Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते


  • 1.8K
    Shares

    स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
    images

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।

    शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । जिपमा चालकसहित १८ जना सवार थिए ।

    दुर्घटनामा परी घाइते भएका वालिङ नगरपालिका-७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा वालिङ-७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देहीको गैडहवा-४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी कावासोती नगरपालिका-५ की ४१ वर्षीया मायादेवी सुनारी गम्भीर घाइते भएका छन् ।

    यस्तै, मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ-७ की जैकला सारू, पोखरा महानगरपालिका-९ की रुक्सना थापा, देवदह नगरपालिका-५ की कमला थापा, बिरुवा गाउँपालिका-६ का टोपबहादुर थापा, वालिङ–७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारू घाइते भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा अन्य पाँच जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेमध्ये २८ वर्षीय चालक मिनबहादुर सारू पनि रहेका छन् । उनलाई सामान्य चोट लागेको र हाल प्रहरीको नियन्त्रणमा राखिएको छ ।

    दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याइएको थियो । त्यसमध्ये गम्भीर र मध्यम अवस्थाका १२ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १४:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij