२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट नेपाल फर्किंदै गरेका एक वृद्धको अन्तर्राष्ट्रिय उडानकै क्रममा मृत्यु भएको छ। परिवारसँग स्वदेश फर्किने यात्रामा रहेका उनी काठमाडौँ अवतरण गरेलगत्तै विमानभित्र अचेत अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२६ मा सवार ७३ वर्षीय श्यामहरि मरहठ्ठा मृत अवस्थामा फेला परेका हुन्। उनी गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँको सामाखुशी क्षेत्रमा बसोबास गर्दै आएका थिए।
विमानस्थल सुरक्षा तथा प्रहरी स्रोतका अनुसार उडान अवतरण भएपछि यात्रुहरू ओर्लने तयारी भइरहेका बेला मरहठ्ठा अचेत रहेको जानकारी प्राप्त भएको थियो। त्यसपछि स्वास्थ्य अवस्था परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको जनाइएको छ।
मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट नेपाल फर्किरहेका थिए। लामो समयपछि स्वदेश फर्कने तयारीमा रहेका दम्पतीको यात्राका क्रममा भएको घटनाले परिवारजनलाई स्तब्ध बनाएको छ। उनीसँगै यात्रा गरिरहेकी पत्नीले श्रीमान् विमानभित्रै अस्वस्थ भएको जानकारी दिएको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि विमानस्थल प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। शवको जाँच, मुचुल्का तथा अन्य औपचारिक प्रक्रिया पूरा गर्ने काम भइरहेको गौशाला प्रहरी वृत्तले जनाएको छ। मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीले बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij