२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएका छन् ।
सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधिमैत्री नहुँदा समस्या जटिल बन्दै गएको बताएका छन् ।
एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब ६५ लाख सवारी साधन दर्ता भएकामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत २० लाख सवारी साधन गुड्ने गरेका छन् । यति ठूलो सङ्ख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा २५ सय देखि २६ सयको हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन् ।
ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एसएसपी काफ्लेले जरिवाना रकममा भारी वृद्धिको प्रस्ताव गरेका छन् । अहिलेको ५ सय र १ हजार जरिवाना ज्यादै न्यून भयो, यसले कसैलाई डर भएन, उनले भने, नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ ।
दुर्घटनाको वास्तविक प्रमाण जुटाउन र विवाद अन्त्य गर्न सार्वजनिक तथा निजी सवारीमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने बताएका छन् । साथै नाकाहरूमा डिजिटल इन्टिग्रेटेड चेकपोष्ट र सरकारी तवरबाटै सवारी तौलने धर्मकाँटा को व्यवस्था गर्नुपर्ने,पुराना र म्याद सकिएका गाडीहरूलाई सडकबाट हटाउन तत्काल स्क्र्याप पोलिसी ल्याउनुपर्ने उनको भनाइ छ ।
हाल काठमाडौँका सडकमा भइरहेको म्यानुअल (हातको इसारा) ट्राफिक व्यवस्थापनलाई विस्थापित गरी एआई जेनेरेटेड इन्टिग्रेटेड ट्राफिक लाइट 'प्रणाली लागू गर्न उनले सुझाव दिए । यसका लागि करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
विद्यालयको पाठ्यक्रममै ट्राफिक नियम समावेश गर्ने तथा ट्राफिक निगरानीका लागि ड्रोन र रोबोटको प्रयोग बढाउने बताएका छन् । उनले ट्राफिक प्रहरीको मात्रै भर नपरी पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढाउन सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij