२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । सुधन गुरुङमाथि छानबिन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएसँगै गृह मन्त्रालयमा गुरुङको ‘कमब्याक’ हुनसक्ने चर्चा सुरु भएको छ । छानबिन समितिको प्रतिवेदनमा गुरुङको कमब्याक निर्भर रहेको गृह मन्त्रालयका कर्मचारीबिच शुक्रबार चर्चा चलेको हो ।
‘प्रतिवेदनमा दोषी देखिए त सम्भावना नहोला तर, दोषी किटान नभए सुधन नै गृहमा फर्कन सक्छन्’, गृहमन्त्रालयका एक कर्मचारीले भने, ‘अब प्रतिवेदनमा निर्भर भैसकेको छ ।’ पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारी नेतृत्वको समितिले गुरुङमाथि लागेका आरोपहरूबारे अध्ययन गरी शुक्रबार छानबिन प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बुझाएको हो ।
स्रोतका अनुसार प्रतिवेदनमा गुरुङलाई कुनै कारबाही गर्न भनेर स्पष्ट सिफारिस गरिएको छैन । ‘सार्वजनिक भएका तथ्य प्रमाण पेस गरिएको छ । ती प्रमाणहरूका आधारमा सरकारले निर्णय गर्न सक्ने छ, तर प्रस्ट दोषी किटानै भने गरेको छैन’, समितिका एक सदस्य भन्छन्, ‘सरकारको व्याख्या र निर्णयमा भर पर्छ ।’
यसअघि गुरुङ र विवादित/विचौलिया दीपक भट्टबिच व्यावसायिक साझेदारी रहेको भेटिएपछि उनको चर्को आलोचना भएको थियो । त्यसबाहेक गुरुङमाथि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको आरोप पनि लागेको थियो । यस्तो आरोपपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएको १९ दिनपछि वैशाख २८ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
तर, गुरुङले राजीनामा दिएको डेढ महिनासम्म पनि प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफैसँग राखेका छन् । ‘लामो समयसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफै राख्नुले गुरुङलाई नै कमब्याक गराउन त होइन भन्ने स्वाभाविक रूपमा बुझ्न सकिन्छ’, गृह मन्त्रालयका एक अधिकारीले भने,‘सम्भवतः गुरुङले केही दिनमा मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी पाउन सक्छन् ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij