२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीमा ११ वर्षीय एक बालकलाई खरबुजा चोरेको आरोपमा हातखुट्टा बाँधेर अमानवीय ढंगले कुटपिट गरिएको छ। सो घटनामा संलग्न ३६ वर्षीय भोज नाथलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी))भीमबहादुर शाहीका अनुसार आरोपित नाथलाई कञ्चनपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। पीडित बालक राजेश भण्डारीको टाउकोमा गम्भीर चोट लागेको र महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा तीन टाँका लगाइएको प्रहरीले जनाएको छ।
घटना विवरण अनुसार चौधर नदी किनारमा क्रिकेट खेलिरहेका बालकको बल नाथको बारीमा पुगेको थियो। बल लिन गएका बालकलाई खरबुजा चोर्न आएको आरोप लगाउँदै नाथले डोरीले हातखुट्टा बाँधेर कुटपिट गरेका थिए।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा बालकलाई डोरीले बाँधेर राखिएको देख्न सकिन्छ। सञ्जालमा बालकलाई कुकुर लगाएर टोकाइएको दाबी गरिएको छ। यद्यपि डीएसपी शाहीले कुकुरद्धारा टोकाइएको हुनसक्ने तर मेडिकल रिपोट नआइजेलसम्म यकिन भन्न नसकिने बताए। यस विषयमा थप सूक्ष्म अनुसन्धान भइरहेको उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij