२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । अबदेखि भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारण यात्रुहरूका लागि ५ सय रुपैयाँसम्मको सामानमा भन्सार नलागने भएको छ । सरकारले भन्सार छुटको सीमामा सामान्य हेरफेर गर्दै यसअघिको सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर लगाउने नीतिमा संशोधन गरेको हो ।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी भारतलगायत अन्य मुलुकबाट स्थलमार्ग हुँदै आउने यात्रुले आफ्नो साथमा ल्याउने निजी प्रयोगका वस्तुको हकमा नयाँ नियम लागू गरेको हो।
राजपत्रमा प्रकाशित सूचनाको बुँदा नम्बर ५ को उपबुँदा (१) मा गरिएको व्यवस्था अनुसार, अब स्थलमार्गबाट सिमाना ओहोदोहोर गर्ने व्यक्तिले ५०० रुपैयाँसम्मको निजी प्रयोगका वस्तु साथमा ल्याएमा वा लगेमा भन्सार महसुल तिर्नु पर्ने छैन। यद्यपि, यस्तो सामान छाड्ने वा नछाड्ने भन्ने अन्तिम निर्णय भन्सार प्रमुखले सामानको औचित्य हेरेर गर्ने अधिकार दिइएको छ।
जेठ १५ गतेदेखि नै लागू भएको यो नयाँ व्यवस्थाले विशेष गरी सीमावर्ती क्षेत्रमा घरायसी प्रयोजनका स-साना सामान किनमेल गर्ने सर्वसाधारणलाई केही सहज हुने देखिन्छ । तर, यो सुविधा व्यापारिक प्रयोजनका सामानको हकमा भने लागू हुने छैन।
व्यापारिक वा परिमाणभन्दा बढी सामान ल्याएमा प्रचलित कानुन बमोजिम नै महसुल लाग्ने वा जफत हुने व्यवस्था राजपत्रमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij