२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलगायत अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउन मातहतका सबै ट्राफिक प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ।
कार्यालयले मंगलबार उपत्यकाका सबै ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोस्टहरूमा विशेष सर्कुलर पठाउँदै यस्तो निर्देशन दिएको हो। प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीद्वारा हस्ताक्षरित परिपत्र अनुसार अब ड्युटीमा रहेका कुनै पनि ट्राफिक प्रहरीले सेवाग्राहीसँग हात मिलाउन पाउने छैनन्।
सामाजिक सञ्जालमा आएका गुनासोका आधारमा निर्णयट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक र सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न आशंका र गुनासोहरू प्राप्त भइरहेका थिए।
कतिपय अवस्थामा हात मिलाउने बहानामा आर्थिक लेनदेन समेत हुने गरेको भन्दै नागरिक स्तरबाट आलोचना भएपछि प्रहरीले यो कदम चालेको हो। अब ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने उल्लेख छ। त्यसको सट्टा मर्यादित रूपमा टाढैबाट नमस्कार मात्र गरी सम्मान प्रकट गर्न र गराउन सबै इकाईहरूलाई निर्देशन दिइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij