Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोरङ प्रहरीले टिकटक भिडियो प्रतियोगिता गर्दै

मोरङ प्रहरीले टिकटक भिडियो प्रतियोगिता गर्दै


  • 1.0K
    Shares

    मोरङ प्रहरीले टिकटक भिडियो प्रतियोगिता गर्दै
    images

    बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण र युवा पुस्तामा सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय मोरङले टिकटकलाई माध्यम बनाउने भएको छ। ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ अन्तर्गत विराटनगरमा आइतबार सुरु भएको कार्यक्रममा प्रहरीले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो।

    मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले अभियानको शुभारम्भको क्रममा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै युवाहरूलाई रचनात्मक ढंगले लागुऔषध विरुद्धको अभियानमा जोड्न प्रतियोगिता आयोजना गरिएको बताए।

    ‘वर्तमान समयमा युवा पुस्तामा सामाजिक सञ्जाल, विशेष गरी टिकटकको आकर्षण निकै छ,’ उनले भने। युवाहरूलाई समेटेर लागुऔषध विरुद्धको सन्देश फैलाउन यो प्लेटफर्म प्रभावकारी हुने प्रहरीको विश्वास रहेको उनले बताए।

    प्रतियोगितामा सहभागी हुन चाहनेले ‘बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ’ भन्ने मूल सन्देशमा आधारित रहेर जनचेतनामूलक भिडियो तयार गर्नुपर्ने छ। जेठ १० गतेदेखि सुरु भएको यो प्रतियोगितामा इच्छुक सहभागीले जेठ मसान्तसम्म भिडियो बनाएर प्रतिस्पर्धामा भाग लिन सक्ने जनाइएको छ।

    प्रतियोगितामा उत्कृष्ट हुने पाँच जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रहरीका अनुसार प्रथम पुरस्कार ५० हजार रुपैयाँ रहेको छ। दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ रहेको छ। चौथो पुरस्कार २० हजार रुपैयाँ र पाँचौँ पुरस्कार १० हजार रुपैयाँ रहेको छ। प्रतियोगिता सबैका लागि खुला गरिएको छ। सहभागी हुन इच्छुक व्यक्तिहरूले आफूले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङको आधिकारिक सम्पर्क माध्यम वा प्रहरीले तोकेको डिजिटल प्लेटफर्ममा पठाउनुपर्नेछ।

    प्रहरीले यसअघि परम्परागत शैलीमा सचेतना कार्यक्रम गर्दै आए पनि यस पटक प्रविधिको प्रयोगमार्फत धेरैभन्दा धेरै युवामाझ पुग्ने लक्ष्य राखेको छ। यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूलाई कुलतबाट जोगाउन मद्दत पुग्ने अपेक्षा प्रहरीको छ।

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १९:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij