२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
आफूहरूमाथि अन्याय भएको भन्दै विद्यार्थीहरूले दबाब सिर्जना गर्न आन्दोलन सुरु गरेका हुन्। उत्तर पुस्तिका परीक्षणमा लापरबाहीको आरोपनतिजाप्रति असन्तुष्टि जनाउँदै आन्दोलित विद्यार्थीहरूले आफूहरूले वर्षभरि गरेको मिहिनेत अनुसारको अङ्क नआएको गुनासो गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले उत्तर पुस्तिका परीक्षणमा चरम लापरबाही गरेको उनीहरूको आरोप छ।
प्रदर्शनकारी विद्यार्थीहरूले नतिजामा चित्त नबुझेर गरिने पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक बनाइएको बताएका छन्।
बोर्डले विद्यार्थीलाई मर्कामा पारेर शुल्क असुल्ने नीति लिएको उनीहरूको भनाइ छ। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा यस वर्ष १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन्।
यस्तै, परीक्षामा अनियमितता गरेको भन्दै बोर्डले ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ भने गम्भीर त्रुटि गर्ने दुई जना परीक्षार्थीलाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कडा कारबाही समेत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij