२०८३ आश्विन १ गते बिहिवार
१. रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस्
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र प्राप्तिका लागि भएका विगतका संघर्ष र शहीदहरूको बलिदानलाई नजरअन्दाज नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गर्नुभएको छ । चितवनमा आयोजित रास्वपाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको उदय र उत्साहलाई सकारात्मक रूपमा लिँदै महामन्त्री थापाले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य र पञ्चायतकालीन संघर्षका कथाहरूलाई अवमूल्यन नगर्न सुझाव दिनुभयो । सभापति थापाले विगतका कमीकमजोरीबाट सिक्दै र सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनैपनि राजनीतिक दलको वास्तविक शत्रु अर्को दल नभई गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको उल्लेख गर्नुभयो । वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षा गर्दै जनताको अवस्था बदल्न सबै दलहरू जिम्मेवार हुनुपर्ने उहाँको तर्क थियो ।
२. रास्वपाको महाधिवेशनमा राप्रपा अध्यक्ष लिङदेन सहभागी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएको छ ।चितवनमा आयोजित महाधिवेशनमा जाने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुर गर्दै अध्यक्ष लिङदेनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिने विषयलाई स्वाभाविक र सुखद् परम्परा भएको बताउनु भयो । अध्यक्ष लिङदेनले गत फागुनमा सम्पन्न निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरेको र जनताको विशिष्ट चाहनाको प्रतिनिधित्व गर्ने पार्टीको ऐतिहासिक महाधिवेशनमा सहभागी हुनु एक जिम्मेवार राजनीतिक नेताको कर्तव्य भएको बताउनु भयो । उहाँले रास्वपाको यस अवसरमा आफ्नो उपस्थिति राजनीतिक संस्कार र जिम्मेवारीवोधको प्रतिक भएको समेत उल्लेख गर्नुभयो ।
३. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साह चितवनमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र साह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आईतवार चितवन पुग्नुभएको छ । असार ७ गते (आज) देखि चितवनमा शुरु हुन लागेको रास्वपाको ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साह चितवन जानुभएको हो । चितवनमा आजदेखि शुरु हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र प्रधानमन्त्रीको आगमनसँगै पार्टीका अन्य शिर्ष नेता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र नीतिगत संरचनाको समेत फैसला गर्नेछ । –न्युज एजेन्सी नेपाल
४. राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
वागमती प्रदेशकी दिक्षा राईले काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आईतवारदेखि भएको प्रतियोगिताको महिला ५४ देखि ५७ केजी तौलसमूहमा दिक्षा फाइनलमा पुगेकी हुन् । सेमिफाइनलमा उनले कोशी प्रदेशकी प्रविना राईलाई हराइन् । कुल तीन राउण्डको प्रतिष्पर्धामा प्रविनाले चुनौती दिने प्रयास गरे पनि सफल भइनन् । एक राउण्डमा दुई मिनेटको प्रतिष्पर्धा भएको थियो । दिक्षाले अब फाइनलमा गण्डकी निशा थापालाई चुनौती दिनेछिन् । पराजित भएकी प्रविना तेस्रो भइन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्पm ५७ देखि ६० केजी तौलसमूहमा लुम्बिनी प्रदेशका प्रलाद मल्ल, गण्डकी प्रदेशका विश्वास पौडेल, कोशी प्रदेशका दीपेश राई र गण्डकी प्रदेशका एवोन बास्तोलाले सेमिफाइनलमा स्थान बनाएका छन् । दीपेशले वागमती प्रदेशका सुमितकुमार गैरेलाई र विश्वासले लुम्बिनी सम्राट केसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रल्हाद र एवोनले बाई पाएका हुन् । पुरुष ५१ देखि ५४ केजी तौलसमूहमा कोशीका सञ्जीव राई र गण्डकीका दीप्सन खत्री फाइनलमा पुगेका छन् । सेमिफाइनलमा कोशीका सञ्जीवले वागमतीका आकृष पोडीलाई र दीपसनले वागमतीका याङ्गु तामाङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । ५४ देखि ५७ केजी तौलसमूहमा सुमिन जिसी स्वर्ण पदकका लागि स्थान बनाए । सुमिनले वागमतीका अपूर्व राईलाई हराए । ४८ देखि ५१ केजी तौलसमूहमा वागमतीका मन्दीप क्षेत्री र गण्डकीका रोहन भण्डारीले स्वर्णका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।
५. योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताउनुभएको छ ।‘अन्तर्राष्ट्रिय योग दिवस’ का अवसरमा पोखरामा भारतीय राजदुतावासद्वारा आयोजित विशेष योग शिविरमा सहभागी हुँदै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न दैनिक योग र ध्यान अनिवार्य रहेको उल्लेख गर्नुभयो । नेपालको भौगोलिक विशिष्टता र ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले हिमालयको फेदमा ऋषिमुनिहरूले तपस्या गरी योगको परम्परालाई अगाडि बढाएकाले नेपाल योगका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनु भयो । उहाँले पोखरालाई योग गन्तव्यका रूपमा प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको समेत जानकारी दिनुभयो । उक्त अवसरमा उहाँले विगत तीन वर्षदेखि पोखरामा नियमित रूपमा योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदुतावासप्रति आभार व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले नेपाल र भारतबीचको परापूर्वकालदेखिको जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने उहाँको विश्वास छ ।
६. भारतलाई प्रधानमन्त्री साहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनुभएको छ । आईतवार चितवनमा पार्टीको प्रथम महाधिवशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो । सोही मन्तव्यको स्पष्टीकरण प्रधानमन्त्री साहले पार्टीको महाधिवेशन उद्घाटन गर्दै दिनुभएको हो । उहाँले कालापानी र लिपुलेक लगायतका क्षेत्रका विषयमा छिमेकी मुलुकसँग तथ्यपरक संवाद गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री साहले सीमाको विषय उठाउँदा अन्य देशले आपत्ति जनाउनु स्वाभाविक भएपनि नेपालले प्रमाणकै आधारमा आफ्नो अडान राख्ने बताउनु भयो । प्रधानमन्त्री साहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत प्रस्ट पार्नुभयो । नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने उहाँको भनाइ छ । आफ्नो राष्ट्रियता र देशप्रतिको निष्ठामा कसैले पनि आशङ्का गर्न नपर्ने उल्लेख गर्नुभयो ।
७. पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । आईतवार पर्यटकीय नगरी पोखरामा भारतीय दुतावासको आयोजनामा विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्वलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई दक्ष योग प्रशिक्षकहरूद्वारा विभिन्न योगासन, प्राणायाम र ध्यानका विधिहरूका बारेमा अभ्यास गराइएको थियो । काठमाडौंस्थित भारतीय दुतावासले हरेक वर्ष नेपालका विभिन्न शहरहरूमा योग दिवसको अवसरमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पोखरामा आयोजित यस विशेष सत्रले योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । विश्वभर जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिए पनि यसको पूर्वसन्ध्या र साताव्यापी कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा योग शिविर र चेतनामूलक कार्यक्रमहरू भइरहेका छन् । पोखरामा सम्पन्न यस कार्यक्रमले नेपाल र भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्ध र योगको साझा विरासतलाई थप मजबुत बनाएको बताइएको छ ।
८. गुटबन्दी त्यागेर जनताको विश्वास जित्न वरिष्ठ नेता साहको आग्रह, सुकुम्वासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने घोषणा
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले राजनीतिमा स्थापित हुन कुनै समूह वा गुटको फेरो समात्नुको सट्टा जनताको आस्था र विश्वास जित्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले परम्परागत राजनीतिक संस्कारको आडमा हुने गुटबन्दीको कडा आलोचना गर्नुभयो । सम्बोधनका क्रममा नेता शाहले पार्टीभित्र मौलाउन सक्ने गुट र उपगुटको संस्कृतितर्फ सचेत गराउनु भयो । उहाँले नयाँ पार्टी भएकाले पुराना दलका खराब आचरणबाट सिकेर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री साहले सरकारको प्राथमिकताका बारेमा स्पष्ट पार्दै सुशासन कायम गर्नु र सुकुम्वासी तथा सहकारी क्षेत्रका विद्यमान समस्या समाधान गर्नु नै मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो । पार्टीको एकल सरकार रहेकाले सरकार र संगठनबीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा उहाँको विशेष जोड थियो । उहाँले पार्टीका हरेक तहका नेता, कार्यकर्ता र शुभचिन्तकलाई सरकारको अभिन्न अङ्ग महसुस गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा पद प्राप्त नभए पनि निराश नहुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “राम्रो राजनीतिज्ञ बन्न जनताको माया र भरोसा चाहिन्छ, कुनै समूहको छहारी होइन। भविष्यमा रुख बनेर काट्नुपर्ने गरी गुटबन्दीको बीजारोपण अहिले नै नगरौँ । हामीले सुशासन र सुकुम्वासी समस्या समाधानको जुन एजेण्डा बोकेका छौँ, ती यही कार्यकालभित्रै सम्पन्न गर्नेछौँ । आगामी निर्वाचनमा हामी पुरानै एजेण्डा लिएर होइन, नयाँ कार्यसूचीका साथ जनतामाझ जानेछौँ । हाम्रो एकल पार्टीको सरकार हो, यहाँ हरेक कार्यकर्ता र सांसद प्रधानमन्त्री सरह हुन्। निर्वाचनमा पराजित हुनुभएका साथीहरूले पनि आफूसँग भएका योजना र सुझावहरू पार्टीमार्फत सरकारलाई दिन सक्नुहुनेछ ।’
९.अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहले सरकारी सम्पतीको दोहन र भ्रष्टाचार गर्नेहरूविरुद्धको बारहीमा अख्तियारलाई आवश्यक परे पाँच वर्ष नै सोधपुछ गरिने चेतावनी दिनुभएको छ । आईतवार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री कार्यालय बोलाएर पाँच घण्टासम्म अख्तियारका कर्मचारीलाई थुनेर राखेको भन्दै समाचार प्रकाशित भएको थियो । सोही समाचारप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । कसैसँग निहुँ नखोज्ने तर विगतमा भएका सरकारी सम्पतीको दोहन भ्रष्टाचारमा भने निहुँ खोजेरै भएपनि कारबाही गर्ने चेतावनी दिनुभयो । आफूहरुले कुनै नियम, कानून नमिच्ने भन्दै नियममै बसेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
१०. अमेरिका–इरान समझदारी सम्बन्धी प्राविधिक वार्तामा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्री स्वीजरल्याण्ड प्रस्थान
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी पत्र (एमओयू) को फलोअपका रूपमा आयोजना हुन लागेको प्राविधिक तहको वार्तामा सहभागी हुन आइतबार बिहान स्वीजरल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शरीफका साथै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर समेत स्वीजरल्याण्डको बुर्जेनस्टोकमा आयोजना हुने उक्त वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ । जुन २१ का लागि तय गरिएको सो वार्ताका लागि प्रधानमन्त्रीको साथमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल समेत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
११. अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि
अस्ट्रेलिया सरकारले देशको मुख्य भूमिमा पहिलोपटक अति सङ्क्रामक मानिने एच फाइभ एन वान प्रजातिको बर्डफ्लु फेला परेको पुष्टि गरेको छ । पश्चिमी अस्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा भेटिएको फिरन्ते चरामा सो भाइरस पुष्टि भएको हो । अस्ट्रेलियाकी कृषि, मत्स्यपालन तथा वन मन्त्री जुली कोलिन्सले शनिवार क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै अस्ट्रेलियन सेन्टर फर डिजिज प्रिपर्डनेसको परीक्षणले उक्त तथ्य पुष्टि गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत जुन १४ मा दक्षिणी पश्चिमी अस्ट्रेलियाको राष्ट्रिय निकुञ्जमा मृत फेला परेको ब्राउन स्कुआ नामक समुन्द्री चरामा सो भाइरस भेटिएको थियो । सन् २०२० देखि विश्वभर फैलिएको र लाखौँको सङ्ख्यामा चराचुरुङ्गी तथा अन्य जनावरहरूको मृत्युको कारण बनेको यो घातक भाइरस अस्ट्रेलियाको मुख्य भूमिमा देखिएको यो पहिलो घटना हो । सङ्क्रमण पुष्टि भएसँगै अस्ट्रेलिया सरकारले सम्भावित महामारीको पूर्वतयारीका लागि ११ करोड ३० लाख अस्ट्रेलियन डलर (करिव ७ करोड ९२ लाख अमेरिकी डलर) बजेट विनियोजन गरेको छ ।
१२. इजिप्टमा ५ हजार वर्ष पुराना अद्वितीय वास्तुकलाका दुई चिहान फेला
इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले राजधानी कायरोको दक्षिणमा पर्ने मिन्या प्रान्तमा करिब ५ हजार वर्ष पुराना दुईवटा ऐतिहासिक चिहान फेला परेको जनाएको छ । प्रारम्भिक तौलिक काल (३१०० ईसापूर्व देखि २६८६ ईसापूर्व) का यी चिहानहरू एक पुरातात्विक मिसनका क्रममा उत्खनन गरिएका हुन् । इजिप्टको सर्वोच्च पुरातत्व परिषद्का महासचिव हिशाम एलैथीकाअनुसार पहिलो चिहान यसको विशिष्ट ज्यामितीय डिजाइनका कारण अत्यन्तै दुर्लभ वास्तुशिल्पको नमूना मानिएको छ । दोस्रो चिहान पनि पहिलो जस्तै संरचनामा रहे तापनि यो निकै राम्रो र सुरक्षित अवस्थामा पाइएको छ । इजिप्टको पुरातत्व विभागका प्रमुख मोहम्मद अब्देल बदीले फेला परेका चिहानहरूको प्राविधिक पक्षबारे जानकारी दिँदै पहिलो चिहानको पर्खालको मोटाइ आधारदेखि माथिल्लो भागसम्म विस्तारै घट्दै गएको बताए । यो विशेष इन्जिनियरिङ अवधारणाले प्राचीन इजिप्टमा स्टेप पिरामिड र पछि पूर्ण पिरामिड निर्माणको प्रारम्भिक चरणलाई प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।
१३. गाजा शहरमा इजरायली हवाई आक्रमण, दुई बालिकासहित ५ जनाको मृत्यु
गाजा शहरको मध्य र उत्तरी क्षेत्रमा शनिवार इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा परी दुई बालिकासहित पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बसलका अनुसार इजरायली सेनाले एक आवासीय अपार्टमेन्ट र सर्वसाधारणको समूहलाई लक्षित गरी सो हमला गरेको हो । हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम शुरु भए यता गाजामा हालसम्म १ हजार १२ जनाको मृत्यु भएको छ भने ३ हजार २०८ जना घाइते भएका छन् । यसैगरी, मानवीय सहायताको अवस्थाबारे जानकारी दिँदै उक्त कार्यालयले इजरायली सेनाले हालसम्म सहायता सामग्री बोकेका १ लाख ५० हजार ६ सय ट्रकहरूमध्ये ५४ हजार २३ वटालाई मात्र गाजा प्रवेशको अनुमति दिएको जनाएको छ । त्यस्तै, सीमा पार गर्न अनुमति पर्खिरहेका २० हजार ६ सय व्यक्तिमध्ये हालसम्म ७ हजार ४ सय १७ जनाले मात्र अनुमति पाएको उल्लेख गरिएको छ ।
१४. पाकिस्तानको खैबर पख्तुनख्वामा दुईवटा बम विष्फोटः सात जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा दुईवटा निजी सवारी साधनलाई लक्षित गरी गरिएका दुई क्रमिक विष्फोटमा परी सात जनाको मृत्यु भएको छ । प्रहरी स्रोतकाअनुसार उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् । पहिलो विष्फोट खैबर पख्तुनख्वाको बन्नु जिल्लामा स्थानीय समयअनुसार बिहान ५ः२० बजे भएको थियो । दुर्गम क्षेत्रमा रिमोट कन्ट्रोलमार्फत एउटा सवारी साधनलाई लक्षित गरी विष्फोट गराइएको प्रहरीले जनाएको छ । पहिलो विष्फोटका घाइतेहरूलाई उद्धार गरी अस्पताल लैजाने क्रममा करिब एक किलोमिटरको दूरीमा दोस्रो विष्फोट भएको थियो । घटनालगत्तै उद्धार टोलीले मृतकको शव र घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याएका थिए । सुरक्षा बल र कानुन कार्यान्वयन गर्ने निकायहरूले उक्त क्षेत्रलाई घेरा हाली प्रमाण संकलन गर्नुका साथै अनुसन्धान शुरु गरेका छन् । स्रोतकाअनुसार मृतक र घाइते सबै स्थानीय हात्ती खेल जनजातिका सदस्य हुन् । यस जनजातिका सदस्यहरू प्रतिबन्धित आतंककारी समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को प्रभावलाई कम गर्न गठित स्थानीय शान्ति समितिमा आबद्ध रहेका थिए ।
१५. हर्मूज जलसन्धिको वर्तमान अवस्थाः ठूला जहाजको संख्यामा कमी र इरान–अमेरिकाबीच विरोधाभासपूर्ण दाबी
विश्वकै प्रमुख व्यापारिक जलमार्गहरूमध्येको एक, हर्मूज जलसन्धिको पछिल्लो अवस्थामा परिवर्तन देखिएको छ । ओमानको खसाब क्षेत्रबाट प्राप्त रिपोर्टिङकाअनुसार एक महिना अघिको तुलनामा हाल यस क्षेत्रमा ठूला मालवाहक जहाजहरूको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो महिना क्षेत्रीय तनावका कारण यस क्षेत्रमा धेरै संख्यामा ठूला र साना जहाजहरू रोकिएका थिए । तर हाल अधिकांश ठूला जहाजहरू त्यहाँबाट प्रस्थान गरिसकेका छन् र अहिले मुख्यतया साना डुङ्गाहरू मात्र देखिएका छन् । यसैबीच, इरानले शनिबार हर्मूज जलसन्धि बन्द गर्ने औपचारिक घोषणा गरेको छ । अमेरिकाले शान्ति सम्झौता उल्लंघन गरेको र इजरायलले दक्षिण लेबनानमा युद्धविरामको सर्तहरू मिचेको आरोप लगाउँदै इरानले उक्त जलमार्ग बन्द गर्ने निर्णय लिएको हो । तर अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानको दाबीलाई अस्वीकार गर्दै हर्मूज जलसन्धि अझै खुला रहेको जनाएको छ । अमेरिकाकाअनुसार उक्त जलमार्ग भएर व्यावसायिक जहाजहरूको आवतजावतमा झन् वृद्धि भइरहेको छ । यसरी सामरिक र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने हर्मूज जलसन्धिको सञ्चालनलाई लिएर इरान र अमेरिकाबीच विरोधाभासपूर्ण दाबीहरू सार्वजनिक भइरहेका छन् ।
१६. नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनुभएको छ । आईतवार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । १९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जङ्गबहादुर राणाले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको उहाँको भनाई छ । दक्षिण एशियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उहाँले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जङ्गबहादुर राणालाई दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार जङ्गबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभएको थियो । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनु भयो । नेपाल–ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कुटनीतिक स्थिरतामा समेत ठूलो भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु उहाँको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धि भएको बताउनु भयो । उहाँले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवद्र्धनसँग समेत जोडिएको बताउनु भयो । राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उहाँको भनाइ थियो ।
१७. मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग
शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आईतवार कोक्यापले आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प भुसालले उक्त माग गर्नुभएको हो । उहाँले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन तथा मानव अधिकार संरक्षणमा महत्वपूर्ण र साहसिक भूमिका निर्वाह गरिरहेको बताउनु भयो । मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नु राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी भएको उहाँको भनाई छ । भुसालले मानव अधिकार रक्षक संरक्षण नीति हालसम्म स्वीकृत हुन नसकेको बताउँदै तत्काल स्वीकृत गरी कार्यन्वयनमा ल्याउन पनि माग गर्नुभयो । उक्त नीति देशभर विभिन्न क्षेत्र, भूगोल र समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षणका लागि अत्यन्त महत्वपूर्ण आधार रहेको उहाँको भनाई छ । न्यायप्रतिको प्रतिवद्धताका बाबजुद मानव अधिकार रक्षकहरू अझै पनि जोखिम, उत्पीडन, प्रणालीगत धम्की तथा कतिपय अवस्थामा भौतिक हिंसाको छायाँमा काम गर्न बाध्य रहेको उहाँले बताउनु भयो । डर, त्रास र हस्तक्षेपविहीन वातावरणमा स्वतन्त्र रूपमा मानव अधिकारको रक्षा गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको मानव अधिकार रक्षकको संरक्षण, सुरक्षा र पहिचान सम्मान सम्बन्धी नमुना कानुनलाई छिटो स्वीकृत गरी कार्यान्वयनमा ल्याउन पनि आग्रह गर्नुभयो ।
१८. साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङ र व्यक्तिगत आक्रमणका कारण मानवअधिकारसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धान गर्न डराउनुपर्ने स्थिति आएको बताउनुभएको छ । आईतवार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनको घटनामा आयोगले निष्पक्ष र तथ्यको आधारमा प्रतिवेदन तयार पारेपनि विभिन्न आरोपहरु लाग्ने गरेको गुनासो गर्नुभयो । आयोगले देखेका र अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई कुनै पूर्वाग्रहबिना प्रतिवेदन सार्वजानिक गरेको उहाँको भनाई छ । तर त्यसपछि सामाजिक सञ्जालमा आफूविरुद्ध अपमानजनक टिप्पणी, गालीगलौज र चरित्रहत्या गर्ने प्रयास बढेको उहाँको गुनासो छ । आयोगका पदाधिकारी, सञ्चारकर्मी तथा अनुसन्धानमा संलग्न व्यक्तिहरू निरन्तर साइबर आक्रमणको निशानामा परिरहेको उल्लेख गर्दै उहाँले यसले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण खुम्चिँदै गएको बताउनु भयो । उहाँले नागरिक समाजको भुमिकाप्रति पनि प्रश्न उठाउँदै साइबर बुलिङका घटनामा नागरिक समाज मौन बसेको आरोप लगाउनु भयो । उहाँले जेन–जी आन्दोलनको घटनामा छानविन गर्नुपर्नेहरु नै हाल निति निर्माणको तहमा पुगेको उल्लेख गर्नुभयो । द्वन्द्वकालीन घटनाहरूको उदाहरण दिँदै उहाँले छानविनको दायरामा ल्याउनुपर्ने व्यक्तिहरु नै नीतिनिर्माण तहमा पुगेका कारण धेरै मुद्दा आजसम्म टुंगोमा पुग्न नसकेको बताउनु भयो । जेन–जी घटनाको अनुसन्धान पनि त्यही नियतिमा पुग्ने आशंका व्यक्त गर्नुभयो ।
१९. सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छ–डा. लिली थापा
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले अनाधिकृत मान्छेहरु गएर वीरगञ्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप लगाउनुभएको छ । आईतवार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा उहाँले गृह मन्त्रालयबाट आएको भन्दै अनाधिकृत मान्छेहरुले सडक भत्काएको बताउनुभएको हो । पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई सडक विस्तारका लागि संरचना भत्काइएको उहाँको भनाई छ । थापाका अनुसार सडक विस्तारका क्रममा बैंक ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका सर्वसाधारणलाई आफ्नो पसल तथा सामान समेत सार्न समेत नदिएको उहाँले बताउनु भयो ।
२०. काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पार्टीभित्र देखिएका विवादहरु सुल्झाउन सुभाव दिनुभएको छ । चितवनको भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले काँग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा नमिले मुलुकलाई पनि अप्ठ्यारो पर्नसक्ने बताउनु भयो । काँग्रेस र एमालेभत्रिका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने उहाँको भनाइ छ ।
२१. नेपाल–भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता खोजेका छैनौँः प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पार्नुभएको छ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यक परे ब्रिटिस शासनकालका प्रमाण जुटाउने कुरा गरेको बताउनु भयो । उहाँले हामीसँग कालापानी, लिपुलेकको प्रमाण रहेको र त्यही प्रमाण ब्रिटिसबाट ल्याउन खोजेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं । हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ,मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’
२२. नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा
सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताउनुभएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा भएपनि शत्रुताको सम्बन्ध नरहेको बताउनु भयो । उहाँले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै काँग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गर्नुभयो । उहाँले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाई हासिल गर्न चाहेको दाबी गर्नुभयो । थापाले संसदमा प्रतिष्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन । हामी प्रतिष्पर्धा गर्ने हो । हामी अग्लो हुनु चाहन्छौँ । तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ । तर हामी तपाईहरुभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन । तर तपाईहरुलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहान्छौँ । हामी सफा हुन चाहन्छौँ तर तपाईंहरुलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुग्दन्ध हटाएर सफा हुन चाहन्छौँ । हामी तपाईहरुको दुस्मन होइनौँ । हामी संसदमा प्रतिष्पर्धी छौँ । जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ ।’
बाइट...गगनकुमार थापा, सभापति, नेपाली काँग्रेस
२३. पार्टी एकतावद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउनसक्ने छैनः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गर्नुभएको हो । उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।सभापति लामिछानेले कतिपय अवस्थामा अरूले गरेको त्याग र बलिदानलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा कठिन महशुस गर्ने देखिन थालेको पनि बताउनु भयो । उहाँले रास्वपाको पहिलो महाधिवेशन पार्टीभित्र रहेका असमझदारी र मनमुटाव अन्त्य गर्ने अवसर बन्नुपर्ने बताउनु भयो ।
२४. रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा आन्दोलनको राजनीतिक शक्तिबाट संस्थागत दलमा रूपान्तरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले अब पार्टीले विरोध र प्रश्नमा मात्र सिमित नभई शासन सञ्चालन गर्ने क्षमता तथा परिणाम दिने सामथ्र्य प्रमाणित गर्नुपर्ने बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले केवल प्रश्न सोध्ने र विरोध गर्ने मात्र नभई देश चलाउने वैकल्पिक राजनीतिक शक्ति बन्न सक्ने प्रमाणित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले महाधिवेशनले रास्वपाको दीर्घकालीन राजनीतिक दृष्टि र नेपालको भविष्यबारे स्पष्ट मार्गचित्र प्रश्तुत पनि बताउनु भयो । उहाँले रास्वपाले संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै बहुमतको शासनसँगै अल्पमतको सम्मान सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।
२५. रास्वपा सरकार फेर्ने मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा छः उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनु भयो । उहाँले विगतमा राजनीतिक दलहरुले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउनु भयो । उहाँले राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन र पहुँच भएकालाई सफल हुन सहज हुने अवस्था सिर्जना गर्ने तथा व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँगको निकटता लाभदायक हुने व्यवस्था कायम गरेको समेत आरोप लगाउनु भयो । उहाँले राज्य संयन्त्र सिर्जनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध सिर्जना गरेको बताउनु भयो । उक्त अवरोध हटाउने अभियानमा रास्वपा रहेको उहाँको कभनाइ छ ।
२६. रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्तित्र दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभएको छ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नेपालजस्तो मुलुकले गलत निर्णयबाट उत्पन्न हुने भूराजनीतिक दबाब थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताउनु भयो । उहाँले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको उल्लेख गर्दै महाधिवेशनमार्फत ती प्रश्नको जवाफ दिन रास्वपालाई आग्रह गर्नुभयो । उहाँले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित रहेको भन्दै न्यायपालिका, राष्ट्रपति संस्था, संसद तथा आलोचनात्मक आवाजहरू कमजोर पार्ने प्रयास भए जनताको समर्थन क्रमशः क्षयीकरण हुने चेतावनी पनि दिनुभयो । उपमहासचिव ज्ञवालीले सरकारका केही प्रारम्भिक कदम रास्वपाको आफ्नै चुनावी प्रतिवद्धता तथा लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको देखिएको टिप्पणी पनि गर्नुभयो ।
२७. संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटी, विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधनमार्फत थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी रास्वपामाथि आएको बताउनुभएको छ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताउनु भयो । उहाँले संविधानले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती विषयहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले संविधानभित्रै विरोधाभास र अपूर्णता रहेको उल्लेख गर्दै विभेदमा परेका समुदाय, जातजाति र सांस्कृतिक समूहहरूको अधिकार सुनिश्चित गर्न संविधान परिमार्जन अपरिहार्य रहेको बताउनु भयो । उहाँले संविधान संशोधनमार्फत विद्यमान विकृति र विसंगतिहरू हटाई देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा र्पुयाउनुपर्ने आवश्यकता औँल्याउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणमा रास्वपाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।
२८. सरकार ‘एक्सप्रेस वे’मा दौडिरहेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छः बालेन्द्र साह
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले सरकारको गति र काम र नियन्त्रणबाहिर नरहेको दाबी गर्नुभएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई जवाफ फर्काउँदै सरकार नियन्त्रणमा रहेको भन्दै चिन्ता नलिन आग्रह गर्नुभयो । साहले सरकारको गति रोक्नुपर्ने अवस्था स्थानीय बाटोमा हिँड्ने गाडीमा हुने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री शाहले सरकारको यात्रा अनियन्त्रित नभएको र वातावरण पनि अनुकूल रहेको दाबी गर्नुभयो उहाँले भन्नुभयो, ‘सरकार भनेको त गाडी जस्तो हो एक्सलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्नुभएको छ । ब्रेक पनि लाउनुपर्छ भन्दै चिन्ता पनि मान्नुभएको छ । त्यस्तो चिन्ता लोकल रोडहरु तिर हिँड्दा लिनुपर्ने हो । कहिले लेफ्टबाट र राइटबाट आउँदो रहेछ । तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन । एस्कप्रेस वेमा हिँडेको गाडी हो गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । र हाम्रो गाडी अनियन्त्रित पनि छैन ।
२९. हामीले नेतालाई भगवान र ‘बा’ बनाएर गल्ती ग¥यौँ, रास्वपाले त्यो गल्ती नदोहो¥याओस्ः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई भगवान र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकार्नुभएको छ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले दलभित्रका नेताहरुमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाई गरेकै कारण मुलुकको राजनीति जटिल बनेको बताउनु भयो । उहाँले काँग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाईरहेको बताउनु भयो । उहाँले अन्य राजनीतिक दलका विगतका कमजोरीबाट सिकेर अघि बढ्न रास्वपाका सदस्यहरूलाई आग्रह गर्नुभयो ।
३०. प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहमाथि नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको जिकिर गर्नुभएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । अध्यक्ष लिङदेनले बालेन्द्र साहले नेपालमा राजा ल्याउँछ भनेर जनताले राप्रपालाई भोट नदिई रास्वपालाई मत दिएको दाबी गर्नुभयो । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएकाले उनीहरुको चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि सरकारलाई भएको उहाँको भनाई थियो । अध्यक्ष लिङदेनले भन्नुभयो,‘यो अवसर गुमाउनु भयो भने धोका तपाईको पार्टी र नेतृत्वलाई मात्रै हुने छैन । सिंगो देशलाई हुनेछ । त्यसकारण मेरोआग्रह छ यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस । यो पटकको मतपरिणाम हेर्दा कुन राजनीतिक दर्शनले काम ग¥यो ? कुन राजनीतिक दलहरुको संगठनले काम ग¥यो ? यो एउटा यस्तो चुनाव भयो, जहाँ जहाँ राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन , आज झण्डै दुई तिहाई मत ल्याउने राजनीतिक दलले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन ।
३१. रास्वपा प्रथम महाधिवेशन पार्टी सभापति लामिछाने र प्रधानमन्त्री साहद्वारा घण्टी बजाएर उद्घाटन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा शुरु भएको उक्त महाधिवेशनलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लगायतका नेताहरु सहभागी हुनुभएको छ । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता भएको छैन ।
३२. रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउतले जेन–जी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिनुभएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । अध्यक्ष राउतले आफू उक्त महाधिवेशनमा जेन–जी आन्दोनलबाट प्राप्त विश्वास नभूल्नका लागि रास्वपालाई सम्झाउन पनि महाधिवेशनमा सहभागी हुन आएको स्पष्ट पार्नुभयो । उहाँले आफूले आफनो पार्टीको देश बनाउने सपना पनि रास्वपाबाटै पूरा होस् भन्ने चाहेको जिकिर गर्नुभयो । अध्यक्ष राउतले भन्नुभयो,‘जेन–जी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । त्यही भएर तपाईहरुको जुन आन्दोलनबाट उदय हुनुभएको छ । जुन जनआस्था प्राप्त गर्नुभएको छ । विश्वास प्राप्त गर्नुभएको छ । त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु । हाम्रो पार्टी फरक होला केही छैन । हामी भन्छौँ–हाम्रो सपना पनि तपाईमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ । त्यसको लागि हामी शुभकामना दिन चाहन्छौँ ।’
३३. रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयोः सत्य र न्यायको पक्षमा दृढ रहनु
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिनुभएको छ । चितवनको भरतपुरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा आफूले लिएको उल्लेख गर्दै मुलुकमा सुशासन र समृद्धिका लागि अघि बढन पनि आग्रह गर्नु भयो । उहाँले रास्वपाका सफलतालाई आफनो पुस्ताका नेताहरुले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिको रुपमा लिएको बताउनु भयो ।
३४. सरकारले चालेका कदमहरु विधिसम्मत र संविधान बाहिर नहोस् भन्नेकुरामा रास्वपाले पर्याप्त ध्यान दिइयोेस्ः वर्षमान पुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरु विधिसम्मत र संविधानभन्दा बाहिर नहोस भन्नेकुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गर्नुभएको छ । चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले विगतमा आफूहरुले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दावी पनि गर्नुभयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij