२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाबीच आज झापाको धुलाबारीमा महत्वपूर्ण भेटवार्ता भएको छ।
पार्टीभित्र आन्तरिक विवाद चर्किएर विभाजनको स्थिति सिर्जना भइरहेका बेला झापाकै स्थायी बासिन्दा रहेका यी दुई शीर्ष नेताहरूबीच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार दुई नेताहरूबीच केही समय एक्लाएक्लै वार्ता भएको थियो। भेटघाटका क्रममा नेताहरूले पार्टीभित्रको आन्तरिक समस्याको समाधान कित्ताकाट वा गुटबन्दीबाट नभई निरन्तर वार्ता र संवादबाट मात्र सम्भव हुने निष्कर्ष निकालेका छन्।
संवादमार्फत नै पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा दुवै नेताहरू एकमत देखिएका छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न आज बिहान दुवै नेता झापा आइपुगेका थिए।
सोही अवसर पारेर उनीहरूबीच राजनीतिक संवाद भएको हो। विशेष महाधिवेशनबाट गगन थापा पार्टीको नेतृत्वमा आएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। नेता सिटौलासहित संस्थापन इतर पक्षका कतिपय नेताहरूले अझै पनि विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सहज रूपमा स्वीकार गरिसकेका छैनन्।
यस्तो संवेदनशील समयमा संस्थापन पक्षका उपसभापति शर्मा र इतर समूहका रणनीतिज्ञ मानिने सिटौलाबीच भएको यो छलफलले पार्टीको आन्तरिक समीकरणमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij