२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगर नजिकैको पार्किङ स्थलबाट हराएको पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ ।
२० हजार लिटर पेट्रोल बोकेको उक्त ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएपछि निगमले ढुवानीकर्तालाई कारबाही गर्दै दोब्बर रकम असुल गरेको छ ।
निगमको कोशी प्रादेशिक कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार, नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्कर ले असार ६ गते इन्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेको थियो ।
उक्त ट्याङ्कर असार ७ गते बिहान ८ बजे निगमको डिपोदेखि करिब ३०० मिटर दुरीमा रहेको कदमगाछीस्थित पार्किङमा आइपुगेको थियो । तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी निगमलाई गराएका थिए ।
खोजी कार्यलाई तीव्रता दिँदा निगमबाट करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो। भेटिँदा ट्याङ्कर को ताला काटिएको अवस्थामा थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij