Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सोधपुछका लागि चौकीमा बोलाइएका व्यक्ति प्रहरीबाटै कुटिए

सोधपुछका लागि चौकीमा बोलाइएका व्यक्ति प्रहरीबाटै कुटिए


  • 2.1K
    Shares

    सोधपुछका लागि चौकीमा बोलाइएका व्यक्ति प्रहरीबाटै कुटिए
    images

    काठमाडौं । सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा बोलाइएका एक स्थानीयमाथि प्रहरी जवानले कुटपिट गरेको छ। प्रहरीको कुटाइबाट धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका हुन् ।

    दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। उक्त निवेदनका सम्बन्धमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयबाट इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरिएको थियो।

    पीडित दासका अनुसार बुधवार दिउँसो आफू श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। त्यहाँ प्रहरीले पत्रमा हस्ताक्षर गर्न भन्यो । तर विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि आफूलाई एउटा कोठामा लगेर प्रहरी जवान रामजीवन पासवानले बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप उनले लगाएका छन्।

    कुटपिटबाट उनको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ । घाइते दासलाई बरहथवास्थित हनुमन्त हस्पिटलमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ ।

    यता, इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्रको एक कोठामा दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गर्दै सोही क्रममा कुटपिटको घटना भएको बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताउदै दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको प्रारम्भिक जानकारी आएको बताए। उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १५:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij