२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्म “पार्वती”को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ। आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको उक्त गीत निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरेको हो।
सार्वजनिक गीतको भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहका अवसरमा महिलाहरूले खेल्ने रत्यौली संस्कृतिलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको भिडियोमा दीपाश्री पुरुषको भेषमा देखिएकी छन् भने नीता पारम्परिक पहिरनमा रत्यौली खेल्दै देखिन्छिन्।
गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। हर्क साउदको शब्द, दीपक शर्माको संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
फिल्ममा निर्देशक ढुङ्गाना स्वयं मुख्य भूमिकामा रहेकी छन्। उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।
नीता ढुङ्गानाकै कथा तथा पटकथामा बनेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल डीओपी रहेको फिल्मको नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।
‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij