२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सामाजिक सञ्जालमा भिडियो बनाउने बहानामा एक डेलिभरी ब्वायमाथि दुर्व्यवहार र धम्की दिइएको प्राङ्क भिडियो सार्वजनिक भएको छ।एक विकट कच्ची सडकमा ३,५०० रुपैयाँको सामान डेलिभरी गर्न पुगेका ती युवकलाई त्यहाँ रहेका केही व्यक्तिहरूले पैसा दिनुको साटो उल्टै गालीगलौज र धम्की दिएका थिए।
सामानको ब्याग खोस्दै र डोरीले बाँधेर फाल्दिने धम्की दिँदै उनीहरूले डेलिभरी ब्वायसँग उल्टै ५ हजार रुपैयाँ माग गरेका थिए। ती युवकले त्रसित हुँदै सामान र पैसा दुवै नचाहिने भन्दै ज्यान जोगाउन हात जोडेर बिन्ती गरे। तर, दुर्व्यवहार सहन नसकी आफ्नो ब्याग लिएर ज्यान जोगाउन दौडने क्रममा सडकको हिलो र पानीमा सन्तुलन गुमाएर उनी नराम्ररी पछारिएका छन्। प्राङ्कको नाममा श्रमजीवीमाथि गरिएको यस्तो संवेदनहीन र अमानवीय हर्कतको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।
ज्यान जोगाउन दौडिएका डेलिभरी ब्वाय हिलोमा बजारिएर घाइते भएका छन्। सडकमा पछारिएका कारण उनको घुँडा र खुट्टामा चोट लागेको छ। युवक घाइते भएपछि मात्र डराएका प्र्याङ्कबाजहरूले यो सबै मनोरञ्जनका लागि गरिएको नाटक मात्र भएको खुलाउँदै माफी मागेका थिए। पीडित डेलिभरी ब्वायले पनि भविष्यमा कसैको भावना र जीवनमाथि यस्तो खेलबाड नगर्न आग्रह गरे।
उक्त भिडियो जीवन ओली नामका व्यक्तिको फेसबुक अकाउन्टबाट सार्वजनिक भएसँगै भाइरल बनेको हो। भिडियोलाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले तीव्र आक्रोश र आलोचना गरिरहेका छन्। मनोरञ्जनका नाममा श्रमजीवीलाई मानसिक तनाव दिने, अपमान गर्ने र शारीरिक रूपमा त्रसित बनाएर घाइते तुल्याउने यस्ता अमानवीय कार्य रोकिनुपर्ने माग उठिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij