२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सरकारी र सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत प्रधानमन्त्री निवास बालुवाटारको जग्गा नेपाल सरकारको नाममा दर्ता गराएको बताएकी छन् ।
यसका साथै, हालसम्म सरकारको नाममा औपचारिक लालपुर्जा नभएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरको जग्गाको लालपुर्जा पनि सरकारकै नाममा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिएकी छन् । मन्त्री रावलका अनुसार सरकारी स्वामित्वमा रहेका देशका महत्त्वपूर्ण र संवेदनशील जग्गाहरूको डिजिटल अभिलेखीकरण तथा स्वामित्व सुनिश्चित गर्ने कार्यलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको छे।
सोही अभियानअन्तर्गत बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गालाई कानुनी रूपमा नेपाल सरकारको नाममा दर्ता गरी स्रेस्ता कायम गरिएको हो। सिंहदरबार परिसरको जग्गा पहिलो पटक सरकारी लालपुर्जामा आउँदै सिंहदरबार परिसरभित्र रहेका केही जग्गाहरूको स्वामित्व तथा लालपुर्जासम्बन्धी अभिलेख व्यवस्थित नभएको विषय बेला–बेलामा उठ्दै आएको थियो ।
देशको मुटु मानिने सिंहदरबारकै जग्गाको प्राविधिक र कानुनी स्रेस्ता सरकारी अभिलेखमा स्पष्ट नहुनु गम्भीर विषय भएको भन्दै मन्त्रालयले यसको लालपुर्जा सरकारकै नाममा कायम गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।मन्त्री रावलले आगामी दिनमा देशभरका अन्य सरकारी, सार्वजनिक र गुठी जग्गाहरूको अतिक्रमण रोक्न र ऐतिहासिक सम्पत्तिको अभिलेख सुरक्षित राख्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij