२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ६ फागुन २०८२ शिवरात्रिको भोलिपल्ट पशुपतिमा एक युवकको शंकास्पद मृत्यु भयो । युवकको शव पशुपतिनाथ मन्दिर परिसरमा भेटिएको थियो ।
शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढायो । मृत व्यक्तिको शरीरमा निलडाम र चोटपटक देखिएपछि मृत्यु शंकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानमा खटियो ।
अनुसन्धानका क्रममा मृत व्यक्ति संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष गिरी भनिने सन्तोष परियार रहेको खुल्यो । मृत भेटिएका व्यक्ति पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको पाइयो । शवको प्रकृति र पोस्टमार्टम रिपोर्टपछि गिरीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चार महिनापछि सन्तोषको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका द्रव्यनाथ बाबा भनिने सुविन राना मगरलाई समातेको छ ।
उनलाई महोत्तरी गौशाला नगरपालिका-६ गौशालाबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान गर्दा मोबाइल चोरीको विषय खुलेको प्रहरीले बताएको छ ।
मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा बाबाको संलग्नता देखियो । त्यसपछि प्रहरीले एक बाबालाई पक्राउ गरेका हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij