Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको २३ खबर

आज दिनभरको २३ खबर


  • 1.6K
    Shares

    आज दिनभरको २३ खबर
    images

    १. हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू

    जब काठमाडौंको व्यस्त कोलाहल सकिन्छ र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा सुन्दरीजलको पहिलो झरना सुसाइरहेको सुनिन्छ, त्यहाँ प्रकृति एउटा पवित्र मन्दिर जस्तो देखिन्छ । वागमती नदी यहाँ जति कञ्चन र निर्मल बग्छिन्, त्यति नै निर्मल र कञ्चन छ यस क्षेत्रका किसानको मन । तर यो कञ्चन शिरको तल्लो फेदीमा जब असारको वर्षा शुरु हुन्छ, त्यहाँको कथा बदलिन्छ । सुन्दरीजलका भिराला कान्ला र सिँढी जस्ता गराहरूमा वर्षाको पवित्र पानी मात्र बग्दैन, त्यहाँ बग्छ किसानको निधारबाट चुहिएको पसिनाको सुवास । असार १५ नजिकिँदै गर्दा, यहाँका हिलाम्मे गराहरू एउटा यस्तो रङ्गमञ्च बन्छन् जहाँ जीवनको सबैभन्दा कठिन र सुन्दर नाटक मञ्चन हुन्छ । यहाँ माटो र मानिसको सम्बन्ध यति गहिरो छ कि माटोले आफ्नो अस्तित्व धान्न किसानको हात खोज्छ र किसानले आफ्नो प्राण धान्न त्यही हिलो सुम्सुम्याउँछ । सडकबाट हेर्दा रोपाईं एउटा रमणीय उत्सव देखिन्छ । पहेंलो वा नीलो बर्साती ओढेर हिलोमा रमाइरहेका नारीहरू, हल गोरु नारेर खेत हिल्याइरहेका पुरुषहरू र हरियो बीउका मुठाहरू हावामा उडिरहेका दृश्यहरू । तर यो रमाइलो क्यामेराको लेन्समा मात्र सिमित छ । हिलोमा उभिएका किसानका गोडा चिसो र हिलोको संक्रमण (हिलोले खाने रोग) ले खाएको हुन्छ । दिनभर निहुरिएर धान रोप्दा ढाड फलामे डण्डी झैं कसिन्छ । 

    २. सरकारको सय दिनको समीक्षा गर्दै काँग्रेस

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । 
    शनिवार सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने निष्कर्ष र संसदमा आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनु भयो । महामन्त्री पौडेलले सरकारले गठनको सय दिनमा गरेका प्रतिवद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रश्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको बताउनु भयो । प्रमुख प्रतिपक्षी दलको भुमिका कमजोर भएको भन्ने टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले काँग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दाबी गर्नुभयो । उहाँले सरकारका गलत कार्यविरुद्ध संसदीय दलका नेता र सांसदहरूले सदनमा सक्रियताका साथ आवाज उठाइरहेको उल्लेख गर्दै सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन जनताले गर्ने बताउनु भयो । 

    ३. सरकारको ‘हनिमुन पिरियड’ सकियो, अब काँग्रेसले संसद्मा सशक्त भुमिका खेल्छः अभिषेकप्रताप साह

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको शुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भुमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभएको छ । शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता साहले उक्त धारणा राख्नुभएको हो । उहाँले संसद प्रतिपक्षको थलो भएको स्मरण गराउँदै जनताका सरोकारका विषयमा काँग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पार्नुभयो । सरकारको समीक्षा गर्दै उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउनु भयो । सरकारले जनतालाई राम्रो सन्देश दिन खोजे पनि त्यो पर्याप्त नभएको उहाँको तर्क थियो । विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो । 

    ४. सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी भएनः महामन्त्री पौडेल

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभएको छ । शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताउनुभएको हो । सरकारको सय दिने कार्ययोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै उहाँले सय दिनमा सय काम गर्ने घोषणा गरेको भएपनि कतिपय कामबारे छलफलसमेत हुन नसकेको बताउनु भयो । उहाँले सरकारले धेरै कामको सूची बनाउनुभन्दा थोरै र निश्चित कामहरू तोकेर त्यसलाई पूर्णता दिएको भए परिणाममुखी हुने सुझाव दिनुभयो । नेपाली काँग्रेसले सरकारका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो । 

    ५. ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

    ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई ‘स्मार्ट स्ट्रिट लाइट’ मार्फत उज्यालो बनाउने अभियान तिब्र पारेको छ । रोल...
    ‘उज्यालो महानगरपालिका’ योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो । महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार भित्री र बाहिरी सडकहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ । दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ । 

    ६. नेताको अनुहारभन्दा विचार र निष्ठा मुख्यः पूर्वप्रधानमन्त्री नेपाल

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीप्रति निष्ठा, समर्पण र विश्वास नभएका व्यक्तिहरूबाट सङ्गठन अघि बढ्न नसक्ने बताउनुभएको छ । शनिवार पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीको अनुशासन र विचारलाई आत्मसात नगर्ने प्रवृत्तिले राजनीतिक विकासमा बाधा पुग्ने उल्लेख गर्नुभएको हो । सम्बोधनका क्रममा उहाँले नेताको बाहिरी स्वरूप वा अनुहारभन्दा उसले अँगाल्ने विचार र दिने सन्देश महत्वपूर्ण हुनेमा जोड दिनुभयो । नेता नेपालले पार्टीभित्रै रहेर सधैँ गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला मात्रै उत्पन्न गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो । उहाँले यस्ता नकारात्मक गतिविधि गर्नेहरूलाई सुक्ष्म रूपमा हेर्नुपर्ने र चिन्नुपर्ने आवश्यकता रहेको समेत औँल्याउनु भयो । 

    ७. नयाँ आन्दोलन र सङ्गठन सुदृढीकरणबाट कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउँछः नेता पुन

    नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्नसके कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउने दाबी गर्नुभएको छ । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले हाल प्रतिनिधि सभामा पार्टीको १७ सिट रहेको उल्लेख गर्दै जनतालाई सही ढङ्गले प्रशिक्षित गर्नसके कम्युनिस्ट शक्ति पुनः स्थापित हुनेमा कुनै द्विविधा नरहेको बताउनुभएको हो । नेता पुनले क्रान्तिकारी विचारको निरन्तरता नभएमा आन्दोलनले माथि उठाएको वर्ग नै प्रतिक्रान्तिको सहयोगी बन्नसक्ने जोखिम औँल्याउनु भयो । बदलिँदो विश्व परिवेशको विश्लेषण गर्दै नेता पुनले भूमण्डलीकरण र डिजिटल पुँजीवादले सिर्जना गरेका चुनौतीहरूबारे समेत सचेत गराउनु भयो । पुँजीवादले हरेक क्षेत्रलाई डिजिटल र भर्चुअल माध्यमबाट नियन्त्रण गरिरहेको उल्लेख गर्दै उहाँले यसको गहन अध्ययन गरी श्रमजीवी जनताको पक्षमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

    ८. जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन

    वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिवार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । 

    ९.जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताउनुभएको छ । शनिवार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ विसंगति र बेथितिका विरुद्ध लड्ने शक्तिको पक्षमा रहेको उल्लेख गर्नुभएको हो । उहाँले पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतलाई पनि यसैको उदाहरणका रूपमा प्रश्तुत गर्नुभयो । देशमा अझै पनि गरिबी, शोषण, अन्याय र विभेदका खाडलहरू कायमै रहेको चर्चा गर्दै उहाँले राष्ट्रियताको मामिलामा समेत सरकारको भुमिकामाथि प्रश्न उठाउनु भयो । 

    १०. एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । शनिवार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बाहिर आएका हल्लाहरूको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गर्नुभएको हो । उहाँले समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी समेत गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले सतहमा आएका समाचारकै भरमा भ्रममा नपर्न आग्रह गर्नुभयो । 

    ११. आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य शुरु हुने बताउनुभएको छ । मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताउनु भयो । उहाँकाअनुसार आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँको लागतमा रंगशालाको निर्माण कार्य शुरु गरिनेछ । 

    १२. अमेरिका र इरानबीच शान्ति समझदारीः मध्यपूर्वमा स्थायी शान्तिको चुनौती कायमै

    अमेरिका र इरानबीच करिव १०० दिनभन्दा लामो समयदेखि जारी द्वन्द्वपछि दुवै देशले शान्ति समझदारी पत्र मा हस्ताक्षर गरेका छन् । गत फेब्रुअरी २८ बाट शुरु भएको यो द्वन्द्वका कारण मध्यपूर्वमा पछिल्ला वर्षहरूकै सबैभन्दा गम्भीर संकट उत्पन्न भएको थियो । इजरायल, हेजबुल्लाह र अन्य क्षेत्रीय शक्तिहरू समेत संलग्न रहेको यस द्वन्द्वलाई कम गर्न दुई देशबीच समझदारी भए पनि क्षेत्रीय विश्लेषकहरूले भने मध्यपूर्वमा शान्तिको मार्ग अझै लामो र चुनौतीपूर्ण रहेको चेतावनी दिएका छन् । साउदी अरबस्थित अल रियाद सेन्टर फर पोलिटिकल एण्ड स्ट्राटेजिक स्टडिजका अनुसन्धानकर्ता अब्दुलअजीज अलशाबानीका अनुसार खाडी राष्ट्रहरूले यस सम्झौतामा मुख्य तीन विषयलाई प्राथमिकता दिने देखिन्छ । 

    १३. अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु

    संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य गरी स्थायी सम्झौता गर्ने उद्देश्यका साथ ६० दिने वार्ताको समयसीमा (काउन्टडाउन) शुरु भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार यस प्रक्रियाको औपचारिक शुरुवात भएको जानकारी दिएका हुन् । फ्रान्समा बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) सँगै वार्ताको ६० दिने अवधि तय भएको हो । उपराष्ट्रपति भान्सका अनुसार बिहीवारदेखि शुरु भएको यो वार्ताको समयसीमा आगामी अगस्ट १७ मा समाप्त हुनेछ । ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा उपराष्ट्रपति भान्सले अन्तर्राष्ट्रिय जलमार्गहरूलाई विश्वव्यापी अर्थतन्त्रका लागि अवरोधका रूपमा प्रयोग गर्न नहुने र ती क्षेत्रहरू महसुलमुक्त हुनुपर्ने अमेरिकी अडान दोहो¥याउनु भयो । 

    १४. अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित

    अमेरिका, इरान, कतार र पाकिस्तानबीच स्विट्जरल्याण्डको बर्गनस्टोकमा शुक्रबारका लागि तय गरिएको वार्ता स्थगित भएको छ ।स्विट्जरल्याण्डको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्ता स्थगित भएको पुष्टि गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्विट्जरल्याण्ड यी वार्ताहरूको सहजीकरणका लागि अझै पनि तयार छ र बर्गनस्टोकमा यससम्बन्धी आवश्यक पूर्वतयारीका कार्यहरू जारी छन् ।’
    अमेरिका र इरानबीच भएको अन्तरिम शान्ति सम्झौता कार्यान्वयनका विषयमा प्रारम्भिक छलफलका लागि शुक्रवार यो बैठक तय गरिएको थियो । लेबनानी सञ्चारमाध्यम अल मायादिनले सूत्रहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार लेबनानमा जारी इजरायली सैन्य आक्रमणका कारण इरानी वार्ता टोलीले आफ्नो स्विट्जरल्याण्ड भ्रमण रद्ध गरेको हो । 

    १५. उत्तर कोरियासँगका सबै सञ्चार सम्पर्क विच्छेद भएको दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा

    दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रवार दक्षिण कोरिया र उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया) बीचका सबै सञ्चार संयन्त्रहरू विच्छेद भएको बताउनुभएको छ । जी–७ शिखर सम्मेलन तथा विभिन्न युरोपेली मुलुकहरूको भ्रमणका उपलब्धिका बारेमा राष्ट्रपति कार्यालयमा आयोजित एक ब्रिफिङमा बोल्दै राष्ट्रपति लीले दुई कोरियाबीचका आपत्कालीन हटलाइन र अन्य सञ्चार माध्यमहरू पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा समय–समयमा साना खालका सैन्य झडपहरू भइरहेको उल्लेख गर्दै वर्तमान अवस्था उत्साहजनक नरहेको बताउनु भयो । 

    १६. चीनबाट अमेरिकातर्फ झन्डै १ हजार टन विन्ड टर्बाइन ब्लेडको ढुवानी शुरु

    चीनको तियान्जिन बन्दरगाहबाट संयुक्त राज्य अमेरिकाको बन्र्स हार्बरका लागि झन्डै १ हजार टन तौल भएका विन्ड टर्बाइन ब्लेडहरू बोकेको जहाज प्रस्थान गरेको छ । चीनमा निर्मित यी विशाल ब्लेडहरूले अमेरिकाका स्थानीय वायु ऊर्जा परियोजनाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुरÞ्याउनेछन् । यस पहलबाट वायु शक्तिको अधिकतम् उपयोग गरी अमेरिकी घरपरिवारमा स्वच्छ र नवीकरणीय ऊर्जाको आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

    १७. टर्कीद्वारा जुलाई १ देखि जलमार्ग पार गर्ने विदेशी जहाजको पारवहन शुल्कमा वृद्धि

    टर्कीले राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले आगामी जुलाई १ देखि आफ्ना जलमार्गहरू (स्ट्रेट्स) प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको पारवहन शुल्क बढाउने निर्णय गरेको छ । टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरायोग्लुले शुक्रवार यससम्बन्धी जानकारी दिनुभएको हो ।नयाँ व्यवस्थाअनुसार टर्कीको कुनैपनि बन्दरगाहमा नरोकिईकन केवल जलमार्ग प्रयोग गरेर जाने जहाजहरूको पारवहन शुल्क प्रति नेट टन ५.८३ अमेरिकी डलरबाट बढाएर ६.७० डलर पु¥याइनेछ  । मन्त्री उरायोग्लुकाअनुसार इस्तानबुलको बोस्फोरस र उत्तर–पश्चिमी प्रान्त चानककालेको डार्डनेल्स जलमार्गबाट हुने वार्षिक राजश्व आगामी जुलाई २०२५ देखि जुन २०२६ सम्मको अवधिमा २५ करोड ४० लाख डलर पुग्ने प्रक्षेपण गरिएको छ ।  

    १८. धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस्

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उहाँले पार्टी छाडेर गल्ती नगर्न आग्रह गर्नुभएको हो । उहाँले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताउनु भयो । उहाँले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसक्नु भएको छ । अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिनुभयो ।

    १९. राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६–२८ मा काठमाडौंमा गर्ने निर्णय

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको शुक्रवार र शनिवार बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् । आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रिय कार्यसम्पादन समितिलाई दिएको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो । बैठकले केन्द्रिय निर्वाचन समितिले प्रश्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ । 

    २०. संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिवार चिवतनमा बसेको रास्वपाको केन्द्रिय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताउनुभएको हो । उहाँले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाई छ । उहाँले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र यसको मूल्यमान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    २१. सरकारले सम्पन्न वर्गको हितलाई मात्र प्राथमिकता दियोः राजेन्द्र पाण्डे

    नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुम्बासी र मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाउनुभएको छ । ४९ जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसका अवसरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताको महसुलमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर सामान्य नागरिकमाथि प्रत्यक्ष आर्थिक भार थपेको दाबी गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर वृद्धि गर्ने काम गरेको उहाँको भनाई छ । उहाँले सरकारले बजेट उच्च आय भएका र आर्थिक रूपमा सबल वर्गलाई लाभ पुग्ने गरी ल्याएको दाबी गर्नुभयो । देशभरका लाखौं सुकुम्बासी परिवार अझै स्थायी बसोबासको समस्या झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरूको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । 

    २२. सात महिला सहकारीद्वारा कृषिमा १२ करोड रुपैयाँ बराबरको लगानी प्रश्ताव

    कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैंक तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रश्ताव गरेका छन् । हेफर इन्टरनेशनल नेपालको पहलमा आयोजित ‘फ्रम फार्म टु फाइनान्स’ राष्ट्रिय पिचिङ कार्यक्रममा दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका सात महिला कृषि उद्यमी सहकारीले आफ्नो व्यवसाय विस्तार योजना प्रश्तुत गर्दै २० लाख रुपैयाँदेखि ४ करोड रुपैयाँसम्मको ऋण तथा लगानी सहयोगको प्रश्ताव गरेका हुन् । कार्यक्रममा सहभागी सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका थिए । लमही नगरपालिका दाङमा रहेको निलकमल समाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक पुनम भण्डारीले १ करोड ५० लाख रुपैयाँको लगानी प्रश्ताव गर्नुभयो । 

    २३. सेनामाथी राजेन्द्र पाण्डेको टिप्पणी– ‘परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्नेले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको छ’

    नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत सुरक्षा निकायको आलोचना गर्नुभएको छ । काठमाडौं आयोजित एक कार्यक्रममा उहाँले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टीप्पणी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनमा भएका घटनाहरुको स्मरण गर्नुहुँदै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउनुभएको हो । जेन–जी आन्दोलनमा सुरक्षा निकायहरुले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपति बस्ने स्थानसमेत सुरक्षित राख्न नसकेको बताउनु भयो । त्यही सुरक्षामाथि निर्भर भएर देश अगाडि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँले जेन–जी आन्दोलन पनि सुरुआत गर्ने समूहको नियन्त्रणबाट बाहिर गएको बताउनु भयो । आन्दोलन सुरु गर्ने युवाहरूले नै आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गरेको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आषाढ ६ २०८३ शनिवार - २१:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij