२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले एउटा निश्चित कम्पनीलाई लाभ पुर्याउने नियतले करको दर हेरफेर गरी गोप्य सूचना चुहावट गरेको विषयमा निष्पक्ष र तटस्थ छानबिन गर्न माग गरेको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले एक प्रेस वक्तव्य जारी गर्दै संसद् र सार्वजनिक सञ्चार माध्यममा उठेका यी गम्भीर आरोपहरू प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
जनमोर्चाले यस प्रकरणको सत्यतथ्य पत्ता लगाउनका लागि तत्काल न्यायिक वा संसदीय छानबिन विशेष समिति गठन गरिनुपर्ने मागलाई समर्थन गरेको छ । विगतमा पनि यस्ता गम्भीर प्रकृतिका घटनाहरूमा छानबिन समिति गठन भएका नजिरहरू रहेको स्मरण गराउँदै वक्तव्यमा छानबिनको आवश्यकतालाई अस्वीकार गर्ने अर्थमन्त्री र सरकारको अडान सही हुन नसक्ने उल्लेख गरिएको छ ।
यसै गरी राष्ट्रिय जनमोर्चाले भारत-तिब्बतीयन सीमा सुरक्षा बलको सैन्य हेलिकप्टर नेपालको अनुमति बिना दार्चुला जिल्लास्थित नेपाली हवाई क्षेत्र मिचेर प्रवेश गरेको घटनाको घोर भर्त्सना गरेको छ ।
भारतीय पक्षले अर्को स्वतन्त्र मुलुकको हवाई सीमा उल्लङ्घन गर्दा समेत सामान्य माफी सम्म नमागेको कार्यप्रति जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij