Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरका २६ खबर

आज दिनभरका २६ खबर


  • 2.2K
    Shares

    आज दिनभरका २६ खबर
    images

    १. हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत कानून तथा मानव अधिकार सचिव पुष्कर सापकोटाले असंवद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनुभएको हो । सचिव सापकोटाकाअनुसार हाल प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित ३८ वटा निवेदनहरू कार्यान्वयनको प्रक्रियामा रहेका छन् । ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैँले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले अदालतसमक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभयो ।

    २. विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सिमित नराखी देशको भविष्य दिशा निर्देश गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । चितवनमा सञ्चालित पार्टीको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले विगतको उपलब्धिलाई प्रशंसामा मात्र सिमित नगरी परिणाममा बदल्नुपर्नेमा जोड दिनुभएको हो । सभापति लामिछानेले विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका व्यक्तिहरूको एकताबाट रास्वपा निर्माण भएको चर्चा गर्दै हिजोको जनलहरलाई अब वैज्ञानिकता र ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताउनु भयो । विश्व राजनीतिक इतिहासमा पहिलो महाधिवेशनअगावै सरकारमा सहभागी हुने अवसर पाउनु विरलै हुने घटना भएको उल्लेख गर्दै उहाँले अब पार्टीसामु दुईवटा विकल्प रहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार पहिलो विकल्प उपलब्धिलाई लिएर खुशी मनाउने मात्र हो भने दोस्रो विकल्प यसलाई सार्थक परिणाममा बदल्ने हो ।

    ३. ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा

    लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्राइभेट लिमिटेडले ललितपुरको जावलाखेलमा जर्मन प्रविधिका प्रसिद्ध घरायसी सामग्री (होम एप्लायन्सेस) को नयाँ ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ । एक विशेष समारोहका बीच उक्त स्टोरको औपचारिक उद्घाटन गरिएको हो । बिएसएच होम एप्लायन्सेस इण्डियाका प्रवन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सेफ खानले उक्त स्टोरको समुद्घाटन गर्नुभयो । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठकाअनुसार ग्राहकहरूलाई जर्मन प्रविधिको उच्च गुणस्तर र नवीनताको प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले यो अत्याधुनिक स्टोर डिजाइन गरिएको हो । जावलाखेलस्थित अल्का अस्पतालको विपरित दिशामा सञ्चालनमा ल्याइएको यस स्टोरमा ग्राहकहरूले बोस ब्राण्डका विभिन्न अत्याधुनिक घरायसी उपकरणहरूको अवलोकन तथा खरिद गर्न सक्नेछन् । यस नयाँ स्टोरमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा पु¥याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । 

    ४. नेकपा एमाले संसदीय दलको बैठक शुरु, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने

    प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीति तयार पार्ने कार्यसूची रहेको छ । संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठक समेत आह्वान गरिएको छ । 

    ५. डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित

    प्रविधिको द्रुत विकास र आधुनिक व्यावसायिक मोडेलका कारण विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ । यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ । जेनेभामा सम्पन्न आईएलओको ११४ औँ वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि (महासन्धि नम्बर १९३) भारी बहुमतले पारित गरेको हो । यस ऐतिहासिक महासन्धिको पक्षमा ४०६ सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र ८ मत परेको थियो र ३६ सदस्य मतदानमा तटस्थ रहेका थिए । सरकार, रोजगारदाता र कामदार प्रतिनिधिहरू सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोडौँ गिग कामदारहरूको सुरक्षाका लागि कोशेढुङ्गा मानिएको छ । 

    ६. चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण

    प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापा र इलाम क्षेत्रका ८३ भन्दा बढी चिया उद्योगहरू बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको बताउनुभएको हो । यसलाई राष्ट्रिय समस्याको रूपमा एमालेले चित्रण गरेको छ । उद्योगहरू बन्द हुँदा ६० हजारभन्दा बढी मजदुर बेरोजगार भएको र यसले राष्ट्रिय उत्पादन एवं निर्यातमा ठुलो धक्का पु¥याएको उहाँले बताउनु भयो । 

    ७. एमाले उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतमा उपस्थित, म्याद थपका लागि बहस जारी

    नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पती शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ । शंकास्पद सम्पती र शेयर कारोबारको अनुसन्धानका सिलसिलामा विभागले उनलाई अदालतमा पेश गरेको हो । सरकारी वकिलहरूले अनुसन्धानका लागि समय माग गरिरहँदा पौडेलका कानून व्यवसायीहरूले भने पक्राउ प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै बहस गरिरहेका छन् । विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमवार सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । उहाँलाई मंगलवार मात्रै काठमाडौं ल्याइपु¥याइएको हो । 

    ८. अमेरिका र इरानबीचको वार्ता सकारात्मक, ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य

    स्विजरल्याण्डको बुर्गेनस्टोकमा कतार र पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबीचको पहिलो चरणको वार्ता सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको छ । सोमबार कतार र पाकिस्तानद्वारा जारी एक संयुक्त विज्ञप्तिअनुसार वार्तामा उत्साहजनक प्रगति हुनुका साथै आगामी प्राविधिक छलफलका लागि आवश्यक संयन्त्र समेत तयार गरिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार मध्यस्थता प्रक्रियाको राजनीतिक सुपरीवेक्षण गर्न दुवै पक्ष एक उच्चस्तरीय समिति गठन गर्न सहमत भएका छन् । यस समितिमा मुख्य वार्ताकारहरूले नियमित रूपमा प्रतिवेदन पेश गर्नेछन्। समितिले परमाणु मुद्दा, प्रतिवन्धहरू, अनुगमन तथा विवाद समाधानका लागि कार्यदलहरूको नेतृत्व गर्नेछ, जसले इस्लामावाद समझदारी पत्रको कार्यान्वयन र अन्य द्विपक्षीय विषयहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

    ९.अमेरिका–इरान वार्तामा प्रगतिः ६० दिनभित्र अन्तिम सम्झौताको मार्गचित्र तयार

    पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले स्विट्जरल्याण्डको बुर्जेनस्टोकमा सम्पन्न अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सकारात्मक रहेको बताउनुभएको छ । इस्लामावाद समझदारी पत्रअन्तर्गत आयोजित उक्त पहिलो चरणको वार्ता सफल भएको र आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी एक मार्गचित्र (रोडम्याप) मा सहमति जुटेको उहाँले जानकारी दिनुभयो । सोमवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सरिफले वार्ता रचनात्मक वातावरणमा सम्पन्न भएको र यसले उत्साहजनक प्रगति हासिल गरेको उल्लेख गर्नुभयो । वार्ताका क्रममा राजनीतिक निगरानीका लागि एक उच्चस्तरीय समिति गठन गर्ने र थप प्राविधिक तहको वार्ताहरू अगाडि बढाउने निर्णय समेत भएको छ । 

    १०. अस्ट्रेलियामा हालसम्मकै ठूलो परिमाणको कोकिन बरामद

    अस्ट्रेलियाली अधिकारीहरूले सिड्नीको उत्तर–पश्चिम क्षेत्रबाट २.७ टन कोकिन बरामद गरेका छन् । यो अस्ट्रेलियाको इतिहासमै लागुऔषधको सबैभन्दा ठूलो बरामदगी भएको अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) ले सोमबार जानकारी दिएको छ । प्रहरीकाअनुसार गत शुक्रवार सिड्नीको केन्द्रिय भागबाट ५० किलोमिटर टाढा पर्ने लण्डनडेरीस्थित एक घरमा छापा मार्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला पारिएको हो । घरको पछाडि रहेका तीनवटा सिपिङ कन्टेनरको भुइँमुनि बनाइएका विशेष भूमिगत बङ्करहरूमा प्लास्टिकका क्रेटभित्र कोकिन लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब ८१ करोड ६० लाख अस्ट्रेलियन डलर (५७ करोड १३ लाख अमेरिकी डलर) रहेको अनुमान गरिएको छ । यस परिमाणको कोकिनबाट बजारमा करिब ३० लाख पटक बिक्री वितरण हुनसक्ने अधिकारीहरूले बताएका छन् । 

    ११. कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो

    प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसबाट संक्रमित हुनेहरूको संख्या १ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले आईतवार सार्वजनिक गरेको पछिल्लो महामारीसम्बन्धी प्रतिवेदनअनुसार संक्रमितको संख्यामा वृद्धि भएको हो । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १ हजार ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस प्रकोपका कारण २५४ जनाले ज्यान गुमाएका छन् भने मृत्युदर २५.३ प्रतिशत रहेको छ । हाल ३६५ जना बिरामीलाई आइसोलेसन वा अस्पतालमा राखेर उपचार भइरहेको छ भने संक्रमण पुष्टि भएकामध्ये १०० जना निको भएका छन् । प्रभावित तीन प्रान्तहरूमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट फलोअप) दर ५८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

    १२. गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु

    गाजा क्षेत्रमा सोमबार भएका छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक स्वास्थ्यकर्मी र एक उच्च माध्यमिक तहकी छात्राको मृत्यु भएको छ । प्यालेस्टिनी आधिकारिक स्रोतहरूका अनुसार यी आक्रमणहरू गाजाका विभिन्न स्थानमा भएका हुन् । प्रत्यक्षदर्शीहरूकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसस्थित अल–मावासी क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गरेको थियो । प्यालेस्टिनी चिकित्सा स्रोतले सिन्ह्वा समाचार समितिलाई दिएको जानकारी अनुसार उक्त प्रहारमा एक स्वास्थ्यकर्मी (प्यारामेडिक) को मृत्यु भएको छ भने अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन् । यसैगरी, गाजा शहरको पश्चिममा पर्ने अल–रिमाल क्षेत्रमा भएको अर्को हवाई आक्रमणमा एक १७ वर्षीया छात्राको ज्यान गएको छ ।

    १३. फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

    मध्य फिलिपिन्सको टक्लोबान सहरस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । स्थानीय प्रहरीले दिएको जानकारीअनुसार विद्यालयमा कक्षा सञ्चालन भइरहेको समयमा घटना घटेको हो । स्थानीय समयअनुसार बिहान करिव ९ बजे भएको उक्त आक्रमणका क्रममा कक्षाकोठाभित्रै गोली चलेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा गोलीको आवाज सुनिने बित्तिकै विद्यार्थी र शिक्षकहरू सुरक्षाका लागि डेस्कमुनि लुकेको र भागदौड मच्चिएको देखिन्छ । घटनालगत्तै पुगेका आपतकालीन उद्धारकर्मीहरूले घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पु¥याएका थिए । 

    १४. भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु

    भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित एक बहुतले भवनमा सोमवार भीषण आगलागी हुँदा विद्यार्थीसहित कैयौँ व्यक्तिको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीकाअनुसार आगलागी भएको उक्त भवनमा एक कोचिङ सेन्टर सञ्चालनमा थियो । आगलागी हुँदा विद्यार्थी कक्षामा अध्ययनरत रहेको बताइएको छ । ज्यान जोगाउनका लागि भवनको झ्यालबाट हामफाल्दा केही विद्यार्थीहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूले हालसम्म मृतकको आधिकारिक सङ्ख्या पुष्टि नगरे पनि केही सञ्चारमाध्यमहरूले घटनामा कम्तीमा १४ जनाको ज्यान गएको उल्लेख गरेका छन् । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री मोदीले घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको समेत जानकारी दिनुभएको छ ।

    १६ . भारतको तमिल नाडुमा अमोनिया ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना

    भारतको दक्षिणी राज्य तमिल नाडुस्थित एक समुन्द्री खाद्य (सीफुड) प्रशोधन केन्द्रमा अमोनिया ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ६७ जना अस्पताल भर्ना भएका छन् । आधिकारिक स्रोतकाअनुसार प्रशोधन केन्द्रबाट शुरु भएको अमोनिया ग्यासको चुहावट तिब्र रूपमा परिसरभरि फैलिएको थियो । सो समयमा उद्योगमा कार्यरत कामदारहरूले एक्कासि श्वासप्रश्वासमा कठिनाइ भएको महशुस गरेका थिए भने केहीको मुख र नाकबाट रगत समेत बगेको थियो । ग्यासबाट प्रभावित कामदारहरूलाई तत्काल उपचारका लागि नजिकैका निजी अस्पतालहरूमा लगिएको भएपनि उपचारका क्रममा सात जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै महिला कामदार रहेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

    १७. रुवाण्डामा दक्षिण–दक्षिण तथा त्रिकोणात्मक सहयोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु; विश्वव्यापी साझेदारीमा परिवर्तनको आह्वान

    रुवाण्डाको राजधानी किगालीमा सोमबारदेखि दक्षिण–दक्षिण तथा त्रिकोणात्मक सहयोग सम्बन्धी पहिलो सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन सत्रमा सहभागी नीति निर्माता, कूटनीतिज्ञ र विकास साझेदारहरूले विश्वव्यापी विकास साझेदारीको विद्यमान ढाँचामा आधारभूत परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै रुवाण्डाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री ओलिभर नदुहुङ्गिरहेले रुवाण्डा कोअपरेसन इनिसिएटिभमार्फत आफ्नो देशले विकासका क्रममा हासिल गरेका अनुभव, ज्ञान र प्राविधिक सहयोग साझेदार मुलुकहरूसँग साटासाट गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले किगालीलाई दक्षिण–दक्षिण र त्रिकोणात्मक सहयोगको यस्तो केन्द्र (हव) का रूपमा विकास गर्न खोजिएको बताउनु भयो, जहाँ सबै राष्ट्रहरूले समान हैसियतमा सहकार्य गर्नेछन् । 

    १८. हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी

    अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य हाल खुला रहेको र त्यहाँबाट कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानी सुचारु भएको बताउनुभएको छ । स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित अमेरिका–इरान वार्ताको पहिलो सत्रको समापनपछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति भेन्सले उक्त जानकारी दिनुभएको हो। । हर्मुज जलडमरूमध्यबाट इन्धनको प्रवाह सुचारु भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्यमा गिरावट आएको उहाँले उल्लेख गर्नुभयो । विश्वको कुल समुन्द्री तेल ढुवानीको करिव २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलडमरूमध्यमा गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेपछि तनाव बढेको थियो । त्यसपछि अमेरिकाले इरानतर्फ जाने र त्यहाँबाट आउने जहाजहरूमा समुन्द्री नाकाबन्दी लगाएको थियो भने इरानले पनि उक्त क्षेत्रमा आफ्नो नियन्त्रण कडा पारेको थियो । उपराष्ट्रपति भेन्सले इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई आफ्नो देशमा पुनः आमन्त्रण गर्न सहमति जनाएको समेत जानकारी दिनुभयो ।

    १९. मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानून बनाऔँः कोक्याप अध्यक्ष भुसाल

    शान्तिका लागि साझा अभियान (कोक्याप)का अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन निर्माण गरि कार्यन्वयन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । काठमाडौंमा सम्पन्न ‘मानव अधिकार रक्षक सम्बन्धी राष्ट्रिय सम्मेलनः संरक्षण, एकवद्धता र न्यायको सुदृढीकरण–समुदायदेखि नीति निर्माणसम्म’ कार्यक्रममा सहभागी मानव अधिकार रक्षकहरूको तर्फबाट जारी गरिएको १० बुँदे ‘काठमाडौं घोषणापत्र २०२६’ सार्वजनिक गर्दै अध्यक्ष भुसालले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मानव अधिकार रक्षकहरूको पहिचान र सुरक्षासम्बन्धी एकीकृत कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनु भयो । मानव अधिकार रक्षकहरू अझै पनि विभिन्न प्रकारका जोखिम, धम्की, दुव्र्यवहार र हिंसाको छायामा काम गर्न बाध्य रहेको उहाँको भनाई छ ।

    २०. विष्णु पौडेलको पक्राउ गैरकानूनी रहेको एमालेको निष्कर्ष, बिना शर्त रिहा गर्न माग

    नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको आपत्ति जनाएको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रतिनिधि सभा सदंसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो । उहाँले पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरित रहेको निष्कर्ष समेत पार्टीले निकालेको बताउनु भयो । उहाँकाअनुसार बैठकले उपाध्यक्ष पौडेलललाई तत्काल रिहा गर्न माग गरेको छ ।
    उहाँले भन्नुभयो, ‘हिजोमात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले प्रक्राउ पर्नुभएका नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पिएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ । 

    २१. सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने

    नेकपा (एमाले)ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसदमा सशक्त ढंगले प्रश्तुत हुने निर्णय गरेको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ । उहाँले सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप  पनि लगाउनु भयो ।
    उहाँले भन्नुभयो, ‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ । सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । यसले विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ । सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ, सुखि नेपाली समृद्ध नेपालको विरुद्धमा छ ।

    २२. आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल

    सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना तय गरेको छ । शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि पनि सरकारले उक्त ऐन आगामी आर्थिक वर्षभित्र संसदबाट पारित गराउने कार्ययोजना तय गरी शिक्षा तथा खेलकुद मन्त्रालय अघि बढेको बताउनुभएको हो । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले उक्त ऐन संसदबाट पारित नभएको कारण विद्यालय शिक्षामा देखिएका विकृति, विसंगतिको अन्त्य गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो । सचिव पौडेलले विद्यालय तहमा देखिएको शिक्षकहरुको दरबन्दीको समस्या पनि उक्त ऐन आएपछि स्वतह हल भएर जाने जिकिर गर्नुभयो ।

    २३. मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

    सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनुभएको हो । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढी आकर्षण भएकाले उनीहरुका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनु भयो ।

    २४. सरकारले मुलुकको शिक्षा क्षेत्रलाई पनि अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरुको आरोप

    राष्ट्रिय सभाका सांसदहरुले सरकारले शिक्षा क्षेत्रलाई पनि बेहाल बनाएको टिप्पणी गरेका छन् । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभामा रहेको विपक्ष दलहरु नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिना, नेकपा (एमाले) की सांसद सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले शिक्षा क्षेत्रलाई समेत अस्तव्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउनुभएको हो । नेपाली काँग्रेसका सांसद तिमिल्सिनाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाउनु भयो । उहाँले सरकारका गतिविधि भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत जलाउने जस्तो भएको दाबी गर्नुभयो । सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरुको पदाधिकारी हटाउने काम गरेर गम्भिर गल्ती गरेको सांसद तिमिल्सिनाको भनाई थियो ।

    २५. सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर

    जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरु खुशी भएको पनि सांसद ठाकुरको जिकिर थियो । उहाँले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताउनु भयो । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई थियो ।

    ६. एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक शुरु

    नेकपा (एमाले) को सचिवालय बैठक मंगलवार साँझदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुरु भएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीति तय गर्न बैठक केन्द्रित रहेको बताइएको छ । यसअघि मंगलवार नै पार्टी मुख्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले उपाध्यक्ष पौडेलको पक्राउलाई सरकारको अपमानजनक कार्य भन्दै आपत्ति जनाएको छ । पार्टीका प्रमुख सचेतक ऐनबहादुर महरकाअनुसार संसदीय दलले यस गिरफ्तारीलाई गैरन्यायिक र विधिको शासनविपरीत ठहर गरेको छ । एमालेले उपाध्यक्ष पौडेललाई विना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । जारी सचिवालय बैठकले संसदीय दलको निष्कर्ष र वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको आधिकारिक धारणा र भावी योजनाहरू तय गर्नेछ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - २०:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij