२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन्। स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भईरहेको भन्दै उनले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरुसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गरेकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताइन् । उनले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरुमा पैरवी भइरहेको पनि बताइन् ।
मन्त्री मेहताले भनिन्,‘ स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने । सबै संगठित क्षेत्रहरुमा अनिवार्य स्वास्थ्य बीमा गर्ने । सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य विमामा समाहित गर्ने लगायतका विषयहरुमा पैरवी गर्दै आएको छ । यसका लागि सबै माननीयज्युहरुको ध्यानाकर्षण र सहयोगको अपेक्षा राखेको छु । सरकारको नीति तथा कार्यक्रम, बजेटअनुसार मन्त्रालयले वार्षिक कार्यक्रमहरु तय गरेको छ । विगत भन्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ऐतिहासिक र समृद्धि ल्याउने खालको रहेको छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij