२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन सत्र सकिएसँगै महाधिवेशन प्रतिनिधिहरूमा नयाँ नेतृत्वबारे चर्चा हुन थालेको छ ।
महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि बन्द सत्र सुरु हुन ढिलाइ हुँदा विभिन्न प्रतिवेदन र प्रस्तावहरू हलमा पेस हुन सकेका छैनन् ।
सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र (बालेन) शाह निर्विरोध हुने भए पनि अन्य पदहरुमा निर्वाचन हुने देखिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको सिमित पदमा आकांक्षी धेरै भएकाले कुन कुन पदमा निर्वाचन हुन्छ भन्ने अझै एकिन भएको छैन ।
रास्वपाले १९ सदस्यीय पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकरएक रहने व्यवस्था छ । सचिवालय ३३ सदस्यीय हुने भएको छ ।
सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था विधानमा छ । केन्द्रीय समितिका लागि १०० जना निर्वाचनका माध्यमबाट आउने व्यवस्था छ । १०० जनामा ६४ जनाको निर्वाचन हुनेछ भने तीमध्ये ३५ जना प्रदेशबाट आउँछ्न् ।
रास्वपा श्रोतका अनुसार सहमति नभए दुई महामन्त्रीका लागि झन्डै एक दर्जन नेताहरूले महामन्त्री पदमा आकाङ्क्षा राखेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । त्यसमध्ये हाल महामन्त्री रहेका कवीन्द्र बुर्लाकोटी र भुपदेव शाहसहित मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारी लगायतले महामन्त्रीमा आकाङ्क्षा देखाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij