२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेका छन्। बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उनले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राख्नु भएका हुन् ।
संसदीय निमयावलीअनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने,‘ हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म एउटा प्रश्न राख्न चाहन्छु । मैले २०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरु राखेका थिए । जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए । केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु थिए । ती प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ भन्ने म माग गर्दछु । किनभने उहाँले अहिले मन्त्रीपरिषद विस्तार गर्नु भएको छैन । गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिईराखेको कारणले सुकुम्बासीलगायतका शान्तिसुरक्षासँग सम्बन्धित विषयमा पनि मेरो प्रश्नहरु थिए । र, सीमासँग सम्बन्धित लिपुलेकसँग सम्बन्धित विभिन्न खालको प्रश्नहरु हामीले सोधेका छौ । म लगायत अन्य सांसदज्यूहरुले । रक्षा मन्त्रालय पनि उहाँले सम्हालिरहेको कारणले गर्दाखेरी प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको जवाफ दिनुपर्छ । हाम्रो नियमावली १५ को २ ले त्यो भनिराखेको छ । २८ गते राखेको प्रश्न आज गन्दाखेरी १० दिनजति भईसक्यो । उपनियममा भनिएकोकुरा के छ भने नेपाल सरकारको सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने व्यवस्था छ । त्यसो भएको कारणले म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई । । उहाँले यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? हामी सबैले यो लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाई राख्नु पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु । यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो । उहाँ नेपाली जनता, लोकतन्त्रद्वारा स्थापित नेपाली जनताको मतद्धारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ यहाँ । कोही न कोही प्रति त उहाँ जवाफ देही हुनुपर्छ नि ।’
अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? भनि पटक पटक प्रश्न समेत गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij