२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक प्रविधिको प्रयोग गरेर विशाल आइटी आर्मी (सूचना प्रविधि फौज) तयार गर्ने बताएका छन् । शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले पार्टीलाई सुदृढ, परिमार्जित र विस्तार गर्न तथा नयाँ समयका चुनौतीहरूसँग लड्नका लागि आइटी फौज अपरिहार्य भइसकेको उल्लेख गरे । हामीले अब एउटा आइटी सेना, विशाल फौज तयार गर्न सकिन्छ, तयार गर्नुपर्ने नै भयो,उनले भने, पार्टीलाई सुदृढ र विस्तार गर्न तथा नयाँ आवश्यकतासँग लड्ने बनाउन विशाल आइटी आर्मी चाहियो ।
उनले आइटी आर्मी कम्युनिस्टहरूले मात्र बनाउन सक्ने दाबी गर्दै अरू बुर्जुवा शक्तिहरूले यस्तो संगठन निर्माण गर्न नसक्ने जिकिर समेत गरे । विगतका निर्वाचनहरूमा प्रविधि र डिजिटल मिडियामा ध्यान नदिँदा पार्टीले क्षति बेहोर्नुपरेको संकेत गर्दै प्रचण्डले दलहरूको परम्परागत खर्चिलो चुनावी शैलीको आलोचना गरे ।
त्यसकारण सोचलाई परिवर्तन गर्ने गरी जानुपर्नेछ । चुनावमा धेरै खर्च भएको छ, विगतको अनुभव सुनाउँदै उनले भने, गत निर्वाचनमा सबै उम्मेदवारको हिसाब गर्ने हो भने समानुपातिक तर्फको पनि हिसाब गर्दा थुप्रो खर्च भयो । तर आइटीमा एक दुई करोड खर्च गर्न हात काम्यो ।
एउटै निर्वाचन क्षेत्रमा करोडौँ रुपैयाँ खर्च गरिए पनि प्रविधिको क्षेत्रमा लगानी गर्न नसक्दा चुनावी नतिजा सोचे अनुरूप आउन नसकेको उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij