२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण आएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको तुलनामा ४१.२ प्रतिशतले बढेको हो । गत चैत महिनामा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालु आर्थिक वर्षका १० महिनामा अर्थात् वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६ सय १० र २ लाख ८० हजार ३ सय १४ रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij