२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको उक्त अभियोग हटाउन आदेश दिएको हो ।
इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सङ्गठित अपराधको अभियोग हटाउन स्वीकृति दिए पनि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुख्य अभियोगलाई भने यथावत् राख्न आदेश दिएको छ ।
सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकारवादी रहेको यस सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनका लागि अदालतमा निवेदन दायर गरेको थियो । सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश जोशीको इजलासले सङ्गठित अपराधको दाबी फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई अनुमति दिएको हो ।
यो आदेशसँगै लामिछानेमाथिको सङ्गठित अपराधको कानुनी दायित्व हटेको छ भने सहकारी ठगीको मुद्दामा माथिको कानुनी प्रक्रिया र बहस अदालतमा निरन्तर अघि बढ्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij