२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको घटनाको चर्चा सेलाउन नपाउँदै पश्चिम नवलपरासीमा पनि खाद्य स्वच्छता मापदण्ड उल्लङ्घनको अर्को गम्भीर घटना सार्वजनिक भएको छ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित ुरोयल कटेज प्रालिलाई सागमा सङ्खे कीरा भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली बालमैत्री स्थानीय तह घोषणासम्बन्धी अनुगमनका क्रममा हिजो उक्त होटलमा खाना खान पुगेको थियो।
सोही क्रममा पस्किएको सागमा सङ्खे कीरा भेटिएपछि टोलीले तत्काल कदम चालेको हो।घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले होटलमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा होटलमा प्रयोग भइरहेका खाद्य सामग्री तथा तयार पारिएका परिकारसमेत अस्वस्थकर र मापदण्डविपरीत रहेको भेटिएको प्रशासनले जनाएको छ। खाद्य स्वच्छतासम्बन्धी न्यूनतम मापदण्ड समेत पालना नगरेको र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको निष्कर्ष निकाल्दै प्रशासनले रोयल कटेज प्रालिलाई उपभोक्ता संरक्षण ऐन बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
केही दिनअघि मात्रै चितवनमा रास्वपा महाधिवेशनका क्रममा गृहमन्त्री सुदन गुरुङसहितको टोलीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि बजार अनुगमन तीव्र पारिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij