२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाएका छन् । प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी गरेका छन् । नेपालको भू–राजनीति र जनसाङ्ख्यिक अवस्थितिलाई दृष्टिगत गर्दै संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उनले अहिले सरकारबाटै यस प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गरेक ाछन् ।
उनले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसङ्ग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सङ्घीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौती भएको बताएका छन् । प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा अविचलित भएर उभिन आग्रह गरेका छन्। सन् १९५३ मा अमेरिकामा रङ्गभेद विरुद्ध रोजा पाक्र्सले गरेको सानो विद्रोहले नागरिक अधिकार प्राप्तिमा ल्याएको ठूलो परिवर्तनको उदाहरण दिँदै उहाँले पत्रकारको कलमले नै स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसको आन्तरिक राजनीतिक प्रसङ्ग उल्लेख गर्दै प्रवक्ता चालिसेले निर्वाचनमा भएको हारलाई ‘ब्याटल’ को हार मात्र भएको र सिद्धान्तको लडाइँमा काँग्रेस कहिल्यै पराजित नहुने स्पष्ट पारेका छन् । निर्वाचनमा बेहोरेको पराजयलाई ‘सेटब्याक’ को संज्ञा दिँदै उनले आगामी पाँच वर्षभित्र जनताले चाहेजस्तो र रोजेजस्तो काँग्रेस बनेर सशक्त रूपमा पुनरागमन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij