन्दा बढी वैदेशिक लगानी भित्रियो
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारको लगानी प्रवद्र्धन निकाय इन्भेस्ट हङकङले सन् २०२६ को पहिलो ६ महिनामा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको जनाएको छ । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यस अवधिमा ४१३ वैदेशिक तथा चिनियाँ मुख्य भुमिका कम्पनीहरूले हङकङमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गरेका छन् । यसबाट ५३ अर्ब हङकङ डलर (करिव ६.७५ अर्ब अमेरिकी डलर) प्रत्यक्ष वैदेशिक लगानी भित्रिने सुनिश्चित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो ।
२१. होर्मुज जलसन्धिमा व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफमा अमेरिकाद्वारा इरानी सैन्य ठेगानाहरूमा हवाई हमला
होर्मुज जलसन्धिमा एक व्यापारिक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले शुक्रवार इरानी सैन्य ठेगानाहरूमा हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी गरिएको यो कारबाही अघिल्लो दिन भएको आक्रमणको सशक्त जवाफ हो । सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा इरानले व्यापारिक जहाजमाथि गरेको ड्रोन आक्रमणले युद्धविरामको स्पष्ट उल्लंघन गर्नुका साथै महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा नौवहन स्वतन्त्रताको समेत अवहेलना गरेको उल्लेख गरेको छ । कमान्डले जलसन्धि भएर यात्रा गर्ने व्यापारिक जहाजहरूलाई सुरक्षित मार्ग समन्वय र सहयोग प्रदान गरिरहने प्रतिवद्धता व्यक्त गर्दै हालै सम्पन्न अमेरिका–इरान शान्ति सम्झौताको पूर्ण पालना सुनिश्चित गर्न आफूहरू चनाखो रहने जनाएको छ ।
२२. नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान
अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यसहित वित्तीय पूर्वाधार विकास र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धनमा केन्द्रित अभियान थालेको छ । बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेल नेतृत्वको टोलीले काठमाडौंमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदुतहरूसँग छलफल गरेको हो । छलफलमा अमेरिकी टोलीले नेपाललाई विश्व वित्तीय प्रणालीसँग नयाँ ढङ्गले जोडिने ऐतिहासिक अवसर प्रदान गरेको बताएका थिए । त्यसका लागि आवश्यक वित्तीय पूर्वाधार, लगानीका साधन तथा पुँजी परिचालनको संयन्त्र निर्माणमा क्रस रिभर बैंक दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको उनीहरुको भनाई थियो ।
२३. रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले रास्वपा पतन हुने दाबी गर्नुभएको हो । उहाँले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताउनु भयो । उहाँले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । जनताले राप्रपालाई ठूलो मत नदिएपनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताउनु भयो । उहाँले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताउनु भयो । आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उहाँको भनाई छ । उहाँले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने पनि बताउनु भयो । पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उहाँको भनाइ छ ।
२४. सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै
सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका चितवन रत्ननगरका सिमान्तकृत महिलाहरु पछिल्लो समय आत्मनिर्भर बन्दै गएका छन् । ‘सिक्स डिग्रीज नेटवर्क फर वुमेन नेपाल’ले सीमान्तकृत महिलालाई अवसर, सीप र बजारसँग जोडिदिएपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् । संस्थाले सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउन सीप विकास, उद्यमशीलता र बजार पहुँचमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलालाई साबुन, लिप बाम लगायतका घरेलु उत्पादन निर्माणसँगै ड्राइभिङ, नेचर गाइड र निर्माणसम्बन्धी क्षेत्रमा तालिम दिँदै आएको संस्थाकी प्रतिनिधि श्रीला सरकारले जानकारी दिनुभयो । उहाँकाअनुसार संस्थाले तालिमपछि व्यवसाय शुरु गर्न आवश्यक प्राविधिक तथा आर्थिक सहयोग पनि संस्थाले उपलब्ध गराउने गरेको छ । महिलाहरुले उत्पादन गरेका साबुन र लिप बाम ‘हामी’ ब्राण्डअन्तर्गत बजारमा बिक्री वितरण भइरहेको छ ।
२५. सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन
मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पारदर्शी समाज’ गठन गरिएको छ । पूर्वराजदुत दीपकुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो । समाजको सदस्यहरुमा वासु दाहाल, सन्तोष गिरी, सोमबहादुर थापा र मुमाराम खनाल रहेका छन् । संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्ने जनाएको छ । समाजले भ्रष्टाचारजन्य घटनाका बारेमा तथ्यमा पुगेर अध्ययन, अनुसन्धान गर्ने जनाएको छ । अध्ययन तथा अनुसन्धान गरेका प्रतिवेदनहरु सार्वजानिक गर्न समाजले ‘पारदर्शीसमाज डट ओआरजी’ नामक वेवसाईट पनि सार्वजानिक गरेको छ । वेबसाइट सार्वजानिक कार्यक्रममा अध्यक्ष दीपकुमार उपाध्यायले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सुशासनबिना मुलुकको अवस्था सुधार हुन नसक्ने बताउनु भयो । भ्रष्टाचार र कमजोर सुशासनका कारण नेपालको आर्थिक अवस्था निकै कमजोर बनेको उहाँको भनाई छ । उहाँकाअनुसार पहिले ऋणको साँवा–ब्याज तिर्न र साधारण खर्च धान्न करिब २ खर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था थियो तर हाल बढेर ४ खर्ब रुपैयाँसम्म पुगेको छ । आम्दानी नबढ्ने तर खर्च मात्रै बढ्ने गरेका कारण देशमा आर्थिक संकट आएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij