Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरका १८ खबरः सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी देखि न्युनतम ज्याला नदिनेमाथि कडा कारबाहीसम्म

आज दिनभरका १८ खबरः सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी देखि न्युनतम ज्याला नदिनेमाथि कडा कारबाहीसम्म


  • 1.5K
    Shares

    आज दिनभरका १८ खबरः सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी देखि  न्युनतम ज्याला नदिनेमाथि कडा कारबाहीसम्म
    images

    १. सरकारलाई दृष्टिबिहीनहरुको चेतावनीः सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ

    सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले  माईतीघरमा धर्ना दिएको छ । बुधवार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताउनु भयो । आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताउनु  भयो । सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाउनु भयो । आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माईतीघरमा आन्दोलन गर्न आएको बताउनु भयो । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाउनु भयो । 

    २. विपद् व्यवस्थापनमा ललितपुर महानगरको नयाँ फड्कोः ६२ लाख ६५ हजारमा भित्र्यायो  अत्याधुनिक क्रेन

    ललितपुर महानगरपालिकाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले महानगरको अग्नि नियन्त्रण क्षमतामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नभयो । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका क्षेत्रमा अग्रणी रहेको दाबी गर्नुभयो । नगर प्रमुख महर्जनकाअनुसार हालै एक साततले भवनमा लागेको आगो नियन्त्रणका क्रममा सिँढीबाट पाइप लैजानुपर्दा समय धेरै लागेको र नियन्त्रणमा कठिनाइ भएको थियो । यस्ता अग्ला भवनहरूमा हुने आगलागीलाई द्रुत गतिमा नियन्त्रण गर्न यो अत्याधुनिक क्रेन प्रभावकारी हुने उहाँले बताउनु भयो । महानगरले आफ्नो सेवा ललितपुर क्षेत्रमा मात्र सिमित नराखी छिमेकी जिल्ला र नगरहरूमा पनि विस्तार गर्दै आएको छ । 

    ३. रास्वपा महाधिवेशनः निर्वाचन आयोगद्वारा संशोधित चुनावी कार्यतालिका सार्वजनिक, आजै मतदान हुँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रिय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधनसहितको नयाँ तालिका सार्वजनिक गरेको छ । संशोधित तालिकाअनुसार बेलुकी ८ः३० बजेदेखि केन्द्रिय सदस्यहरू चयनका लागि पहिलो चरणको मतदान शुरु हुनेछ । संशोधित कार्यतालिकाअनुसार असार ९ गते नै पार्टी सभापति तथा केन्द्रिय सदस्य पदका उम्मेदवारहरूको मनोनयन फारम वितरण र दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । आज दिउँसो साढे ३ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगकाअनुसार बेलुका ६ः४५ बजेदेखि मौन अवधि शुरु हुनेछ । यस अवधिमा कुनैपनि प्रकारको प्रचारप्रसार वा प्रभाव पार्ने गतिविधि गर्न पाइनेछैन ।

    ४. मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ । यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने र करिव २ लाख २६ हजार विपद्को जोखिममा रहेको प्राधिकरणकी सूचना अधिकारी शान्ती महतले बताउनु भयो । यही असार ५ गते (शुक्रवार) कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझैपनि कोशी प्रदेशमै कमजोर अवस्थामा रहेको छ । मनसुन देशभर सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मनसुनजन्य विपद्बाट हुने क्षति न्युनिकरण तथा प्रतिकार्यको लागि आवश्यक पूर्वतयारी भइसकेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी शान्ति महतकाअनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ स्वीकृत गरी सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा कार्यान्वयनका लागि पठाइसकिएको छ । 

    ५. करातेकी एरिका र उसुका विजय एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी

    करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएकन छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट  पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् । काठमाडौंको ठमेलमा आयोजना भएको कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक, संघ तथा खेल पत्रकारलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो । उत्कृष्ट प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ सम्मानित भए । उत्कृष्ट संघको अवार्ड नेपाल कराते संघले जित्यो । युवा खेलाडीतर्फ महिला विधामा टेनिसकी सिभाली गुरुङ र पुरुषमा बक्सिङका नोर्बु थेन्डुप शेर्पा सम्मानित भए । पत्रकारिता क्षेत्रतर्फ उत्कृष्ट स्पोट्र्स जर्नालिस्ट (लेखन) अवार्ड अजय फुयालले हात पारे । फोटो पत्रकारको अवार्ड सुदर्शन रन्जितले प्राप्त गरे भने उत्कृष्ट अनलाइन पत्रकारको अवार्ड सरिता श्रेष्ठ पुरस्कृत भए । 

    ६. उपाध्यक्ष पौडेललाई बिना शर्त रिहा गर्न माग गर्दै एमालेले भन्यो–सरकार एमाले केन्द्रित भइ पूर्वाग्रही बनिरहेको छ, यो ठिक भएन

    प्रतिपक्ष दल नेकपा एमालेले सरकार एमाले केन्द्रित भइ पूर्वाग्रहपूर्ण ढंगले प्रश्तुत भएको निष्कर्ष निकालेको छ । मंगलवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव लेखराज भट्टले बताउनुभएको हो । उहाँकाअनुसार सरकार एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढंगले प्रश्ततु भएको छ । सरकारका यि गतिविधिहरु उचित होइनन् । उहाँले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी गैरकानूनी र प्रतिशोधमूलक एवं पूर्वाग्रही भएको एमालेले निष्कर्ष निकालेको बताउनु भयो । पार्टीको एक कार्यक्रममा सुर्खेतमा रहनुभएका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय नपर्ने पनि एमालेले बताएको छ । यस प्रकाकार सरकारका गतिविधि तत्काल बन्द गर्न र पार्टी उपाध्यक्ष पौडेललाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।  

    ७. इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

    अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो पहिलो पटक हो । यस कदमलाई ट्रम्प प्रशासनको युद्ध व्यवस्थापन पद्धतिप्रति बढ्दो राजनीतिक विरोधको सङ्केतका रूपमा हेरिएको छ । इरान सैन्य शक्ति नियन्त्रण सम्बन्धी उक्त प्रश्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । मतदानका क्रममा चार जना रिपब्लिकन सिनेटरहरूले विपक्षी डेमोक्र्याट सदस्यहरूलाई साथ दिएका थिए भने एक जना डेमोक्र्याट सदस्यले प्रश्तावको विपक्षमा मतदान गरेका थिए । कङ्ग्रेसको वेबसाइटमा प्रकाशित विधेयकको सारअनुसार यस प्रस्तावले युद्धको औपचारिक घोषणा वा सैन्य बल प्रयोगका लागि विशेष कानूनी अनुमति नभएसम्म राष्ट्रपतिलाई अमेरिकी सशस्त्र सेनालाई इरानविरुद्धका शत्रुतापूर्ण गतिविधिबाट फिर्ता बोलाउन निर्देशन दिन्छ । 

    ८. इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

    इरानी राष्ट्रपति मसूद पेजेस्कियान मंगलवार औपचारिक भ्रमणका लागि पाकिस्तान आइपग्नुभएको छ । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी पत्र पश्चात विकसित कुटनीतिक प्रयासहरूका सन्दर्भमा छलफल गर्न उहाँ पाकिस्तान जानुभएके हो । भ्रमणका क्रममा राष्ट्रपति पेजेस्कियान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका रहेको छ । उक्त भेटमा दुई नेताहरूले द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासक्रम र दुई देशबीचको सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन विचार विमर्श गर्ने बताइएको छ । छलफलपश्चात प्रधानमन्त्री सरिफ र राष्ट्रपति पेजेस्कियानले संयुक्त प्रेस ब्रिफिङमार्फत सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

    ९.एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी रूपमा एचआईभी÷एड्सको महामारीलाई अन्त्य गर्न र यस विरुद्धको लडाइँलाई तिब्रता दिन सुदृढ राजनीतिक प्रतिवद्धताको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत आयोजित एचआईभी÷एड्स सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । महासचिव गुटेरेसको तर्फबाट उक्त बैठकको उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले मन्तव्य प्रश्तुत गर्नुभएको थियो । सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले विगत ४५ वर्षमा एड्स विरुद्धको अभियानमा विश्वले असाधारण ऐक्यवद्धता र संकल्प प्रदर्शन गरेको उल्लेख गर्नुभयो । प्रश्तुत तथ्याङ्कअनुसार, सन् २००४ को उच्च बिन्दुको तुलनामा एड्ससँग सम्बन्धित मृत्युदर ७० प्रतिशतले घटेको छ भने सन् २०१० को तुलनामा ५४ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एचआईभी रोकथाम र उपचार सेवाहरूको विस्तारका कारण नयाँ संक्रमणको दरमा ४० प्रतिशतले ह्रास आएको छ ।

    १०. पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

    पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी र पाकिस्तानको औपचारिक भ्रमणमा रहेका इरानी राष्ट्रपति मसुद पेजेस्कियानले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ । मंगलवार भएको उच्चस्तरीय वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरूले क्षेत्रीय शान्ति र सुरक्षा, द्विपक्षीय तथा क्षेत्रीय कनेक्टिभिटी र आर्थिक सहयोग लगायतका विविध विषयमा गहन छलफल गरेको पाकिस्तानको राष्ट्रपति कार्यालयले जनाएको छ । इरानी राष्ट्रपतिको रूपमा पेजेस्कियानको पहिलो पाकिस्तान भ्रमणलाई स्वागत गर्दै राष्ट्रपति जरदारीले यस भ्रमणले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक र भ्रातृ सम्बन्धलाई प्रतिविम्बित गरेको बताउनु भयो । उहाँले चुनौतीपूर्ण र सुखद् दुवै समयमा दुई राष्ट्र एकसाथ उभिने दृढ संकल्प समेत व्यक्त गर्नुभयो । 

    ११. पाकिस्तानी सेना प्रमुख र इरानी राष्ट्रपतिबीच क्षेत्रीय शान्ति र सुरक्षाबारे छलफल

    पाकिस्तानका थल सेना प्रमुख जनरल सैयद असिम मुनिर र पाकिस्तान भ्रमणमा रहनुभएका इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच मंगलवार उच्चस्तरीय भेटवार्ता भएको छ । भेटघाटका क्रममा उनीहरूबीच क्षेत्रीय विकास तथा शान्ति र स्थिरता प्रवद्र्धनका लागि जारी प्रयासका विषयमा गहन छलफल भएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार दुवै पक्षले वर्तमान क्षेत्रीय परिस्थिति, तनाव न्यूनीकरणका पहल र वार्तालाई प्रोत्साहन गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । भेटका क्रममा राष्ट्रपति पेजेस्कियानले क्षेत्रीय तनाव कम गर्न र वार्ताको वातावरण निर्माण गर्न पाकिस्तानले निर्वाह गरेको रचनात्मक एवं जिम्मेवार भूमिकाको प्रशंसा गर्नुभयो । बढ्दो भू–राजनीतिक चुनौतीहरूका बीच विवादहरूको शान्तिपूर्ण समाधान र क्षेत्रीय सरोकारवालाहरूबीच समझदारी कायम गर्न इस्लामावादले गर्दै आएको निरन्तर प्रयासको उहाँले उच्च कदर गर्नुभयो ।

    १२. विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

    सिड्नीस्थित स्वतन्त्र थिङ्क ट्याङ्क लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको वार्षिक सर्वेक्षणअनुसार विश्वमञ्चमा जिम्मेवार ढंगले प्रश्तुत हुने मामिलामा अमेरिकाप्रति अस्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमा न्युन बिन्दुमा पुगेको छ । इन्स्टिच्युटले सार्वजनिक गरेको २० औँ वार्षिक सर्वेक्षण प्रतिवेदनकाअनुसार सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशतले विश्वव्यापी मञ्चमा अमेरिकाको भूमिकाप्रति ‘रत्तीभर विश्वास नभएको’ प्रतिक्रिया दिएका छन् । त्यसैगरी, ३० प्रतिशत सहभागीले अमेरिकाप्रति ‘धेरै विश्वास नभएको’ बताएका छन् । लोवी इन्स्टिच्युटले विगत दुई दशकदेखि गर्दै आएको यस वार्षिक सर्वेक्षणको इतिहासमै अमेरिकाप्रतिको यो सबैभन्दा न्यून स्तरको विश्वास हो । तथ्याङ्कअनुसार सन् २०२२ यता अमेरिकाप्रति अविश्वास गर्ने अस्ट्रेलियालीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

    १३. हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

    हंगेरीको गोडोलोमा मंगलवार सम्पन्न भिसेग्राद समूहका नेताहरूको शिखर सम्मेलनले क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने र युरोपेली संघसँग सम्बन्धित मामिलाहरूमा समन्वय प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । सम्मेलनमा हंगेरीका प्रधानमन्त्री पिटर माग्यर, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिसले भी–४ लाई अझ सशक्त बनाउने संकल्प दोहो¥याउनुभएको छ । नेताहरूले युरोपेली नीतिहरू निर्धारण गर्न र साझा क्षेत्रीय हितलाई प्रवद्र्धन गर्न यस समूहले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । हंगेरीका प्रधानमन्त्री माग्यरका अनुसार, युरोपेली परिषद्का बैठकहरू अगाडि नियमित परामर्श गर्ने र साझा चासोका विषयहरूमा एकीकृत धारणा बनाउने सहमति भएको छ । उहाँले चार राष्ट्रबीच केही मतभिन्नता भएपनि एकताका आधारहरू बढी सशक्त रहेको उल्लेख गर्दै व्यावहारिक सहयोगका लागि सबै पक्ष प्रतिबद्ध रहेको बताउनु भयो । 

    १४. रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल समेत गरिएन

    चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा मंगलवार उपसभापति डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको अर्थ–राजनीतिक प्रश्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति वाग्लेले प्रश्तुत गरेको पार्टीको अर्थराजनीतिक प्रश्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रश्तुत अर्थ–राजनीतिक दस्तावेजमाथि पर्याप्त छलफल नभएको बताउनु भयो । उहाँले संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने खालको प्रश्ताव आएको भन्दै केही प्रदेशका नागरिकले त्यसलाई स्वीकार गर्न नसकिने समेत बताउनु भयो । उहाँले उक्त अर्थराजनीतिक प्रश्तावले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको हितविपरित रहेको आरोप पनि लगाउनु भयो । 

    १५. न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव नहुने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय सम्वाद कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा प्रष्ट्याउनुभएको हो । न्यायाधीश फुयाँलले न्यायपालिकाको स्वतन्त्र कायम राख्नका लागि राज्यको समग्र औद्योगिक, व्यवसायिक र संस्थागत वातावरण पनि उत्तरदायी हुनुपर्ने स्मरण गराउनु भयो । उहाँले न्यायपालिका कमजोर भयो भने मुलुकमा लगानी र उत्पादन दुवै कमजोर हुने भएकाले ठूला उद्योगी वा उनीहरुका संस्थाहरुले न्यायपालिकालाई प्रभाव पार्न दिन नहुने कुरामा सचेत हुनुपर्ने बताउनु भयो । न्यायाधीश फुयाँलले अदालतलाई खतरा कार्यपालिका, न्यायपालिका र न्यायाधीशहरुबाट मात्रै नभई व्यवसायीहरुबाट पनि हुन सक्ने भन्दै त्यस क्षेत्रलाई सचेत गराउने काममा लाग्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण समेत गराउनु भयो ।

    १६. ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार

    ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराउनुभएको हो । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पार्नुभयो । चालु खर्च कर्मचारीको तलवलगायत वृद्धि भएका कारण बढन सक्ने उपमहानगरपालिकाको प्रक्षेपण छ । त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताउनु भयो । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो ।

    १७. सरकारले कुनैपनि व्यवसाय संचालन गर्दा मानव अधिकार हनन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर

    राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने काम सरकारको भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाईं सचेत गराउनु भयो । उहाँले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीहरुलाई पनि निर्देश गर्नु भयो । अध्यक्ष मगरले आयोगको मानव अधिकारको उल्लंघन गरेमा दोषीलाई कारबाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिने पनि गरिरहेको बताउनु भयो ।

    १८. सरकारको चेतावनीः श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कडा कारबाही हुन्छ

    सरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानूनी विपरित हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो । बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी सरकारले श्रमिकहरुको मापदण्ड नै बनाएर उनीहरुको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको स्पष्ट पार्नुभयो । शारिरीक र मानसिक रुपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आवद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफ्लेको भनाई थियो  । –न्युज एजेन्सी नेपाल

     

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - २०:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij