२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक तर्फकी सांसद सृष्टि भट्टराई गुडिरहेको कारको झ्यालबाट आधा शरीर बाहिर निकालेर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएकी छन्। सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा व्यापक रूपमा सेयर भइरहेको उक्त भिडियोमा सांसद भट्टराई कारको अगाडिको सिटमा बसेर लापरबाहीपूर्वक यात्रा गरिरहेको देखिन्छ।
लापरबाहीपूर्वक यात्रा गर्दा गम्भीर दुर्घटनाको जोखिम हुने भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीले लामो समयदेखि सडक सुरक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यसरी लापरबाहीपूर्वक सवारी चलाउने वा यात्रा गर्ने यात्रुलाई जरिवाना तथा कानुनी कारबाही हुने स्पष्ट व्यवस्था छ।
सार्वजनिक पदमा रहेका जिम्मेवार जनप्रतिनिधिले नै सडक सुरक्षाका न्यूनतम नियमहरूको उल्लंघन गर्दै उत्ताउलोपन देखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र आक्रोश पोखेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भट्टराईमाथि कारबाही गर्न माग गरेका छन्। यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सांसद हर्क साम्पाङलाई जरिवाना गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले भट्टराईलाई पनि कारबाही गर्न माग गरेका हुन्।
भट्टराईलाई के कारबाही गर्ने भन्नेबारे आन्तरिक छलफल भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij