२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूलाई सेन्टर खाली गर्न थप एक हप्ताको समय दिएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको सरकारले आज एक सूचना जारी गर्दै असार १९ गतेसम्मको नयाँ समयसीमा (म्याद) थप गरेको हो।
यसअघि गत असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकाल्दै असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको थियो। तर, सुकुमवासीहरूले घरभाडा खोज्न र बन्दोबस्त गर्न समय छोटो भएको भनी गुनासो गरेपछि समितिले आज पुनः सूचना जारी गर्दै म्याद थपेको जनाएको छ ।
समितिद्वारा जारी सूचनामा भनिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३\०३\१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३\०३\१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ।
सरकारले गत वैशाख १२, १३, १९ र २० गते काठमाडौं उपत्यका भित्रका नदी किनारका सुकुम्वासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिहेकाहरुलाई हटाएको थियो । त्यसपछि दशरथ रंगशालामा उनीहरुको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ ।
होल्डिङ सेन्टरमा रहेकाहरुलाई २५ हजार रुपैयाँ दिएर बिदा गर्ने तयारी छ । २५ हजार रुपैयाँ पाउनका लागि असार १५ गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बरसहित निवेदन दिन भनिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij