२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् ।
भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन् ।
निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन् ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ । पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द हुने उनले बताए ।
‘भारतको टि–बोर्डले नेपाली चिया आयातकर्ताहरूलाई अनावश्यक दु:ख दिएका कारण नेपाली चियाको बजार ठप्प भयो,’ गुप्ताले भने, ‘आजको दिनमा कुनै पनि चिया आयातकर्ता हामीसँग चिया लिन इच्छुक छैनन् ।’
भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरू पछि हटेका छन् ।
रिपोर्टमा केही सामान्य कमीकमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका उनले बताए । ‘हाम्रो चिया नबिकेपछि हामीले उद्योग बन्द गर्यौं, अब उद्योग किन चलाउने ? मुख्य समस्या नै यही हो,’ उनले थपे ।
संघका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij