Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सहकारीको बचत फिर्ताका लागि काठमाडौंमा मात्रै ६ हजारले दिए निवेदन

सहकारीको बचत फिर्ताका लागि काठमाडौंमा मात्रै ६ हजारले दिए निवेदन


  • 1.2K
    Shares

    सहकारीको बचत फिर्ताका लागि काठमाडौंमा मात्रै ६ हजारले दिए निवेदन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले निवेदन गरेका छन्।    

    बचत फिर्ताका लागि निवेदकको सङ्ख्या बढ्दै जान थालेको सहकारी विभागले जानकारी दिएको छ। गत वैशाख १७ गतेदेखि रकम फिर्ताका लागि निवेदन दिन थालेका हुन्। विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० जनाले उजुरी गर्ने गरेको बताए। धेरै निवेदक साना बचतकर्ता रहेको काफ्लेले जानकारी दिए। 

    साना बचतकर्ताले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय काठमाडौं महानगरले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको  बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।  

    केही दिनअघि मात्रै महानगरले बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको छ। सहकारीले एक लाख ५० हजारसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको हो। 

    विभागका अनुसार आगामी एक महिनाभित्र पाँच लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ। साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिए। सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ।

    सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ। हाल काठमाडौं महानगरमा एक हजार ९१२ सहकारी रहेका छन्। जसमा ५० प्रतिशतले मात्रै नियमित रुपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेश गर्ने गरेका छन्। यसरी दर्ता भएका तर नियमित रुपमा साधारणसभा नगर्ने सहकारीलाई महानगरले कानुनी रुपमा कारबाही प्रक्रिया अघि बढाउने भएको छ। 

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १३:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij