२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।
काठमाडौँ महानगरपालिकाले ७ क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रवर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहर मैलाको उचित व्यवस्थापन गर्ने भएको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममा उक्त कार्यक्रम उल्लेख गरेको हो । ‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरूलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ।
फोहरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधिको प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृश्य आदि प्रदूषण नियन्त्रण गर्ने, सङ्घ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण तथा न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij