२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंको माईतीघर मण्डला सरकारलाई खबरदारी गर्ने र आफ्नो माग राख्ने थलोको रुपमा परिचित छ । यही थलोमा यतिबेला विभिन्न घटनाका पीडितहरूको न्यायको माग राख्दै धर्नामा बसेका छन् ।
धर्नामा बसेका सबैका आ-आफ्नै पीडा छन्, कसैले दुर्घटनापछि उपचार खर्च नपाएर छट्पटाईरहेका छन् भने कोही बलात्कृत भएर अपमानजनक भएर बस्नुपरेको छ । बलात्कार, अन्तरजातीय विवाहका कारण भएको हत्या तथा वर्षौं पुराना मुद्दामा न्याय खोज्दै पीडितहरु माईतीघरको सडकमा पीडकको तस्वीरसहित व्यानार टाँगेर धर्नामा उत्रेका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ की देविका खनाल २१ दिनदेखि माईतीघरमा धर्नामा बसिरहेकी छन् । उनले २०८१ सालमा वडाध्यक्ष सुमन थापाले दुर्घटना गराएपछि उपचारको जिम्मेवारी नलिएको आरोप लगाएकी छन् । दुर्घटनापछि स्थानीयवासीले अस्पताल पु¥याए पनि आफूले आवश्यक सहयोग नपाएको उनको गुनासो छ ।
त्यसैगरी, सर्मिला शाही तीन महिनाको शिशु काखमा बोकेर सात दिनदेखि माईतीघरमा धर्ना दिइरहेकी छन्। आफूलाई शरीर वन्धक बनाएर जबरजस्ती करणी गरिएको आरोप लगाउँदै उनले बलात्कारबाट जन्मिएको सन्तानको पालनपोषणको जिम्मेवारी पीडक पक्षले लिनुपर्ने माग राखेकी छन् । नेपाल प्रहरीमा कार्यरत रहेका आरोपित हाल जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिँदै शाहीले बच्चाको जन्मदर्ता र भविष्यको जिम्मेवारीसमेत पीडक परिवारले वहन गर्नुपर्ने बताएकी छन् ।
माईतीघरमा कृष्णमाया उप्रेती पनि १३ वर्ष अगाडीको बलात्कार मुद्दामा न्यायको माग गर्दै धर्नामा बसेकी छन् । सर्वोच्च अदालतले समेत आफूलाई उचित न्याय नदिएको उनको गुनासो छ । नेत्रप्रसाद तिमिल्सिनाले २०७० सालमा आफूमाथी बलात्कार गरेको बताइन् । आफूले न्याय नपाएसम्म माईतीघरमा नै धर्नामा बसिरहने उनको भनाई छ । पीडितले आफ्नो गोपनियताको हकलाई समेत त्यागेर माईतीघरमा न्यायको लागी धर्नामा बस्नुपर्ने स्थिति आउनुले पनि नेपालमा न्यायको स्थिति कस्तो छ भन्ने प्रष्ट पार्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij