२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद् छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो भनाइ सार्वजनिक गर्दै उनले पार्टीको नेतृत्वदायी पङ्क्तिको सङ्कीर्ण मानसिकताका कारण आफूले कार्यकालभरि असंख्य पीडा भोग्नुपरेको खुलासा गरेकी छन् ।
उनले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन् ।
आत्मसम्मान, स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ । ‘म काम गर्ने मान्छे हुँ । मलाई सधैं अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ’, वक्तव्यमा उनले भनेकी छन् ।
तामाङले आफ्नो विरुद्ध राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न षड्यन्त्रहरू रचिएको आरोपसमेत लगाएकी छन् ।
पार्टी छोड्ने निर्णयपछि आफूलाई अवसरवादी भन्ने र विभिन्न आरोप लगाउने प्रयास हुन सक्ने बताउँदै उनले आफ्नो राजनीतिक पृष्ठभूमि, संघर्ष र यात्राको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरेकी छन् ।आफूले कुनै पनि जिम्मेवारी मागेर वा दबाब दिएर प्राप्त नगरेको, समयले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास मात्र गरेको उनको भनाइ छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij