२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाइएको बहुमूल्य हात्तीका दुई थान दाह्रा चोरी गर्ने कार्यमा संलग्न पाँच जना युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका-४ लाप्राक घर भई तार्केश्वर-१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका-१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई टोखा नगरपालिका-२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका-४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले कडा सुरक्षा घेराभित्र रहेको राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र आगजनी मौका छोपेर शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको थियो ।
चोरी भएको करिब ९ महिनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कमाण्डमा खटिएको टोलीले नयाँ बसपार्क र मनमैजु क्षेत्रमा मंगलबार राति अपरेसन चलाएको थियो । पक्राउ परेका युवाहरूको खानतलासी गर्दा उनीहरूको साथबाट हात्तीको दाह्रा मात्र नभई अवैध लागुऔषध समेत बरामद भएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका पाँचै जनामाथि बहुमूल्य वन्यजन्तुको अङ्ग तस्करी र अवैध लागुऔषध कारोबार दुवै मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij