२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार र सभामुखको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन्।
सांसद राईले प्रधानमन्त्रीको विवादास्पद वक्तव्य सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराएका छन् । प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले आपत्ति प्रकट गरेका छन् ।
रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उहाँले अर्थमन्त्रीको जवाफदेहिता माग गरेका छन । यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अङ्कगणितीय त्रुटी देखिएको उनको दाबी छ । ५ अर्बभन्दा बढीको बजेटमा १ अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी ४ अर्ब ३२ करोडभन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उनले बताएका छन्।
सांसद राईले भारतको पटनामा ९०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी वन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराएका छन्। त्यहाँ नेपालीहरूको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उहाँले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गरेका छन । सोही प्रकरणमा संलग्न भएको आरोपमा सोल्टी होटलबाट पक्राउ परेका इटहरी निवासी ईश्वर ढकालमाथि कारबाही अघि बढाउन र पीडितको उद्धारमा सक्रियता देखाउन उनले सम्बन्धित मन्त्रालयसँग माग गरेका छन्।
उनले भने, ‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ । मान्छे राम्रो लुगा लगाएर वा चिलो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनु अनिवार्य छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij