Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको १७ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको १७ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.0K
    Shares

    आज दिनभरको १७ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, आगामी सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य

    निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । आयोजनाकाअनुसार हालसम्मको वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ । पाँच वर्षको निर्माण अवधि (६० महिना) तोकिएको यस आयोजनामा डिजाइन, स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहने आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख राजेश पौडेलकाअनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङमार्गमार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तिब्र पारिएको छ । 

    २. बीपी राजमार्गका चार सय बेँसी खण्डः १० दिनभित्र नयाँ ट्रयाकबाट सवारी सञ्चालन गरिने

    बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो । हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भएपनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन । सभापति गजुरेलकाअनुसार उक्त ट्रयाकको फाउण्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ । अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । 

    ३. पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तिब्र पारिने

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिव ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण संकलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उहाँले बताउनु भयो । प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका ल्ँीग् महानगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ । सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । वि.सं. २०६७÷६८ सालमा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिव १ करोड ६५ लाख रुपैयाँको लागतमा निर्मित सो भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने देखिएकाले महानगरले स्वामित्व ग्रहण गरेको हो ।  

    ४. नेतृत्व परिवर्तनको हल्ला निराधार, अध्यक्षकै कमाण्डमा पार्टी अघि बढ्छः उपमहासचिव भट्ट

    नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । शनिवार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले यस्तो बताउनुभएको हो । बैठकमा भएका छलफलका विषयमा जानकारी दिँदै उपमहासचिव भट्टले बाहिर आएका नेतृत्व परिवर्तन र राजीनामाका कुराहरूलाई ‘अतिरञ्जित’ संज्ञा दिनुभयो । शनिवारको बैठकमा महासचिव, तीनजना उपमहासचिव र पाँचजना सचिवहरूले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवहरूका बारेमा धारणा राखेका थिए । बाँकी रहेका चारजना सचिवहरूले आईतवार बिहान साढे ११ बजे बस्ने बैठकमा आफ्नो प्रश्तुति दिने कार्यक्रम छ । 

    ५. नेकपा (एमाले) को सचिवालय बैठक शुरु

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक शुरु भएको हो । बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ । साथै, पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक गतिविधिको समीक्षा समेत बैठकमा गरिने बताइएको छ । बैठकमा नेताहरु पार्टी पुनःगठनको माग गरेका छन् ।

    ६. नारायणहिटी सङ्ग्रहालयको आधुनिकीकरण र विस्तार गरिँदैः नीतिगत स्पष्टता र पूर्वाधार विकासमा जोड

    नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट राष्ट्रिय नीतिको आवश्यकता रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नीतिगत अभावका बाबजुद सङ्ग्रहालयको आधुनिकीकरण, अभिलेखीकरण र भौतिक सुधारका कार्यहरू अगाडि बढिरहेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक श्रेष्ठले नेपालमा सङ्ग्रहालयशास्त्र (म्युजियोलोजी) अध्ययन गरेका दक्ष जनशक्तिको उपलब्धता पर्याप्त रहेको उल्लेख गर्नुभयो । त्रिभूवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत उत्पादित जनशक्तिले सङ्ग्रहालय क्षेत्रमा योगदान दिइरहेको बताउँदै उहाँले उचित नीतिको अभावमा सोचेअनुरूपको फड्को मार्न नसकिएको स्वीकार गर्नुभयो । सङ्ग्रहालयमा रहेका ऐतिहासिक र संवेदनशील वस्तुहरूको सुरक्षा र व्यवस्थापनका लागि डिजिटाइजेसन (विद्युतीय अभिलेखीकरण) लाई प्राथमिकतामा राखिएको डा. श्रेष्ठले बताउनु भयो । 

    ७. नयाँ संसद भवनमा आगामी बजेट भाषणको तयारी (फोटो फिचर)

    नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको शुरुवात हुँदैछ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्नेगरी सरकारले अन्तिम तयारी तिब्र पारेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ । गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । 

    ८. कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौंमा पनि फिल्म महोत्सव हुने

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताउनुभएको छ । फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि उहाँले उक्त भ्रमण र उपलब्धिका बारेमा शनिवार विमानस्थलमा यसबारे जानकारी गराउनुभएको हो । कार्यवाहक प्रमुख डंगोलले सिर्जनशील क्षेत्रलाई व्यवस्थित र निरन्तरता दिन काठमाडौं महानगरपालिकाले आवश्यक नीति र कार्यविधि निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत कार्यक्रम र डिनरमा सहभागी हुने क्रममा काठमाडौं फिल्म फेस्टिभलका लागि आवश्यक प्राविधिक सहयोग र सहकार्यका विषयमा समेत छलफल भएको उहाँले बताउनु भयो । 

    ९.‘चिनियाँ सुशासन र विकासको मोडेल ‘ग्लोवल साउथ’का लागि मार्गदर्शक’

    चिनियाँ सुशासन र विकासको मोडेलले ‘ग्लोवल साउथ’का राष्ट्रहरूका लागि महत्वपूर्ण मार्गनिर्देशन गरेको धारणा विभिन्न देशका विज्ञ तथा प्रतिनिधिहरूले व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले चीनको विकास दर्शन, लक्षित गरिबी निवारण र ‘ग्लोवल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) नेपालजस्ता विकासोन्मुख मुलुकका लागि सान्दर्भिक रहेको बताएका हुन् । चीनको विकास दर्शनले जनताको सुख र सन्तुलित विकासलाई केन्द्रमा राखेको बताए । चिनियाँ शासन पद्धति, विकासका नवीन आयाम र क्षेत्रीय स्थिरताका विषयमा केन्द्रित उक्त कार्यक्रममा विज्ञहरूले चीनको ‘वैश्विक शासन पहल’ (जीजीआई) लाई नेपालजस्ता विकासोन्मुख राष्ट्रका लागि आर्थिक समृद्धिको अवसरका रूपमा चित्रण गरे । 

    १०. कोईराला निवास पुगेर गगनले भने– ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ’

    नेपाली काँग्रेसका सभापति गगन थापाले जेन–जी आन्दोदनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताउनुभएको छ । शनिवार विराटनगरको कोईरालानिवास पुग्नुभएका थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताउनुभएको हो । भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उहाँले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताउनु भयो । तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उहाँको आरोप छ । भदौ २४ गतेपनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उहाँले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाउनु भयो । 

    ११. प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रमाथि गम्भीर संकट देखापरेको छः सरोकारवालाहरु

    राज्यका कारण पछिल्लो समय प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रमाथि गम्भीर संकट पर्दै गएको सरोकारवालाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५ औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरुले राज्यको नीतिका कारण पत्रकारिता क्षेत्र संकटमा परेको बताएका हुन् । उनीहरुले सरकारले निजी क्षेत्रका सञ्चारमाध्यामलाई धराशायी बनाउनेगरि सरकारले जीटुजीको नाममा विज्ञापन निति लिएको आरोप लगाए । उनीहरुले सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको पछिल्लो निर्णयविरुद्ध पत्रकार तथा सञ्चारसम्बद्ध संगठनहरूले आन्दोलन चर्काउने घोषणा गरेका छन् । वरिष्ठ पत्रकार किशोर नेपालले सरकारले पत्रकारिता क्षेत्रमाथी हस्तक्षेप गरेको पहिलो पटक नभएको बताउनु भयो । उहाँले सरकारले हरेक नाममा पत्रकारिता क्षेत्रको घाँटी निमोठ्ने काम गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सामाजिक सञ्जाल र मूलधारको पत्रकारितालाई एउटै रूपमा बुझ्न नहुने बताउँदै पत्रकारिताको संस्थागत अस्तित्व जोगाउनुपर्नेमा जोड दिनुभयो ।

    १२. मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यकः विद्या भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरि प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ । शनिवार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उहाँले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँले भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनु भयो । छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । उहाँकाअनुसार मदन भण्डारीले स्थापित गर्नुभएको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पती हुन् । 

    १३. सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा

    नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले न्यायपालिका तथा व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभएको छ । शनिवार विराटनगरको कोईरालानिवासमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले न्यायपालिकालाई आफ्नो प्रभावमा राखेर चलाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले विगतमा पनि शक्तिशाली सरकारहरूले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको उदाहरण रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताउनु भयो । थापाले २०६४ सालमा माओवादीको बहुमत रहेको समय र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारका बेला पनि संवैधानिक निकायहरुमाथी प्रभाव जमाउने प्रयास भएको बताउनु भयो । तर नेपालको न्यायपालिका, सञ्चार माध्यम र अन्य लोकतान्त्रिक संस्थाहरूले त्यस्ता प्रयासलाई पटक–पटक असफल बनाएको उहाँको भनाइ छ । 

    १४. उत्तरी चीनको कोइला खानी दुर्घटनामा आठ जनाको मृत्यु

    उत्तरी चीनको शान्सी प्रान्तस्थित किन्युआन काउन्टीको एक कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । स्थानीय आपतकालीन व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारी अनुसार खानीमा अझै ३८ जना कामदार फसिरहेका छन् । किन्युआन काउन्टीमा रहेको लिउसेन्यु कोइला खानीमा शुक्रवार साँझ ७ः२९ बजे ग्यास विस्फोट भएको थियो । विस्फोटको समयमा खानीभित्र कूल २४७ जना कामदार कार्यरत रहेका थिए । शनिवार बिहान ६ बजेसम्म २०१ जनालाई खानीबाट बाहिर निकालिएको छ, जसमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ । खानीभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ । 

    १५. केभिन वार्सले सम्हाले अमेरिकी केन्द्रिय बैंक ‘फेड’ को नेतृत्वः ह्वाइट हाउसमा भयो शपथ ग्रहण

    केभिन वार्सले अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ सिस्टमको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । ह्वाइट हाउसमा शुक्रवार आयोजित एक विशेष समारोहका बीच उहाँले आफ्नो चार वर्षको कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको हो । सन् १९८७ मा एलन ग्रिनस्प्यानले शपथ लिएपछि राष्ट्रपति निवास (ह्वाइट हाउस) मा शपथ ग्रहण गर्ने वार्स पहिलो ‘फेड’ अध्यक्ष बन्नुभयो । समारोह ह्वाइट हाउसको ‘इस्ट रूम’ मा सम्पन्न भएको थियो । शपथ ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै नवनियुक्त अध्यक्ष वार्सले आफूले फेडरल रिजर्भलाई सुधारमुखी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनियुक्त अध्यक्ष वार्सलाई पूर्ण रूपमा स्वतन्त्र भएर काम गर्न सुझाव दिनुभयो ।

    १६. मलेसियाको श्रम उत्पादकत्वमा ४.८ प्रतिशतको सुधार

    सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको श्रम उत्पादकत्व (प्रति घण्टा कामको मूल्य अभिवृद्धि) ४.८ प्रतिशतले वृद्धि भएको छ । बिहीवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार मलेसियाको श्रम उत्पादकत्वमा मजबुत सुधार देखिएको हो । मलेसियाको तथ्याङ्क विभागले जारी गरेको विज्ञप्ति अनुसार सन् २०२५ को चौथो त्रैमासिकमा ५.८ प्रतिशत रहेको उत्पादकत्व वृद्धिदर सन् २०२६ को पहिलो त्रैमासिकमा ४.८ प्रतिशत कायम भएको छ । यस अवधिमा प्रतिघण्टा मूल्य अभिवृद्धि ४५.५ रिंगिट (११.४७ अमेरिकी डलर) पुगेको छ । मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार भएको र कुल कार्य घण्टा शून्य दशमलव ५ प्रतिशतले बढेर ९.६ अर्ब पुगेका कारण श्रम उत्पादकत्वमा यो सुधार आएको हो । 

    १७. स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न

    अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारसिप’ रकेटको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्ससस्थित कम्पनीको ‘स्टारबेस’ केन्द्रबाट स्थानीय समयअनुसार शुक्रवार साँझ ५ः३० बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपणको केही समयपछि स्टारसिपको माथिल्लो भाग ‘सुपर हेभी बुस्टर’ बाट सफलतापूर्वक अलग भएको थियो । कम्पनीकाअनुसार यसपटक बुस्टरलाई मेक्सिकोको खाडीमा अवतरण (स्प्लासडाउन) गर्ने लक्ष्य राखिएको छ । यो उडानमा रकेटको डिजाइनमा व्यापक परिवर्तन गरिएको र यो सो डिजाइनको पहिलो परीक्षण भएकाले बुस्टरलाई पुनः प्रक्षेपणस्थलमै फर्काएर ’क्याच’ गर्ने प्रयास भने नगरिएको स्पेसएक्सले जनाएको छ । - न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :जेठ ९ २०८३ शनिवार - २१:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij