२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्ने कि बाहिरै राख्ने भन्ने विषयमा अदालतमा तीव्र बहस भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन मंगलबार अदालतसमक्ष २० दिनको म्याद थप गर्न अनुमति मागेको छ।
अदालतमा म्याद थप गर्ने विषयमा भएको बहसका क्रममा पौडेलको पक्षबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालले पैरवी गरेका थिए। बहस गर्दै वरिष्ठ अधिवक्ता बडालले पौडेललाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका छन्।
वरिष्ठ अधिवक्ता बडालले पौडेल पूर्वनिर्धारित दलीय कार्यक्रममा व्यस्त रहिरहेको अवस्थामा एक्कासि किन पक्राउ गरियो भन्दै प्रश्नसमेत उठाएका छन्। पौडेल भागेर जाने अवस्था कत्ति पनि नरहेको जिकिर गर्दै उनले तत्काल जरुरी पक्राउ पुर्जी जारी गरेर थुनामा राख्नु उचित नभएको तर्क गरेका छन्। बहसका क्रममा उनले भने, ‘उहाँ पार्टीको सेड्युलअनुसार कार्यक्रममा रहिरहेको अवस्थामा तत्काल पक्राउ किन गरियो ? उहाँलाई बोलाएको भए आज आफैँ यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँलाई थुनामा नराखी बाहिरै राखेर अनुसन्धान होस्।’
सोमबार सुर्खेतको एक दलीय कार्यक्रम स्थलबाट पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो। विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतमाथि शङ्कास्पद देखिएको भन्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij