२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका-५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीम किरण बोगटीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले घाइते महिलालाई उद्धार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो।
तर, उपचारकै क्रममा आज बिहान चिकित्सकले मुना कुमाललाई मृत घोषणा गरेका हुन्। घटनामा संलग्न आरोपी श्रीमान् यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यमबहादुरले मदिरा सेवन गरी श्रीमतीमाथि कुटपिट गरेको खुलेको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) विवेक घलेको कमाण्डमा विशेष टोली खटिएको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij